त्रिविको क्षेत्रीय पुस्तकालय बनाइयो जर्जर



नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा रहेको त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय पुस्तकालयको रेफरेन्स अध्ययन कक्ष भनिएको हलमा राखिएको एउटा दराजमा लेखिएको छ, ‘अरुलाई बाधा नपर्नेगरी शान्तिपूर्ण अध्ययन गर्नुहोस्’ । त्यही दराजको सामुन्ने रहेका टेबल कुर्सीमा जमेको धुलो र लागेको माकुराको जालोले उक्त कोठाको शान्ति वर्षाैँदेखि भंग नभएको संकेत गरिरहेका छन् । ती दराजमा रहेका किताबहरू विद्यार्थीहरूले नछोएको वर्षाैैँ भइसकेको हुनसक्ने ती किताबहरूमा जमेको धुलोले संकेत गरिरहेको छ।

वीरेन्द्र जैसी । नेपालगन्ज । 

बाँकेको नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा रहेको त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय पुस्तकालयको रेफरेन्स अध्ययन कक्ष भनिएको हलमा राखिएको एउटा दराजमा लेखिएको छ, ‘अरुलाई बाधा नपर्नेगरी शान्तिपूर्ण अध्ययन गर्नुहोस्’ । त्यही दराजको सामुन्ने रहेका टेबल कुर्सीमा जमेको धुलो र लागेको माकुराको जालोले उक्त कोठाको शान्ति वर्षाैँदेखि भंग नभएको संकेत गरिरहेका छन् । ती दराजमा रहेका किताबहरू विद्यार्थीहरूले नछोएको वर्षाैैँ भइसकेको हुनसक्ने ती किताबहरूमा जमेको धुलोले संकेत गरिरहेको छ ।

पुस्तकालयकै अर्काे कक्ष छ, जहाँ छिर्नेबित्तिकै भुइँभरी किताब, विद्यार्थीले बुझाएका थेसिस र फिल्ड वर्क प्रतिवेदनहरू छरिएका छन् ।नेपालको सबैभन्दा ठूलोे र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस, पश्चिम नेपालको उच्च शिक्षाको जग बसाउने सुरुवाती शैक्षिक संस्थामध्ये एक उक्त क्याम्पसले आफ्ना विद्यार्थीबाट उत्पादित ज्ञानलाई स्वयं आफैँले कत्तिको महत्व दिएको छ, त्यो पुस्तकालयको भ्ुइँभरी देख्न सकिन्छ । यसरी भुइँमा विद्यार्थीले तयार गरेका प्रतिवेदनहरू छरिएको कोठामा छतबाट पानी चुहिन्छ ।

‘धेरै पानी परेका बेला त कोठाभित्रै पानी जम्मा हुन्छ । त्यही भएर हामीले उ त्याँ कुनामा प्वाँल पारेर पानी बाहिर जाने व्यवस्था गरेका छौँ,’ पुस्तकालयका एकजना कार्यालय सहयोगीले भने । पुस्तकालयको छत ठाउँठाउँमा चर्किएको छ । भित्ता पनि चर्किएको अवस्था छ । छत ढलान गर्दा नै त्रुटि गरिएकोले टालटुल पारिएको छ । तर पानी चुहिन रोकिएको छैन । पुस्तकहरू दराजमा नराखेर भुइँमै राखिँदा पानी र धमिरा लागेर नष्ट हुने अवस्था आएको छ । कर्मचारीहरू भन्छन्, ‘पुस्तकहरूमा किरा लाग्न नदिन कीटनाशक स्प्रे समय समयमा गरिराख्नुपर्छ । धेरै वर्ष भइसक्यो स्प्रे पनि गर्न लगाइएको छैन ।’

पुस्तकालयको भवनको अवस्था यस्तो छ कि, माथिल्लो तला थप्दा भार धान्न नसकेर भासिने अवस्था आएपछि भुँइतलामा इँटाको गारो लगाएर छत थाम्ने टेको बनाइएको छ । प्राविधिकहरूले उक्त भवन सानै भूकम्पमा भत्कने जोखिमपूर्ण अवस्थाको रहेको चेतावनी दिएका कर्मचारीहरू बताउँछन् । ‘यो भवन निर्माण भइसकेपछि अनुगमनका लागि केन्द्रबाट आएका सरहरूले कमजोर भवन बनाएको भन्दै इन्जिनियरलाई ‘तेरो जागिर खाइदिउँ’ भनेर हप्काएको मैले नै सुनेको हुँ,’ पुस्तकालयमा करिब तीन दशकदेखि काम गर्दै आएका एक कार्यालय सहयोगीले भने ।
महेन्द्र बह्ुमुखी क्याम्पसमा रहेको यस्तो जर्जर हालतमा रहेको पुस्तकालय चानचुने पुस्तकालय पनि होइन ।

यो पुस्तकालय नेपालकै ठूलोे विश्वविद्यालयको क्षेत्रीयस्तरको पुस्तकालय हो । जसको स्थापना २०३४ सालमा भएको थियो । अहिले पुस्तकालय रहेको भवन बनेको पनि धेरै समय भएको छैन । पुस्तकालयमा रहेको शिलापत्रका अनुसार उक्त भवनको निर्माण कार्य २०५९ सालमा सम्पन्न भएको थियो । यसरी हेर्दा करिब दुई दशकमात्रै आयु भएको उक्त भवन अहिले यति जीर्ण भइसकेको छ कि त्यसलाई भत्काएर नयाँ भवन बनाउनु पर्ने अवस्था आएको छ । अर्काेतिर विश्वविद्यालय र क्याम्पसले ठूलोे महत्वको पुस्तकालयलाई गरेको अवहेलना कर्मचारीको व्यवस्थापनमा गरिएको बेवास्ताले पनि झल्काउँछ ।

विश्वविद्यालयको क्षेत्रीयस्तरको पुस्तकालयमा पुस्तकालय व्यवस्थापनसँग सम्बन्धित ज्ञान भएका कर्मचारी नै छैनन् । पुस्तकालय हेर्ने जिम्मा लेखातर्फकी कर्मचारी विनिता नगरकोटीलाई दिइएको छ । नगरकोटी अहिले शारीरिकरूपले खट्न सक्ने अवस्थामा नरहेकोले मुख्यतः पुस्तकालय कार्यालय सहयोगीले सञ्चालन गरिरहेका छन् । मिसन संवाददाता पुस्तकालयमा पुग्दा केही विद्यार्थीहरू पुस्तकालय कार्यकक्षभित्र पसेर आफ्नो पुस्तकालय कार्ड आफैँ खोजिरहेका थिए । विद्यार्थीहरूले पुस्तकालयमा पुस्तक लिने दिने बेला पनि झन्झट व्यहोर्नुपरिरहेको बताए । किनकी पुस्तकहरूको क्याटलग व्यवस्थित नहुँदा कुन पुस्तक कहाँ छ भन्ने यकिन नै हुँदैन । अझ रेफरेन्ससम्बन्धी पुस्तकहरूको कुनै रेकर्ड नै राखिएको छैन ।

‘विद्यार्थीहरूले पुस्तकालयमा बसेर अध्ययन गर्ने वातावरण त परै जाओस् किताब पनि खोज्न गाह्रो हुन्छ । किताबहरू ओस्सिएर ढुसीको गन्ध आइरहेको हुन्छ । पुस्तकालय त खण्डहर जस्तै छ,’ क्याम्पसमा सिएसआइटी अध्ययन गरिरहेका एक विद्यार्थीले भने । महेन्द्र बहुमुखी क्याम्पसमै प्राध्यापन गरी सेवानिवृत्त प्रा.डा. जनार्दन आचार्य पुस्तकालयमा धेरै पुराना र महत्वपूर्ण पुस्तकहरू रहेको बताउँछन् । उनका अनुसार प्राज्ञिक शोध र अध्ययनका लागि पश्चिम नेपालमा उक्त पुस्तकालयमा भएका जस्ता पुस्तकहरू अन्त छैनन् । त्रिविले क्षेत्रीयस्तरको पुस्तकालय भन्नुको उद्देश्य पनि पश्चिम नेपालमा प्राज्ञिक अध्ययनको केन्द्र बनाउने रहेको आचार्य बताउँछन् ।

तर, पुस्तकालयको नियमित मर्मतसम्भार, पुस्तकहरूको संरक्षण र व्यवस्थापन हुन नसक्दा महत्वपूर्ण सम्पत्ति नष्ट भएर जाने अवस्था आएको उनको भनाइ छ । केही वर्ष पहिलेसम्म कर्मचारी व्यवस्थापनका हिसाबले ठिकै हालतमा रहेको पुस्तकालयमा अहिले भद्रगोल अवस्था देख्दा दुःख लागेको प्रा. डा. आचार्यले बताए । ‘केही दिनअघि एउटा रेफरेन्सका लागि पुस्तक लिन गएको थिएँ । उक्त पुस्तक त्यहाँ छ भन्ने थाहा पाएको हुनाले मैले आफैँले धुलो टकटक्याउँदै फेला पारेँ । पुस्तकालयको प्रणाली नै अवरुद्ध हुँदा र व्यवस्थित गर्नतर्फ प्रशासनले ध्यान नदिँदा दुःखलाग्दो स्थिति आएको छ,’ आचार्यले भने ।

क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सभापति केशरजंग शाही विश्वविद्यालयको क्षेत्रीलय पुस्तकालय हो भन्न पनि लाज लाग्ने स्थिति रहेको बताउँछन् । उनले आफूहरूले उठाउने मूल मुद्दामध्ये एक पुस्तकालयको व्यवस्थापन पनि रहेको बताए । उनले अब पुस्तकालय ई–लाइब्रेरीतर्फ लैजानुपर्नै माग अघि सारिरहेको बताए । ‘अहिले प्रविधिको जमानामा पुस्तकालयमा विद्यार्थीहरू पस्नै मन नलाग्ने अवस्थाको हुनु दुःखद हो । अब उक्त पुस्तकालय भवन भत्काएर नयाँ बनाउनुपर्ने र ई–लाइब्रेरीको मोडेलमा अघि बढ्नुपर्छ भनेर स्वतन्त्र विद्यार्थी युनियनका तर्फबाट दबाब दिइरहेका छौँ,’ शाहीले भने ।

स्वतन्त्र विद्यार्थी युनियनका निवर्तमान सभापति माधव खत्री आफूहरूले क्याम्पस प्रशासनले विद्यार्थीका लागि चाहिने अत्यावश्यक सुविधाहरूको व्यवस्थापनका लागि दबाब दिन अप्रिय निर्णयसमेत लिएको बताए । उनले आफूहरूले क्याम्पस प्रमुखको कुर्सी रूखमा झुण्ड्याएर विरोध गरेको स्मरण गर्दै भने, ‘हामी आक्रोशित हुनुको कारणमध्ये एक पुस्तकालयको त्यस्तो दुर्दशा पनि थियो । भन्दाखेरि क्षेत्रीयस्तरको पुस्तकालय भन्ने तर त्यहाँ छिर्न पनि अप्ठ्यारो हुने बनाएर राख्ने अवस्था छ । क्याम्पस प्रशासनको गैरजिम्मेवारीपनका कारण क्याम्पसको अवस्था यस्तो भएको हो,’ खत्रीले भने ।

अहिले क्याम्पस प्रमुख रहेका डा. लालमणी आचार्य पुस्तकालय भद्रगोल हुनुको दोषी विश्वविद्यालय भएको तर्क गर्छन् । विश्वविद्यालयले पुस्तकालय व्यवस्थापनसम्बन्धी ज्ञान भएका कर्मचारीहरू नियुक्त नगर्दा पुस्तकालय अव्यवस्थित भएको बताए । तर, निवर्तमान स्ववियु सभापति खत्री पुस्तकहरूको सुरक्षा मात्रै पनि गर्न प्रशासन असफल भएको बताए । विद्यार्थीहरूले पुस्तकालयका लागि भनेर उठाउने शुल्कबाट पनि पुस्तकालयमा खर्च नगर्नु प्रशासनको अकर्मण्यता मात्रै नभै विद्यार्थीबाट उठाइएको शुल्कको दुरुपयोग भएको बताए ।

क्याम्पसका सूचना अधिकारी किरणराज रेग्मीका अनुसार क्याम्पसले ब्याचलर सेमेस्टरतर्फका विद्यार्थीबाट दुई हजार, मास्टर्स सेमेस्टरतर्फका विद्यार्थीबाट एक हजार र वार्षिकतर्फका विद्यार्थीबाट चार सय रूपैयाँ पुस्तकालय धरौटी भनेर लिने गरेको छ । यसरी हेर्दा गत दुई वर्षमा विद्यार्थीबाट उठेको धरौटी शुल्क नै करिब २५ लाख हुन आउँछ । उक्त रकमबाट पुस्तक खरिदलगायतका क्रियाकलाप हुने गरेको रेग्मी बताउँछन् । खर्च नभएको रकम सोही शीर्षककै कोषमा जम्मा हुने गरेको उनले बताए ।

‘कोषको रकम दुरुपयोग हुँदैन । अर्काे उद्देश्यका लागि सापटी लगिएको भएपनि पुनः कोषमै उक्त रकम फिर्ता गरेको हुनुपर्छ । नभए लेखापरीक्षणमा उक्त रकम बेरुजुमा आउँछ,’ रेग्मीले भने । यसरी हेर्दा क्याम्पसलाई पुस्तकालय व्यवस्थापनका लागि आर्थिक अभाव नरहेको बरु क्याम्पस प्रशासनले पुस्तकालयलाई बेवास्ता गर्नु नै प्रमुख कारण रहेको विद्यार्थीहरू तर्क गर्छन् । एक पूर्वसहायक क्याम्पस प्रमुखले पनि क्याम्पस प्रमुखले चासो नदिएकै कारण पुस्तकालयको अवस्था लाजमर्दाे भएको बताए । ‘यति ठूलोे क्याम्पसको पुस्तकालयको अवस्था लाजमर्दाे स्थितिमा छ ।

म सहायक क्याम्पस प्रमुख हुँदा क्याम्पस प्रमुखलाई पटक पटक पुस्तकालयलाई व्यवस्थित गरौँ भनेर भनेँ । तर, उहाँले कुनै सुनुवाइ गर्नुभएन । क्याम्पस प्रमुखले कदम चालेपछि पुस्तकालयलाई व्यवस्थित बनाउन र पुस्तकहरूको सुरक्षा गर्न कुनै समस्या छैन,’ ती पूर्वसहायक क्याम्पस प्रमुखले भने । अर्का पूर्वसहायक क्याम्पस प्रमुख आफूले पुस्तकालयका लागि दराजको स्टिमेट गरेर क्याम्पस प्रमुखसमक्ष प्रस्ताव लगेर दिएपनि त्यसमा चासो नदिएको बताए । ‘कमिसन आउने भए खरिद गरहाल्थे होला । मैले त्यसो हुन दिन्न भन्ने थाहा पाएर होला दराज खरिद गर्ने प्रस्ताव कार्यान्वयनमा लगिएन,’ उनले आफ्नो परिचय नखुलाउने शर्तमा भने ।

महेन्द्र बहुमुखी क्याम्पसका अर्का पूर्वसहायक क्याम्पस प्रमुख डा. हरि तिमिल्सेना अहिले पनि केही सुधार गरेर पुस्तकहरूलाई जोगाउन दराजको व्यवस्था गर्ने, पुस्तकहरूको सुरक्षाका लागि सरसफाइ गर्ने, चुहिने संरचनालाई नचुहिने बनाउने, विद्यार्थीहरू बसेर पढ्न मिल्ने वातावरण तयार गर्ने लगायतका कामहरू गर्न सकिने बताउँछन् । ‘क्याम्पस प्रमुख र प्रशासनले चाह्यो भने त्यतिको पुस्तकालयलाई व्यवस्थित गर्न नसकिने भन्ने हुन्न,’ डा. तिमिल्सेनाले भने । कतिपय कर्मचारीलाई क्याम्पस प्रशासनले काम पनि लगाउन नसकिरहेको पूर्वस्ववियु सभापति खत्रीले बताए । ‘यहाँ वर्षाैँदेखि कुनै न कुनै राजनीतिक दलको आडमा जागिर खाएका कर्मचारी छन् ।

उनीहरूलाई क्याम्पस प्रमुखले पनि काममा लगाउन सक्नुहुन्न,’ क्याम्पस प्रमुख आचार्यसमक्ष यसबारे जिज्ञासा राख्दा उनी मुस्कुराएर भने, ‘कामै लगाउन नसकिने भन्ने होइन ।’ अर्का एक विद्यार्थीले भने पुस्तकालयको खराब अवस्था हुनुका पछाडि क्याम्पसमा जिम्मेवार पदमा रहेका सबै गैरजिम्मेवार हुनु कारण रहेको बताए । ‘आज आएर मात्रै पुस्तकालय बिग्रेको होइन । न त्यसका लागि विद्यार्थी संगठनले आवाज उठाए, न जिम्मेवार पदमा रहेकाहरूले जिम्मेवारी पालना गरे,’ ती विद्यार्थीले भने, ‘विद्यार्थीहरूमा पनि पुस्तकालयमा गएर बसेर पढ्ने, पुस्तकहरू अध्ययन गर्ने प्रवृत्ति घट्दै जानु पनि अर्काे कारण हो ।’

क्याम्पस प्रमुख आचार्य अब पुस्तकालयको भवन नै भत्काएर नयाँ भवन बनाउने र विद्यार्थीहरूलाई आकर्षित गर्न ई–लाइब्रेरीतर्फ लैजाने सोच आफ्नो रहेको बताउँछन् । त्यसका लागि बजेटको व्यवस्था संघीय सरकारबाट क्याम्पसको प्रशासनिक भवनका लागि आउने बजेटबाट पुस्तकालयको भवन निर्माण पनि सुरु गर्नेतर्फ पहल भइरहेको उनले दाबी गरे । ‘हाम्रो प्रशासनिक भवन निर्माणाधीन छ । यसवर्ष उक्त भवनका लागि तीन करोड बजेट आउने जानकारी पाइएको छ । उक्त बजेटबाट बचेको रकम पुस्तकालयको भवन बनाउनेमा लगाउने कि भनेर पहल भइरहेको छ,’ आचार्यले भने ।

सेनाले बनाइदिएको अध्ययन कक्ष पनि प्रयोगविहीन

महेन्द्र बहुमुखी क्याम्पसको हातामा त्रिविको क्षेत्रीय पुस्तकालय रहेको भवनकै अगाडि छ, ‘खप्तड स्वामी अध्ययन कक्ष’ लेखिएको भवन । जुन भवन २०६१ सालमा नेपाली सेनाको पश्चिमी पृतना हेड क्वाटर इमामनगर ब्यारेकले निर्माण गरिदिएको थियो । उक्त भवनको उद्देश्य विद्यार्थीहरूले पुस्तकालयमा गएर पुस्तक लिने र उक्त कक्षमा बसेर अध्ययन गरुन् भन्ने थियो । उक्त भवन निर्माण भएपछि सुरु सुरुमा उक्त अध्ययन कक्षमा विद्यार्थीहरूले बसेर पढ्ने गरेका थिए । तर, अहिले उक्त भवन प्रायः सुनसान हुन्छ ।

कहिलेकाहीँ विद्यार्थी संगठन र क्याम्पसकै कुनै बैठकहरू बस्नुप¥यो भने उक्त भवन प्रयोग भइरहेको हुन्छ । अन्यथा उक्त भवन प्रयोगविहीन अवस्थामा रहेको छ । उक्त अध्ययन कक्षमा रहेका कुर्सीहरू पनि टुटफुट भएका पाइएको छ । झ्याल ढोका र छानोको समयानुकूल मर्मतसम्भार नहुँदा जीर्ण बनिसकेको अवस्था छ । स्वतन्त्र विद्यार्थी युनियनका सभापति केशरजंग शाहीले उक्त भवन मर्मत नेपाली सेनाले नै गरिदिने आश्वासन दिएको बताए । त्यसका लागि आफूले पहल गरिरहेको दाबी गर्दै उनले मर्मतसम्भार भएमा उक्त भवनको सदुपयोग गर्ने र पठन संस्कृति विकासका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्ने योजना बनाएको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ९ गते सोमबार