कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका–१० चटारमा रहेको बागेश्वरी एकेडेमी अङग्रेजी माध्यमिक विद्यालयले तीज नृत्य प्रतियोगिता–२०८२ सम्पन्न गरेको छ । ‘कला र संस्कृति राष्ट्रको पहिचान’ भन्ने मूल नाराका साथ विद्यालयले प्रतियोगिता सम्पन्न गरेको हो । विद्यालयको शैक्षिक क्यालेन्डरअनुसार तीज नृत्य प्रतियोगिता सञ्चालन गरिएको विद्यालयका प्रध्यानध्यापक श्रीधर गोराथोकीले बताए । विद्यार्थीहरूको क्षमता र अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ ।
विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको हाउसवाइज प्रतिस्पर्धा गराएर तीज नृत्य प्रतियोगिता गरिएको उनले बताए । कला र संस्कृति जगेर्ना गर्न विद्यार्थीहरूले विद्यालयस्तरबाटै केही कुराहरू सिक्ने समेत विश्वास लिएको उनले बताए । कला र संस्कृति राष्ट्रको पहिचान रहेकाले त्यसको संरक्षण गर्न लाग्नुपर्ने विद्यालयका अध्यक्ष किशन गुरूङले बताए । विद्यार्थीहरूमा लुकेको प्रतिभाहरू प्रस्फुटन गर्ने अवसर समेत रहेको उनको भनाइ छ ।
तीज हिन्दु महिलाहरूको महान पर्व रहेकाले यसलाई विद्यालयमा रहेका नारीहरूले आफ्नो कला प्रस्तुत गरेर मनाएको बताए । कक्षा–१० मा अध्ययनरत छात्रा सतिष्मा शाहीले विद्यार्थीहरूको अन्तरनिहित क्षमता प्रस्फुटन गर्ने अवसर विद्यालयले प्रदान गरेको बताइन् । तीज पर्व मात्रै नभइ महिला सशक्तीकरणका लागि समेत मनाइने गरिएको उनको भनाइ छ । आफ्नो कला र संस्कृति जोगाउन पनि विद्यालयस्तरबाट शिक्षण हुनुपर्ने उनले बताइन् ।
प्रतियोगितामा जुनियार कक्षा–४, ५ र ६ सामूहिक नृत्यतर्फ रेड हाउस प्रथम, यल्लो हाउस द्वितीय र ब्लु हाउस तृतीय भएको शिक्षक गणेश विष्टले जानकारी दिए । यस्तै सिनियर कक्षा–७, ८ र ९ तर्फ ब्लु हाउस प्रथम, ग्रीन हाउस द्वितीय र यल्लो हाउस तृतीय भएको उनले बताए । त्यस्तै ‘प्लस टु’तर्फ समना बस्नेत प्रथम, सरु वली द्वितीय र आस्था सलामी मगर तृतीय भएका विद्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्