वीरेन्द्रनगर ।
कर्णाली प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाएको छ । विभिन्न कार्यक्रम गरेर सरकारले बुधबार स्थापना तथा सहिद दिवस मनाएको हो। सो अवसरमा वीरेन्द्रनगरको मंगलगढी चोकबाट दिवस झल्किने ब्यानर प्लेकार्ड, ब्यान्ड बाजासहित प्रभातफेरी गरेर प्रदेश रङ्गशालास्थित कभर्ड हलमा औपचारिक कार्यक्रम भएको थियो । लगातारको आन्दोलन, चौतर्फी दबाब र चार नागरिकको बलिदानले २०७२ भदौ ४ गते ६ प्रदेशको खाकालाई परिमार्जन गर्दै ७ प्रदेशको नयाँ प्रस्तावसँगै कर्णाली प्रदेश कान्छो प्रदेशका रूपमा जन्मिएको थियो ।
प्रदेश स्थापनाको आन्दोलनका क्रममा सुर्खेतका गोपालसिङ रजवार, टीकाराम गौतम, यामबहादुर बिसी र जुम्लामा हरिबहादुर कुँवरले सहादत प्राप्त गरेका थिए । सोही दिनलाई प्रदेश सरकारले स्थापना दिवसको रूपमा मनाउने गरेको छ । कार्यक्रममा प्रदेश प्रमुख, सभामुख, सबै दलका सांसद, पूर्वमुख्यमन्त्री, कर्मचारी तथा सरोकारवाला सबैको उपस्थिति रहेको थियो । प्रदेश प्रमुख यज्ञराज जोशीले आन्दोलनबाट जन्मिएको प्रदेश भएको हुँदा जनताको पक्षमा रहेर काम गर्नुपर्ने बताए ।
प्रमुख प्रतिपक्ष दलका नेता राजकुमार शर्माले प्रदेश ‘सन्दुक र बन्दुक’बिनाको रहेको बताए । जसका कारण कतिपय कुराहरू अझै संविधानको मर्मअनुसार अघि नबढेको उनको भनाइ छ । सत्तारुढ दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कान्छो प्रदेश भन्नाले सबै हिसाबले पछि परेको कर्णालीका रूपमा बुझ्न नहुने बताए । कर्णाली सबै कुरामा अब्बल रहेको तर्क राख्दै प्रदेशलाई बनाउनका लागि सबै क्षेत्र तथा निकाय र सरोकारवाला एकजुट हुनुपर्ने उनको भनाइ छ ।
मुख्यमन्त्री यामलाल कँडेलले सबैको साझा सहकार्यकाबीच आगामी दिनमा कर्णालीलाई जनताले चाहेअनुसार विकास गर्न सकिने बताए । जो जहाँ र जुन क्षेत्रमा रहेपनि त्यहीँबाट नै सहकार्य, समन्वय गर्नुपर्ने उनको भनाइ छ । बुधबारको कार्यक्रममा ७ जना पत्रकारहरूलाई समेत पुरस्कार वितरण गरिएको छ । जसमा ७५ हजार रूपैयाँ राशिको कर्णाली प्रादेशिक पत्रकारिता पुरस्कार प्रेमराज सिमखडालाई प्रदान गरिएको छ भने ५० हजार राशिको कर्णाली वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार प्रकाश पन्तलाई दिइएको छ ।
यस्तै कर्णाली सशक्त सञ्चारकर्मी पुरस्कार हेमन्त केसी र ओम शाहीलाई प्रदान गरिएको छ भने कर्णाली समावेशी पत्रकारिता पुरस्कार सिर्जना बुढाथोकी डाँगी र नौरते नेपालीले प्राप्त गरेका छन् । यस पुरस्कारको राशि ३५ हजार रूपैयाँ रहेको छ भने ३५ हजार राशिको विकास पत्रकारिता पुरस्कार राजन रावलले पाएका छन् । यता कर्णाली सरकारले पत्रकारिता विधामा वितरण गरेको पुरस्कारप्रति नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशले ध्यानाकर्षण जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ ।
पुरस्कार वितरणमा विगतका सकारात्मक अभ्यासविपरीत सत्ता साझेदार दलसँग निकट धेरै पत्रकारलाई प्राथमिकतामा राखिएको भन्दै पुरस्कार वितरणलाई निष्पक्ष, समावेशी र साझा चरित्रमा आधारित नबनाइएको विज्ञप्तिमा उल्लेख छ । यसैबीच बुधबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशका लागि तीनवटा निर्णय गरेको छ । जसमा मुख्यमन्त्रीलाई प्रदेश सचिवहरूको पदस्थापन र सरुवासम्बन्धी अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारले प्रदेशमा खटाएका सचिवहरूलाई आवश्यकताअनुसार विभिन्न मन्त्रालयमा पदस्थापन गर्ने र त्यसको जानकारी राजपत्रमा प्रकाशित गर्ने अधिकार मुख्यमन्त्रीलाई दिइएको हो । यसअघि सचिवहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर भएपछि मन्त्रिपरिषद् बैठकले नै पदस्थापन गर्ने व्यवस्था थियो । प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार बैठकले कृषि क्षेत्रको विकासका लागि सञ्चालन हुने ‘उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम’को अस्थायी सांगठनिक संरचनालाई पनि स्वीकृति प्रदान गरेको छ ।
नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, आईफाड र एसियाली विकास बैंकको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमका लागि आवश्यक कर्मचारीको अस्थायी दरबन्दी पारित गरिएको उनले बताए । यो कार्यक्रमअन्तर्गत सुर्खेतमा एउटा मुख्य कार्यालय तथा जाजरकोट र जुम्लामा ‘करिडोर कार्यक्रम’ स्थापना गरी काम अघि बढाउने तयारी छ । साथै मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. गणेश थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । उनी यसअघि निमित्त निर्देशकका रुपमा काम गर्दै आएका थिए ।









प्रतिक्रिया दिनुहोस्