‘माइभगवती रङ्गशाला’ बजेट अभावले अलपत्र



फिक्कल (इलाम) ।

इलाम नगरपालिका–१० गोदकस्थित राजदुवाली टप्पुमा निर्माणाधीन अन्तरराष्ट्रियस्तरको ‘माइभगवती रङ्गशाला’ बजेट अभावका कारण अलपत्र परेको छ । सात वर्षअघि निर्माण सुरु भएको सो रङ्गशाला पछिल्लो तीन आर्थिक वर्षदेखि निरन्तर बजेट विनियोजन नहुँदा अधुरै छाडिएको हो । अहिले निर्माणस्थलल झाडीले ढाकिएको छ भने निर्माण भएका केही संरचना जीर्ण बन्दै गएका छन् ।

रङ्गशाला निर्माणका लागि हालसम्म कोशी प्रदेश सरकार र इलाम नगरपालिकाको समपुरक अनुदानमार्फत रु चार करोड आठ लाख २३ हजार खर्च भएको छ । सो रकमबाट चार चरणमा पर्खाल, प्याराफिट र रेलिङ निर्माणको काम सम्पन्न भएका छन् । नगरपालिकाका इन्जिनियर क्षितिज दाहालका अनुसार अहिलेसम्म समग्रमा रङ्गशालाको करिब १० प्रतिशत काम मात्र भएको छ ।

समपूरक अनुदानमार्फत रङ्गशाला निर्माणका लागि आर्थक वर्ष २०७६–०७७ मा रु एक करोड ३६ लाख, आव २०७७–०७८ मा रु ८४ लाख १९ हजार, आव २०७८–०७९ मा रु ८४ लाख १९ हजार र आव २०७९–०८० मा रु एक करोड दुई लाख ९८ हजार विनियोजन भएको थियो । पछिल्लो तीन आर्थिक वर्षदेखि भने कुनै बजेट विनियोजन हुन सकेको छैन ।

कोशी प्रदेश सरकारसँग पटकपटक बजेट माग गर्दा सुनुवाइ नभएकाले रङ्गशालाले पूर्णता पाउन नसकेको इलाम नगर प्रमुख केदार थापाले बताए । ‘रङ्गशाला निर्माणका लागि हामीले प्रदेश सरकारसँग पटकपटक माग गरेका छौँ । तर सुनुवाइ भएको छैन,’ उनले भने, ‘नगरपालिकाले एक्लैले बनाउन सक्दैन, माथिल्लो सरकारको सहयोगविनाको विकल्प छैन ।’ करिब एक सय २० रोपनी क्षेत्रमा बन्ने यो रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)अनुसार निर्माण सम्पन्न गर्न करिब रु ५० करोड लाग्ने अनुमान गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ८ गते आइतबार