संघर्षका प्रतिमूर्ति बैजनाथ



नेपालमा भर्खँरै प्रजातन्त्र प्राप्ति भएको समयमा निर्मम तरिकाले विभत्स हत्या गरिएका तिनै बैजनाथ थारूको सम्मानमा संघीय शासन सत्ता कायम रहेको वर्तमान प्रणालीमा स्थानीय तहको नामनै नामाकरण गरिएको छ । नाम हो, बैजनाथ गाउँपालिका । बैजनाथ गाउँपालिका बाँके जिल्लामा विद्यमान आठ स्थानीय तहमध्येको एउटा यस्तो पालिका हो, जसको नाम व्यक्तिको नामबाट नामाकरण गरिएको छ ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

घटना विसं २०८० माघ १० गतेको हो, सोही दिनदेखि ‘प्रथम बैजनाथ महोत्सव आयोजना हुँदै थियो । आयोजक थियो, नेपाल घरेलु तथा साना उद्योग महासंघ । महासंघका अध्यक्ष थिए, दुर्गाबहादुर घिमिरे । रेडियो मिसनले महोत्सवका सन्दर्भमा घिमिरेलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । कार्यक्रममा बैजनाथ थारूको प्रसंग आउनेबित्तिकै उनी रेडियोको लाइभ कार्यक्रममा धुरुधुरु रोए । प्रस्तोतालाई उनलाई रोक्न हम्मेहम्मे प¥यो ।

बैजनाथ थारू न उनको परिवारका मानिस थिए, न उनको समुदायका । उनी बितेको पनि आज सात दशक पूरा भइसकेको छ । तर पनि उनको नाम लिनेबित्तिकै ७६ वर्षीय घिमिरेका आँखा रसाए । मानौँ, उनले भर्खँरै आफ्नो प्रीयजन गुमाएका छन् । बैजनाथ थारूका नाममा बगेका उनका आँसुले स्पष्ट भनिरहेका थिए– यो कुनै लोलोपोतो थिएन । कसैको सम्झना वा सम्मानमा अश्रु अर्पण गर्नु चानचुने कुरा होइन ।

यो त ती व्यक्तिप्रतिको श्रद्धा र सम्मानको प्रतीक हो । घिमिरेले बैजनाथ थारूप्रति जुन अगाध सम्मान दर्साए, वास्तवमा साँचो समर्पण थियो त्यो ।
घिमिरे भन्छन्, ‘उहाँको नाम आउनेबित्तिकै म भावुक भएँ । उहाँ वीर पुरुष, धर्ती पुत्र र प्रजातन्त्रवादी नेता हुनुहुन्थ्यो । उहाँ असल मन र विचार भएको व्यक्ति हुनुहुन्थ्यो । तर उहाँको योगदान र चाहना अनुसार मुलुकमा परिवर्तन हुन सकेन ।’

(यो प्रसंग २०८० माघ १२ गतेको मिसन टुडे दैनिकमा ‘यो पो सम्मान’ शीर्षकमा सनत सापकोटाले लामो लेख नै लेखेका छन्) नेपालमा भर्खँरै प्रजातन्त्र प्राप्ति भएको समयमा निर्मम तरिकाले विभत्स हत्या गरिएका तिनै बैजनाथ थारूको सम्मानमा संघीय शासन सत्ता कायम रहेको वर्तमान प्रणालीमा स्थानीय तहको नामनै नामाकरण गरिएको छ । नाम हो, बैजनाथ गाउँपालिका । बैजनाथ गाउँपालिका बाँके जिल्लामा विद्यमान आठ स्थानीय तहमध्येको एउटा यस्तो पालिका हो, जसको नाम व्यक्तिको नामबाट नामाकरण गरिएको छ । साविक चिसापानी, नौवस्ता, वनकटुवा, टिटिहिरिया गाउँ विकास समिति मिलेर बनेको हालको बैजनाथ गाउँपालिकाको नामाकरण ऐतिहासिक तथा राजनीतिक पृष्ठभूमिसँग जोडिएको छ ।

इतिहास खोज्दै जाँदा तिनै बैजनाथ थारूको संघर्ष, त्याग र समर्पणसँग जोडिन्छ बैजनाथ गाउँपालिका नामाकरणको पृष्ठभूमि । बैजनाथ गाउँपालिकामा हाल आठ वटा वडा रहेका छन् । तीमध्ये हालको बैजनाथ गाउँपालिका वडा नम्बर ७ (साविक वनकटुवा गाविस वडा नम्बर ३) पेडारीमा जन्मिएका थिए, बैजनाथ थारू । थारूको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो । अहिलेपनि बैजनाथ क्षेत्रमा निकै श्रद्धा र सम्मानका साथ पुकारिन्छ उनलाई । राज्यको पुनः संरचना आयोगद्वारा स्थानीय तहको नामांकन, सीमांकन केन्द्र कार्यान्वयन गर्दा बैजनाथ थारूको ऐतिहासिक पृष्ठभूमि र उनको योगदानसँग एकमत हुँदै पालिकाको नाम बैजनाथ राख्ने विषयमा एकमत थियो ।

सोहीअनुसार सर्वसम्मत हिसाबले बैजनाथ गाउँपालिकाको नामाकरण गरिएको हो । त्यतिबेला चार गाविस गाभेर ८ वडासहितको सीमांकनमा सहमति जुट्यो भने पालिकाको केन्द्र त्यतिबेला वडा नम्बर ५ को वनकटुवामा साविक वनकटुवा गाविसको कार्यालय रहेको स्थानमा तोक्ने निर्णय भएको थियो । गाउँपालिका बनेपश्चात २०७४ सालको स्थानीय तह निर्वाचनमार्फत निर्वाचित जनप्रतिनिधिहरूले सोही कार्यालयमा आफ्नो कार्यकाल बिताए । हाल गाउँपालिकाको केन्द्र वडा नम्बर ५ कै रामपुरमा रहेको छ । पूर्वमा कोहलपुर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित रहेको छ । जातीय हिसाबले मिश्रित बसोबास रहेको यस गाउँपालिकामा थारू, मुस्लिम, बाहुन, क्षेत्री, ठकुरी र दलित जातिहरू रहेका छन् ।

जातीय र भाषिक विविधता रहेको यस गाउँपालिका क्षेत्रमा मुख्य रूपमा हिन्दु धर्मावलम्बी नै रहे पनि मुस्लिम र क्रिश्चियन धर्म मान्ने जनसङ्ख्या पनि यहाँ रहेको छ । पश्चिमी तराई क्षेत्रमा पर्ने यस गाउँपालिकाको सम्पूर्ण भूभाग समथर रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने केही भूभागमा चुरे क्षेत्रका विषेशता रहेपनि अधिकांश क्षेत्रहरू समथर रहेको छ । यस गाउँपालिकाको कूल जमिनमध्ये सबैभन्दा बढी क्षेत्रमा खेती गरिएको छ भने मध्यवर्ती क्षेत्र लगायतको वन जंगलले पनि उल्लेख्य क्षेत्र ओगटेको छ ।

को हुन् बैजनाथ थारू ?

बैजनाथ थारूको जन्म विसं १९४६ कार्तिक १२ गते भएको थियो । उनका बुवाको नाम लालबहादुर थारू र आमाको नाम चाहिँ गुडिया थारू थियो । लालबहादुर र गुडियाका दुई सन्तान छोरामध्ये जेठा सन्तान थिए, बैजनाथ थारू । बैजनाथका दुई छोरा थिए । उनीहरूको निधन भइसकेको छ । उनका नातिहरू भने अहिलेपनि जिवितै छन् । ७५ वर्षअघि सहिद भएका थारूका नाति पनातिलगायत ठुलो वंश अहिलेपनि पेडारी गाउँमा बसोबास गरिरहेको छ । उनी बाँकेका प्रथम किसान सहिदसमेत हुन् ।

थारू तत्कालीन व्यवस्था परिवर्तनको आन्दोलनका एक क्रान्तिकारी प्रजातान्त्रिक योद्धा थिए । अदम्य साहस, दृढ संकल्प र आत्मविश्वासका प्रतिमूर्ति थिए, बैजनाथ । वर्तमान पुस्ताका लागि प्रेरणाका स्रोतसमेत हुन् उनी । अहिलेको पुस्ताका अधिंकाशलाई बैजनाथ थारूका बारेमा जानकारी नहुन सक्छ । उनको गाउँ पेडारीमा सालिक पनि निर्माण गरिएको छ । उनी निरंकुश राणा शासनविरुद्ध लडेका सशक्त योद्धा हुन् । वास्तविक किसानका पक्षमा स्थानीय सामन्त जमिन्दारहरूविरुद्ध लड्दालड्दै उनलाई हत्याको सिकार बनाइएको थियो ।

लेखक शेखर दहितद्वारा लिखित ‘थारू जोधा’ नामक पुस्तकका अनुसार बैजनाथ थारूका बारेमा विस्तृत रूपमा उल्लेख गरिएको छ । पुस्तकमा उल्लेख गरिएअनुसार बैजनाथ थारू पेडारीका एक थारू किसान थिए । केन्द्रमा राणा शासन थियो र गाउँघरमा तिनको प्रतिनिधित्व सामन्त जमिन्दारले गर्थे । उनीहरूले नै किसानलाई दबाउने गरिरहेका थिए । तिनै स्थानीय सामन्त र जमिन्दारहरूविरुद्ध बैजनाथको लडाइँ थियो । यो प्रकारान्तरले राणा शासनविरुद्धकै लडाइँ थियो ।

बैजनाथ थारूले आन्दोलनकै क्रममा यस्ता सामन्त जमिन्दारहरूलाई कुनै पनि फसलको हिस्सा नदिने अभियान चलाएका थिए । यो अभियानप्रति सामन्त जमिन्दारहरू क्रुद्ध हुनु स्वाभाविक थियो । त्यसैले उनीहरूले बैजनाथको हत्या गर्ने प्रपञ्च रचे । जमिन्दारहरूले भारतबाट भाडामा सिपाही ल्याएर पेडारी गाउँलाई चारैतिरबाट घेरा हाले । आफूलाई पक्राउ गर्न आएका सैनिकहरूलाई देखेपछि बैजनाथ घरभित्रै धानको भकारीमा लुके । खानतलासीका क्रममा लुकेर बसेका बैजनाथलाई सैनिकले पक्डेर बन्दुकको कुन्दैकुन्दाले हान्दै लाठी र बुटले भकुर्दै मरणासन्न अवस्थामा छोडे । उनलाई म¥यो भनेर छाडिएको थियो । तर, उनको ढुकढुकी चल्दै रहेछ । तत्काल उनलाई नेपालगन्ज अस्पताल पु¥याइयो ।

बैजनाथ थारूका नाती लालबहादुर थारू थारूको नाम लिँदा गर्वको अनुभूति हुने बताउँछन् । उनका अनुसार गाउँपालिकाको नामाकरण गरिएको छ । तत्कालीन व्यवस्थाविरुद्ध लड्ने योद्धाको विषयमा सम्मान हुनुपर्ने उनी बताउँछन् । खेलकुद विकास समितिको संयोजक थारूले उनको विषयमा अहिलेको पुस्ताले जानकारी लिन आवश्यक रहेकोमा जोड दिए । उक्त घटनाका प्रत्यक्षदर्शी बैजनाथका काका नाता पर्ने पेडारीका सुखलाल थारू भन्छन्, ‘सबैसँग संगीनदार हतियार थियो । सबै कालो पोसाकमा थिए ।

बुटपनि कालै थिए । फलामको टोपी लगाएका थिए । नाक मुखमात्र देखिन्यो । त्यो टोली रुपैडिया, नेपालगन्ज हुँदै पेडारी आएको थियो ।’ राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर भन्छन्, ‘भारतको मद्रासी सेनाले ५२ घण्टासम्म राजापुरदेखि कटकुइयासम्म आफ्नो कब्जामा लिएको थियो । सयौँ किसानहरू गिरफ्तार भए । तीमध्ये तीन जना किसान अगुवालाई यातना दिएर मारियो । त्यसमध्ये बैजनाथ थारूपनि एक थिए ।’ त्यतिबेला ६ जना राजनीतिक दलका नेतालाई बहराइच जेलमा राखिएको थियो ।

उपचारका क्रममा तीन दिनपछि विसं २००७ साल चैत १४ गते उनको अस्पतालमै मृत्यु भएको थियो । भनिन्छ, उनको शवयात्रामा स्वयम् विश्वेश्वरप्रसाद कोइरालासमेत सहभागी भएका थिए । आजभन्दा ७५ वर्षअघि बितेका एक जना सत्पात्रप्रतिको घिमिरेको अश्रु अर्पणसहितको सम्झना सच्चा श्रद्धाञ्जली नै हो । घिमिरे भन्छन्, ‘उहाँलाई सम्झनेबित्तिकै म भक्कानिएँ ।’ आगामी दिनमा बैजनाथ थारूको योगदानको स्मरण गर्न नचुक्ने उनले प्रतिबद्धता जनाए ।

पेडारी गाउँमा सालिक र संग्रहालय

बैजनाथको योगदानको सम्झनामा बैजनाथ गाउँपालिका वडा नम्बर ७ पेडामा सालिक र संग्रहालयको प्रक्रिया थालिएको छ । २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको पालामा सालिक निर्माण गरिएको थियो । वडा नम्बर ७ का वडाध्यक्ष दिनेशकुमार थारूका अनुसार मूर्ति सानो भएको र अर्कोसँग मेल खायो भन्ने विवाद भएपछि अहिलेसम्म सालिक उद्घाटन हुन सकेको छैन ।

सालिकको आकृति विवादमा अहिलेसम्म उक्त सालिक उद्घाटन हुन नसकेको उनले बताए । बैजनाथको महत्व र योगदान नयाँ पुस्तालाई बुझाउनको लागि सालिक निर्माण गरिएपनि लामो समयसम्म सञ्चालन हुन नसक्नु दुःखद पक्ष रहेको स्थानीय बताउँछन् । वडाध्यक्ष थारू बैजनाथ जति सम्मान गरेपनि कम नहुने पात्र रहेको बताए । उनका अनुसार २०७४ मा निर्वाचित जनप्रतिनिधिहरूले प्रयास गरेका थिए । तर विवाद हुँदा काम हुन सकेन । आफूहरूलेसमेत अलि ठुलो ठाउँमा सालिक निर्माण गर्ने र संग्रहालय निर्माण गर्ने प्रक्रियामा रहेको छ ।

पेडारी गाउँमै अलि ठुलो क्षेत्रमा सालिक निर्माण गर्ने र संग्राहालय निर्माण गर्ने क्रममा रहेको उनले बताए । आर्थिक वर्ष २०८१–०८२ मा वडाबाट ५ लाख रूपैयाँ विनियोजन गरिएको बताए । उक्त रकमबाट माटो पटान गरिएको उनको भनाइ छ । ‘हामीले प्रयास गरिरहेका छौँ संग्राहालय निर्माण गर्ने योजना छ । तर वडाको बजेटले धान्दैन् । त्यसको लागि गाउँपालिकालाई भनेका छौँ । छिट्टै निर्माण लक्ष्य रहेको छ ।’

गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाही गाउँपालिकाले बैजनाथ थारूको कदर गरिरहेको बताए । उनले भने, ‘उहाँको नाम नै नामाकरण गरिएको छ । हामीले उहाँको सम्मानमा सालिक र संग्राहालय निर्माण गर्दैछौँ । त्यसको लागि बजेटसमेत विनियोजन गरिएको छ । उहाँ पेडारी मात्रै होइन । सिंगो किसान आन्दोलनको नेता हुनुहुन्थ्यो ।’ साथै ‘जि’ गाउँ बजारमा उनकै नामबाट ‘बैजनाथ प्रतीक्षालय’समेत रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २४ गते शनिबार