आधुनिकीकरणसँगै तीज मनाउने शैली परिवर्तन हुँदै आएकोप्रति वृद्धा महिलाहरु चिन्ता व्यक्त गर्ने गर्छन् । आधुनिकीकरणको नाममा तीज भड्किलो र खर्चिलो हुने गरेको छ । यसले गर्दा निम्मवर्गीय महिलाहरुलाई मानसिक रुपमा प्रत्यक्ष असर परेको देखिन्छ ।
गणेश रावत । कोहलपुर ।
कोहलपुरकी स्थानीय लडु रोकाय भन्छिन्, ‘हाम्रा लागि के तीज आउनु । हुनेखानेका लागि पो तीज आयो । हामी जस्ता हुँदाखाने महिलाहरुका लागि एकदिन मात्रै तीजले छुनेगर्छ ।’ तीज नेपाली हिन्दु महिलाहरुको महाड चाड पर्व हो । तर, पछिल्लो समय तीज पनि हुँदाखाने र हुनेखानेबीच फरक हुने गरेको उनी बताउँछिन् ।
परम्परागत तीजले समाजमा रहेका सबै वर्गहरुका महिलाहरुलाई समेटेपनि अहिलेको भड्किलो र खर्चिलो तीजले खासै समेट्न नसकेको उनले बताइन् । हुँदाखाने महिलाहरु आर्थिक रुपमा कमजोर हुँदा पार्टी प्यालेस जान र खर्चिलो गरेर तीज मनाउनसक्ने अवस्था छैन् । हुनेखाने महिलाहरुले भने एक महिना अघिदेखि तीजले छुने र दर खाने गरेको उनले बताइन् । त्यसैले अहिले हुँदाखाने महिलाहरुका लागि भने तीजले खासै नछोएको उनको भनाइ छ ।
परम्परागत र मौलिक तीज कम खर्चिलो रहेकाले सबैलाई समेट्ने गरेको उनले बताइन् । तर, पछिल्लो समयको खर्चिलो र भड्किलो तीजले आर्थिक रुपमा कमजोर महिलाहरुलाई मानसिक रुपमा समेत असर पर्ने गरेको उनले सुनाइन् । आधुनिकताको नाममा पछिल्लो समय भड्किलो र विकृत्तिले गर्दा सामान्य परिवारका महिलाहरुलाई त्यसको प्रत्यक्ष असर पर्नुका साथै समाजमा समेत नकारात्मक असर परेको उनले बताइन् ।
एक महिनादेखि पार्टी प्यालेस बुकिङ गर्ने र महङ्गो गरगहना किन्ने प्रवृत्तिले अरुको देखासिकी गर्नाले थप समस्या रहेको उनको भनाइ छ । उनी जस्तै पवित्र बस्नेतलाई पनि खासै तीजले छोएको छैन् । निम्नवर्गीय परिवार रहेका अधिकांश महिलाहरुलाई तीजले खासै नछोएको उनी बताउँछिन् । एक दिन सामान्य रुपमा तीज मनाउने गरेको उनले बताइन् ।
पछिल्लो समय महिला स्वतन्त्रताका नाममा महिना दिनसम्म खाइने दर उनलाई खासै मन नपर्ने गरेको उनी बताउँछिन् । ‘हुनेखाने महिलाहरु महिना अघिदेखि पार्टी प्यालेस दर खान जान्छन्,’ उनले भनिन्, ‘हुँदाखाने हामी त काम गर्न जानुपर्छ । काम नगरे साँझ बिहान चुलो बाल्न सकस हुन्छ । त्यसलै हामी तीजको एक दिनमात्रै दर खाएर रमाउने गर्छाैँ ।’
अर्काेतर्फ हुनेखाने महिलाहरु भने महिना दिनदेखि पार्टी प्यालेसमा दर खाने र रमाउने गरेको पाइन्छ । आधुनिकीकरणसँगै तीज मनाउने शैली परिवर्तन हुँदै आएकोप्रति वृद्धा महिलाहरु चिन्ता व्यक्त गर्ने गर्छन् । आधुनिकीकरणको नाममा तीज भड्किलो र खर्चिलो हुने गरेको छ । यसले गर्दा निम्मवर्गीय महिलाहरुलाई मानसिक रुपमा प्रत्यक्ष असर परेको देखिन्छ ।
महंगा सारी, गरगहना र पार्टी प्यालेस बुकिङ गर्ने महिला र प्रत्येक दिन मजदुर गरेर एक दिन दर खाने महिलाहरुबीच समाजमा भिन्नता पाइने गरेको छ । अझ भनौँ धनी र गरिबको तीजको भिन्ता प्रस्ट देख्न पाइन्छ । अर्काेतर्फ युवा पुस्ताले परम्परागत राम्रा कुराहरुलाई अंगाल्दै तीजलाई खर्चिलो र भड्किलो बनाउन नहुने कतिपय महिलाहरुले बताउने गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्