कान्ती ताल संरक्षणका लागि नगर प्रमुखलाई ज्ञापनपत्र



नेपालगन्ज ।

बाँकेको नेपालगन्ज उपमहानगपालिकाको वडा नम्बर २१ र २२ मा फैलिएको कान्तीतालको जैविक विविधता संरक्षणका लागि नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टलाई ज्ञापनपत्र बुझाइएको छ । जैविक विविधता र स्थानीय जलवायु सन्तुलनको दृष्टिकोणले महत्वपूर्ण उक्त ताल अतिक्रमण, फोहोर व्यवस्थापनको अभाव र संस्थागत बेवास्ताका कारण संकटमा पर्न लागेको भन्दै क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जको अगुवाइमा हस्ताक्षर अभियान सञ्चालन गरिएको थियो ।

उक्त अभियानमा चार सय जनाभन्दा बढीले हस्ताक्षर गरी मागमा ऐक्यबद्धता जनाएका क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका संयोजक डा. विनोद कर्णले जानकारी दिए । हस्ताक्षर अभियानका क्रममा सर्वसाधारणबाट राय, सुझावसमेत संकलन गरी तयार पारिएको ज्ञापनपत्र नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख विष्टलाई बुझाइएको हो ।

कान्तीताल संरक्षण नगरिएमा तालको जैविक तन्त्र पूर्णरूपमा नष्ट हुनुका साथै जलचर, स्थलचर र चराचुरुङ्गीहरूको वासस्थान हराउने, स्थानीय जलस्रोत सुक्ने र वातावरणीय असन्तुलनले जनस्वास्थ्य, कृषि र जनजीवनमा दीर्घकालीन असर पु¥याउने अभियानको निचोड छ ।अभियान ताल वरपरका सबै किसिमका अतिक्रमणहरू अविलम्ब हटाउनुपर्ने, फोहोरमैला व्यवस्थापनका लागि दिगो समाधान लागू गर्नुपर्ने, स्थानीय समुदायको नेतृत्व र सहभागिता अनिवार्य गरिनुपर्ने, तालको २४ घण्टा निगरानीका लागि सुरक्षागार्डको व्यवस्था गरिनुपर्ने र तालको सीमा निर्धारण गरी स्पष्ट रूपमा संरक्षण क्षेत्र घोषणा गरिनुपर्ने माग अघि सारेको छ ।

डा. कर्णले कान्तीतालको संरक्षण कुनै एक संस्थाको काम नभएर यो सम्पूर्ण समाज, स्थानीय सरकार र हाम्रा भावी पुस्ताप्रतिको उत्तरदायित्व भएको बताए । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख विष्टले तालमा अब उपरान्त अन्य कक्रिट संरचना नबनाउने, छिट्टै बत्ती जडान गरिने बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २४ गते शनिबार