सुर्खेत ।
कर्णाली प्रदेशका सरोकारवाला निकायले अब हरेक विकासका योजना तथा कार्यक्रम बनाउँदा नै मानव सुरक्षालाई ध्यान दिनुपर्ने बताएका छन्। विकास निर्माणका गतिविधिसँगै मानवीय सुरक्षालाई पनि विशेष ध्यान दिनुपर्नेमा उनीहरूको जोड छ । राष्ट्रियस्तरमा बन्ने नीतिहरूमा मानव सुरक्षालाई जोड दिने ध्ययेले युएनडिपीको आयोजनामा वीरेन्द्रनरमा सञ्चालन भएको उपराष्ट्रिय÷स्थानीयस्तरको कार्यशालाका सहभागिले यस्तो बताएका हुन् ।
एसिया र प्रशान्त क्षेत्रमा देखिएका बहुजोखिमहरू विरुद्ध लचिलोपना निर्माण गरी विकास योजना र कार्यक्रममा मानव सुरक्षा सुनिश्चित गर्न संस्थाले अभियान चलाएको छ । मानवीय सुरक्षा सुनिश्चित गर्न निकै चुनौती रहेको युएनडिपीका विजय सिंहले बताए । जलवायु परिवर्तनका असर तथा प्राकृतिक प्रकोप, सामाजिक विभेद तथा अपराध जस्ता गतिविधिले सुरक्षाको प्रत्याभूति हुन नसकेको उनको भनाइ छ । उनका अनुसार कर्णाली प्रदेशको जाजरकोटका नलगाड नगरपालिका र बारेकोट गाँउपालिकामा मानवीय सुरक्षा र प्राकृतिक प्रकोपलाई ध्यानमा राखेर विकासका गतिविधि अघि बढाइएको छ । नेपाल र बंगलादेशमा लागु भएको यो कार्यक्रम विश्वकै नयाँ सोच अनुसार अघि बढाइएको उनले बताए ।
युएनडिपीका बैंकक प्रमुख आरिफ खानले मानवीय सुरक्षा ध्यानमा राखेर नीति तथा कार्यक्रम बनाएर मात्रै विकासका काम गर्नुपर्ने बताए । यो बिषयवस्तु पुरानै भएपनि नयाँ सोचका साथ कार्यक्रम लागु भएको उनको भनाइ छ । प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुस्पराज शाहीले हरेक काम गर्दा मानवीय सुरक्षाको उपाय अपनाउनुपर्ने बताए । मन्त्रालयले नीतिगत पूर्वतयारी अपनाएर मानवीय सुरक्षामा काम गरिरहेको भन्दै यसलाई अझै गहन रूपमा अध्ययन गरेर कार्यक्रम लागु गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘मान्छेकै सुविधाका लागि विकास गर्दा आउनसक्ने जोखिमले मानवीय क्षति के कति पु¥याउँछ ? र त्यसबाट कसरी बच्न सकिन्छ ? भनेर कार्यक्रम कार्यान्वयन गर्नु पहिले नै योजना बनाउनुपर्छ अनि मात्रै विकसमा मानव सुरक्षा सुनिश्चित हुन्छ ।’ प्रदेश योजना आयोगका उपाध्यक्ष सुर्यनाथ योगीले आर्थिक र भौतिक विकाससँगै सामाजिक विकास पनि हुनुपर्ने उल्लेख गरे । सामाजिक विकासको पनि मानवीय सुरक्षाको विषय सुनिश्चित नभएसम्म अन्य विकास गौण रहने उनको भनाइ छ ।
उनले भने, ‘प्रदेशको दोस्रो आवधिक योजना तयार भएर कार्यान्वयन भइरहेको छ । त्यसमा सामाजिक न्याय र समृद्धि सहितको सुशासन कार्यान्वयनमा जोड दिइएको छ । सोहीअनुसार नीति, रणनीति बनाएर कार्यक्रम बनाएका छौँ ।’ बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले नजानेर नबुझेर भन्दा पनि नटेरेर विकासका काम गर्दा मानवीय सुरक्षामा समस्या रहेको बताए । ‘बाढी आउने ठाउँमा घर बनाउने ? प्रकृतिलाई क्षति पुन्ने गरि सडक खन्ने ? चलन छ । वातावरणमैत्री विकास गर्न राज्यले नीतिगत व्यवस्था गर्नसकेको छैन्,’ उनले भने, ‘सुरक्षाका सवाल निकै साँघुरो भएकाले यो बहसलाई राष्ट्रिय सवालका रूपमा बहस उठाउनुपर्छ । यसको सुरुवात कर्णालीबाट भएको छ । बारेकोटमा यो कार्यक्रम लागु भएपछि पालिकावासीले निकै राहतको महशुस गरेका छन् ।’
अन्तर्राष्ट्रिय विज्ञ डा. सहरबोनाउ टाड्जवक्काजले सरकारले विभिन्न क्षेत्रमा बजेट विनियोजन गरेपनि मानवीय सुरक्षामा ध्यान दिन नसकेको बताइन् । ‘कोरोना माहामारीको बेला मानवीय सुरक्षा र व्यवहार हरायो,’ उनले भनिन्, ‘विपद् निम्त्याउने गरी विकास गर्नुहुँदैन । कुनै पनि काम गर्दा त्यसबाट निम्तिनसक्ने जोखिमबारे राम्रोसँग अध्ययन गरेर मात्रै कार्यक्रम कार्यान्वयन गर्नुपर्छ ।’ राष्ट्रिय विज्ञ डा राजु थापाले कुनै पनि विकासका काम गर्दा सकारात्मक र नकारात्मक दुवै असर पर्ने उल्लेख गर्दै मानवीय सुरक्षा कायम हुनुभनेको व्यक्तिको आत्मसम्मानको पनि विषय रहेको बताए । युएनडिपी कर्णाली प्रदेश प्रमुख रफिक सिद्धिकीले विकास निर्माणमा मानवीय सुरक्षाको विषय बहसका रूपमा आएकाले यसलाई हरेक ठाउँमा कार्यान्वयन गर्नेगरी काम गर्ने र गर्न लगाउने बताए ।









प्रतिक्रिया दिनुहोस्