वीरेन्द्र जैसी । नेपालगन्ज ।
तीज पर्व भन्नासाथ धार्मिक मान्यता, सामाजिक सम्बन्ध र सांगीतिक क्रियाकलाप एकसाथ जोडिएर आउँछन् । समयसँगै केही चाडबाडहरु औपचारिकतामा मात्रै सीमित भइरहँदा तीज पर्व भने झन् झांगिँदै गइरहेको छ । तीज पर्व मनाउने अवधि पनि तीजको अघिल्लो दिनदेखि ऋषि पञ्चमीसम्ममा मात्रै सीमित नरहेर कम्तीमा दुई हप्ता अघिदेखिबाटै सुरु हुन थालेको छ, विभिन्न बाहनामा । सामाजिक सम्बन्धमा पनि हिजो बिहे गरेका छोरीहरु माइत जाने मुख्य प्रचलन देखिने गरेकोमा अहिले माइती जानकै लागि संघर्ष र अप्ठ्याराले सिर्जना गर्ने आयाम घट्दै गएको देखिन्छ ।
सांगीतिक आयाम हेर्दा सबैभन्दा बढी आलोचित हुन थालेको पाटोका रुपमा लिन सकिन्छ । यी सबै परिवर्तनले तीज मौलिकताविहीन हुन थाल्यो भन्ने टिप्पणी गर्नेहरु बढ्दै गएका छन् । के वास्तवमै तीज मौलिकताविहीन हुँदै गएको हो त ? यस प्रश्नको उत्तर वस्तुगत हुन सक्दैन ।
धार्मिक आयाममा फैलिँदो तीज तीज मनाउने जग यसको धार्मिक मान्यता नै हो । पार्वतीले शिवलाई पति पाउँ भनेर १०८ वर्षको तपस्या गरेपछि शिव पतिका रुपमा पाएको भन्ने धार्मिक मान्यतामा आधारित भएर तीज मनाउन थालिएको हो ।
तीजलाई हरितालिका भन्नुको अर्थ पनि पार्वतीको तपस्याको प्रसङ्गसँगै जोडिन्छ । पार्वतीले तपस्या गर्दा तपको विधि अथवा तालिका नमिलेर उनको तपस्या सफल हुन नसकेपछि भगवान् विष्णु (जसलाई हरि पनि भनिन्छ)ले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमा सही विधि सिकाएको पौराणिक कथन छ । यसरी हरिले सिकाएको विधि (तालिका)अनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भएको हुनाले तीजको व्रत विधिलाई हरितालिका भन्न थालिएको मानिन्छ ।
तीजको अघिल्लो साँझ एक सय आठसुते दियो प्रज्वलन गर्ने, दीपशिखाहरू रातभरि नै बल्नुपर्ने र साँझमा चन्द्र भगवान्को अर्चना गर्नुपर्ने विधि छ । व्रतको दिन पानीसमेत नपिएर कठोर व्रत बस्नुपर्ने मान्यता छ । यसरी धार्मिक विधिका सन्दर्भमा विचलन आएको भने देखिन्न । तर, व्रत बस्नु अघिल्लो दिन शरीरका लागि पोषकतत्व दिने खानेकुरा (दर) खाने चलन लम्बिएर एक महिना अघिदेखि नै सुरु हुनुलाई मौलिकता हराउँदै गएको अर्थमा लिने गरिएको छ । पौराणिक शास्त्रहरुको अध्ययन गर्दै आएकी नेपालगन्ज निवासी साहित्यकार किरण आचार्य तीजसँग जोडिएको धार्मिक मान्यतालाई पनि पूर्णतः सही अर्थमा बुझाउनु जरुरी रहेको बताउँछिन् ।
आचार्य पार्वतीले गरेको तपस्या शिवलाई पति पाउँ भन्नकै लागि भएपनि शिवले पार्वतीलाई ध्यान नदिएपछि शिवले पत्नी स्वीकार्न लायक बन्छु भनेर तपस्या गरेको धर्मग्रन्थहरु अध्ययन गर्दा देखिएको बताउँछिन् । यस अर्थमा महिलाहरुले तीजको व्रतलाई आफूतिर फर्किने र आफ्नो सामथ्र्यको खोजी गर्ने अवसरको रुपमा लिनुपर्ने आचार्यले बताइन् । यसरी धार्मिक मान्यताको सही अर्थ लगाउन सकिएमा र यस मान्यताबारे सबैलाई बुझाउन सकिएमा अहिले देखिएका केही विचलनहरुमा कमी आउने उनको बुझाइ छ ।
व्रत बस्दा शरीरमा रहेका विकारहरु नष्ट हुने वैज्ञानिक तथ्यले पनि व्रत अरुका लागि नभई महिलाहरु स्वयं आफ्नो स्वास्थ्यका लागि हो भन्ने बुझ्नुपर्ने उनको भनाइ छ । ‘यसरी तीजलाई बुझ्दा एक महिना अघिदेखि नै दर खानुको फाइदा र बेफाइदामा महिलाहरु स्वयं सचेत हुने अवस्था आउँछ,’ आचार्यले भनिन् । अचार्य पछिल्लो समय तीज मनाउनेहरु बढ्दै जानुले हिन्दु धार्मिक मान्यताको पनि फैलावट भएको अर्थमा लिनुपर्ने बताउँछिन् । उनले भनिन्, ‘हाम्रा चाडपर्वहरु जति धेरैले मनाउँछन् त्यति धेरै सांस्कृतिक प्रसार हुने हो । हाम्रो पहिचान स्थापित हुने हो । त्यसकारण अहिले देश विदेशमा रहेका नेपालीहरुले तीज मनाइरहँदा हाम्रो धार्मिक र सांस्कृतिक सुन्दरताहरुलाई पनि प्रसार गरिरहेका छन् भनेर बुझ्नुपर्छ ।’
सामाजिक सम्बन्धको आयाममा बदलिँदो तीज
तीज पर्व सामाजिक सम्बन्धलाई बलियो बनाउने पर्व पनि हो । विशेषगरी पहाडी र विषम भूभाग, सञ्चार सम्पर्कको अभाव रहेको पहिलेको नेपाली समाजमा विवाहित नारीले माइतीसँग भेट्न पाउने एउटा अवसरको रुपमा तीजलाई लिने गरिन्थ्यो । त्यसैले यो पर्व नारीहरुले आफ्नो माइतीमा गएर प्रेम, वात्सल्य र स्वतन्त्रताको अनुभूति गर्ने अवसरका रुपमा हेर्ने परम्परागत दृष्टिकोण छ । अहिले यस्तो परम्परागत सामाजिक सम्बन्धको आयाममा तीव्र परिवर्तन आइरहँदा पुरानै खालको सम्बन्ध खोज्नु उपयुक्त नहुने महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा प्राध्यापनरत सामाजिक शास्त्रकी उपप्राध्यापक सावित्री बस्नेत बताउँछिन् । उनले भनिन्, ‘पहिले छोरीहरुले माइती आउन एक वर्ष कुर्नुपथ्र्याे, त्यसबीचमा कुरा गर्ने माध्यम पनि हुन्थेन ।
अहिले सञ्चारले मानिसहरुलाई सधैँ नजिकै राखेको छ । अनि पूर्वाधारको विकासले मानिसहरुबीचको सम्पर्क सहज र सुलभ बनेको छ । त्यसकारण अहिलेपनि तीजमा माइती जानु नै तीजको सामाजिक आयाम नहुन सक्छ ।’ बस्नेतले भनेझैँ अहिले तीजको सामाजिक सम्बन्धको आयाम फैलिएर एक महिना अघिदेखि नै होटल रेस्टुरेन्टमा हुने विभिन्न कार्यक्रमहरुसम्म पुगेको छ । विभिन्न संघ संस्था र समूहमा आबद्ध महिलाहरुलाई यस्ता कार्यक्रमहरुमा उपस्थित हुनै भ्याइनभ्याई हुने अवस्था छ । हुन त पहिले पनि गाउँटोलमा महिलाहरु जम्मा भएर एक महिना अघिदेखि नै तीज मनाउने चलन थियो ।
त्यतिबेला महिलाहरुको सम्बन्ध गाउँटोलमा मात्रै सीमित हुने गरेकोमा अहिले फैलिएर व्यवसायिक र बहुआयामिक भएको बुझाइ बस्नेतको छ । ‘हिजो महिलाहरु चुलोचौको र छिमेकसम्म मात्रै सीमित हुँदा उनीहरुले तीजमा गर्ने गतिविधि पनि त्यहीँसम्म सीमित हुन्थे । अहिले महिलाहरु विभिन्न पेशा व्यवसायमा आबद्ध भएर उनीहरुको सम्बन्ध फैलिएको छ । त्यो फैलिएको सम्बन्धका आधारमा तीज मनाउन गरिने गतिविधि पनि फैलिएका छन् । त्यसैले धेरै देखिन्छन्,’ बस्नेतले भनिन् । अर्काेतिर तीज महंगो र भड्किलो भयो भनेर यसको सादगीपन र मौैलिकतामा ह्रास आइरहेको अर्थमा पनि टिप्पणीहरु हुने गरेका छन् । साहित्यकार आचार्य पनि भड्किलोपन कुनै पनि चाडबाडमा स्वीकार्य हुन नहुने बताउँछिन्।
देखासिकी मानिसको स्वभाव नै भएपनि त्यसलाई नियन्त्रणमा राख्दै जानुपर्ने उनको बुझाइ छ । उनले यस्ता कुरा समाज आफैँले मिलाउँदै जाने तर्क गर्दै भनिन्, ‘हिजो महंगा सारी लगाएर तीज मनाएको देखिन्थ्यो भने अहिले धेरै कार्यक्रममा जाँदा अलग अलग सारी लगाएको देखिएपनि ती सस्तो मूल्यका हुने गरेको पाएकी छु । अनि गरगहना पनि प्रायः नक्कली सुनकै हुने गरेका छन् । त्यसकारण महिलाहरुले धेरै नै खर्च गरे भनिरहँदा उनीहरुले चाड मनाउने शैलीलाई व्यवस्थापनको उपाय पनि निकाल्छन् भनेर हेर्नुपर्ने हुन्छ ।’
उपप्राध्यापक बस्नेत पनि समाजले उपलब्ध प्रविधि र अवस्थालाई आत्मसात् गर्दै सांस्कृतिक क्रियाकलापको शैली पनि बदल्दै जाने बताउँछिन् । ‘हिजो हामीले नै गाउँटोलमा मादल बजाएर गीत गाउँदै तीज मनाएको हो । तर, आज प्रविधि छ । महिलाहरुको व्यस्तता पनि परिवर्तन भएको छ । उनीहरुका सम्बन्धहरु पनि बढेका छन् । त्यसैले हिजोजस्तै तरिकाले तीज मनाउनुपर्छ भनेर पनि हुन्न,’ बस्नेतले भनिन् । महिलाहरुले अहिले आफैँ कमाउन सक्ने भएको हुँदा उनीहरुले खर्च गर्ने सामथ्र्य पनि बढिरहेको अर्थमा पनि हेर्नुपर्ने बस्नेतको बुझाइ छ ।
तडकभडकले कसैलाई पनि फाइदा नगर्ने र आर्थिक सामथ्र्य नभएका महिलाहरुलाई पनि मानसिक तनाव सिर्जना गर्ने हुँदा महिला समुदायले पनि यस कुरालाई बुझ्दै जाने उनले बताइन् । बस्नेतले सरकारले तीज पर्वलाई अवसरका रुपमा विकास गर्नसक्ने पनि तर्क गरिन् । ‘तीजमा यदि कपडा र गहनाको खपत बढेको छ भने यो उद्यमशीलताको अवसर पनि त हो । सरकारले तीजलाई चाहिने वस्तुहरु महिलाहरुले नै उत्पादन गर्नसक्ने वातावरण किन नबनाउने ? यो एक अवसर पनि त हो,’ बस्नेतले भनिन् ।
सांगीतिक आयाममा आलोचित भइरहेको तीज
तीजलाई भावनात्मक र मौलिक बनाउनमा सबैभन्दा ठुलो भूमिका तीजका भाकाहरुको छ । तीजका भाकाहरु नेपाली लोकसंस्कृतिलाई समृद्ध बनाउने महत्वपूर्ण सम्पत्तिहरु हुन् । तीजलाई सबैभन्दा बढी आलोचनाको सिकार बनाउने माध्यम पनि तीजको सांगीतिक पक्ष नै भइरहेको छ । विशेषगरी तीजका भाकाका नाममा तीजको मौलिकतालाई बिगार्ने गीतहरु उत्पादन हुन थालेको भन्दै आलोचना हुने गरेको छ । साहित्यकार अचार्य तीजका गितहरुको सन्दर्भलाई दुईवटा भागमा हेर्नुपर्ने बताउँछिन् ।
पहिलो यसमा भइरहेको अपाच्य र अश्लिल मानिने शब्दहरुको प्रयोग । जसलाई उनी बजारमा बिक्ने होडबाजी र तीजलाई बदनाम गराउने षड्यन्त्रका रुपमा हेर्छिन् । ‘केहीले यस्तो ग¥यो भने बजारमा बिक्छ भन्ने मानसिकताबाट निर्देशित भएर अपाच्य हुने खालका गीतहरु सिर्जना गरिरहेका छन् । अर्काेतिर कतिपयलाई तीज पर्व फैलिँदै र लोकप्रिय हुँदै गएको मन परेको छैन । यसलाई बदनाम गराउन चाहनेहरुले पनि त्यस्ता विकृत गीतहरु उत्पादन गरिरहेका छन् भन्ने मेरो आशंका हो,’ आचार्यले भनिन् ।
गीतको दोस्रो पाटो विषयमा आएको परिवर्तनको रुपमा हेर्नुपर्ने आचार्यको भनाइ छ । कतिपयले हिजोका गीतमा सासु–बुहारी, माइती–चेली सम्बन्ध र महिलाले भोगिरहेका चुलोचौकोदेखि मेलापातसम्मका भावनाहरु प्रधान हुने गरेकोमा अहिले त्यस्ता गीत हराएको भन्दै चिन्ता व्यक्त गर्छन् । तर आचार्य यसरी विषय परिवर्तन हुनुलाई स्वभाविक ठान्छिन् । हिजोका दिनमा महिलाहरुले भोग्ने समस्या र ब्यहोर्ने भावनात्मक आघात अहिले नभएको हुनाले गीतका विषयहरु पनि परिवर्तन भएको मान्नुपर्ने उनले बताइन् । ‘सबैकुरा ५० वर्षअघि यस्तो थियो, अहिले पनि त्यस्तै हुनुपर्छ भनेर पनि हुन्न । समयसँगै महिलाहरुले भोग्ने कुरा, अनुभूत गर्ने कुरा फरक हुन्छ । त्यसले गीतसंगीतमा पनि त्यस्तै प्रभाव पार्छ,’ आचार्यले भनिन् ।
उपप्राध्याक बस्नेत पनि बजारमा खपत हुने केही गीतहरु तीजको मौलिकतासँग सम्बन्ध नराख्ने खालका र तिनलाई बेवास्ता गर्नुपर्ने खालका रहेका बताउँछिन् । अर्कोतिर विषयमा आएको परिवर्तनसँगै केही कलाकारहरुले उत्पादन गरिरहेका संगीतहरुले तीजलाई सामाजिक महत्वका दृष्टिकोणले पनि महत्वपूर्ण बनाएको उनले बताइन् । ‘राम्रा गीतहरु अहिले पनि नभएका होइनन् । तर कमसल खालका गीतहरु बजारमा बढी बिकेर सबै खराब भयो कि भन्ने देखिएको हो । पछिल्लो समयमा यसमा केही सुधार हुँदै पनि आएको छ । त्यस्ता गीतहरुलाई आलोचना गर्ने कामले सर्जकहरुलाई सचेत बनाएर सुधार गर्दै जान्छ भन्ने पनि देखिएको छ,’ बस्नेतले भनिन् ।









प्रतिक्रिया दिनुहोस्