रूकुम पश्चिमको प्रदेश अधिवेशन खारेज, सुर्खेतमा जिल्ला अधिवेशन हुँदै



वीरेन्द्रनगर ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति सुर्खेतले रूकुम पश्चिमको चौरजहारीमा गरिएको कर्णाली प्रदेश अधिवेशन खारेज भएको स्पष्ट पार्दै सुर्खेत जिल्ला अधिवेशन हुने जनाएको छ । सुर्खेत जिल्ला कार्यसमितिका अध्यक्ष सुमननाथ योगीले पत्रकार सम्मेलन गर्दै चौरजहारीमा गरिएको अधिवेशन खारेज भएको पुष्टि गरे ।

उनका अनुसार केन्द्रीय कार्यसमितिले गत वर्ष मिति २०८२ साउन १९ गतेको पत्रमार्फत सुर्खेत र दैलेखमा उपाध्यक्ष वीरबहादुर नेपालीलाई र मुगु, डोल्पा, हुम्ला र जुम्लामा उपाध्यक्ष सुरबहादुर बुढालाई अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो । त्यही आधारमा सुर्खेत जिल्ला अधिवेशन बिहीबार हुँदैछ । पत्रकार सम्मेलनमार्फत उनले नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश समितिका अध्यक्ष चन्द्रबहादुर बिसीले विधानविपरीत गरेका गतिविधिहरू पनि सार्वजनिक गरे ।

अध्यक्ष बिसीले २०७९ माघमा सम्पन्न दोस्रो राष्ट्रिय औद्योगिक, व्यापार, कृषि, नवीनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सवको आयव्यय हालसम्म पनि सार्वजनिक नगरेको उनको भनाइ छ । ‘सीमित व्यक्तिबीच मात्र नगद बाँडियो । नक्कली बील खडा गरी अडिट गरिएको जस्ता तथ्य प्रमाण छन्,’ उनले भने, ‘प्रदेश अध्यक्ष, प्रदेश महिला उद्यमी समिति अध्यक्ष र नगर अध्यक्षले कार्यालयमै ताला लगाएर सम्पर्कविहीन हुने, कोठे बैठक गर्ने र संस्थालाई निजी कम्पनीजस्तो व्यवहार गर्ने काम गरेका छन् ।’

जिल्ला कार्यसमितिले केन्द्रको निर्देशनअनुसार हालसम्म नौ वटै पालिकाको अधिवेशन सम्पन्न गरिसकेको र त्यसको विवरण सार्वजनिक सञ्चारमाध्यममार्फत पठाइसकिएको उनले जानकारी दिए । जिल्ला अध्यक्ष योगीले प्रदेश समितिले विधानविपरीत जिल्लालाई खारेज गरिएको हल्ला फैलाएपनि केन्द्रकै पत्रले त्यसलाई अस्विकार गरिसकेको स्पष्ट पारे ।

जिल्ला कार्यालयका सम्पूर्ण फर्निचर र कागजात गैरसदस्यलाई समेत संलग्न गराइ प्रदेश अध्यक्ष चन्द्रबहादुर बिसी, प्रदेश महिला उद्यमी समिति अध्यक्ष गोमा बली र नगर अध्यक्ष शक्तिबहादुर थापाले बलपूर्वक लगेको उनको आरोप छ । केन्द्रीय अध्यक्ष उमेशप्रसाद सिंह, वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद कँडेल, महासचिव डम्बरप्रसाद रेग्मीलगायत नेतृत्वले उद्यमीमैत्री नीति बनाउन र सरकारको कार्यक्रममा समावेश गराउन पहल गरेकोप्रति आभार व्यक्त गर्देै आगामी कात्तिक १४ र १५ गते हुने केन्द्रीय अधिवेशनलाई सफल पार्न उद्यमी व्यवसायीलाई आह्वान गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ५ गते बिहीबार