हुम्ला ।
कर्णाली करिडोरअन्तर्गतको सिमकोट–हिल्सा सडकखण्डमा पर्ने जोखिमपूर्ण च्याछरा भीर क्षेत्रमा क्रस ब्यारियर निर्माण गरिएको छ । सडक सुरक्षामा सुधार हुने अपेक्षासहित क्रस ब्यारियर निर्माण गरिएको हो । वर्षौँदेखि यात्रु र सवारी चालकका लागि त्रासको पर्याय बनेको उक्त सडकखण्डमा पहिलो पटक सुरक्षा संरचना निर्माण गरिएपछि दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने अपेक्षा छ ।
हिल्सा–सिमकोट सडक योजनाले च्याछराको चट्टानी भीरमा सडक ढलानको काम सम्पन्न गरेसँगै सडकको बाहिरी किनारमा क्रस ब्यारियर निर्माण गरेको हो । सडकको तलतिर गहिरो भीर र कर्णाली नदी बग्ने भएकाले सामान्य त्रुटिले पनि ठूलो दुर्घटना निम्त्याउने जोखिम रहँदै आएको थियो । वर्षायाममा सडक चिप्लो हुने र साँघुरो सडकमा सवारी साधन सञ्चालन गर्दा चालकहरूले उच्च सतर्कता अपनाउनुपर्ने अवस्था थियो ।
हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीका अनुसार च्याछरा खण्डको करिब पाँच सय मिटर सडक क्षेत्रमा क्रस ब्यारियर निर्माण सम्पन्न गरिएको छ। उनका अनुसार सिमकोट–हिल्सा सडकको ९५ किलोमिटर दूरीमध्ये धेरै स्थान दुर्घटनाको दृष्टिले संवेदनशील भए पनि पहिलो चरणमा सबैभन्दा जोखिमयुक्त च्याछरा क्षेत्रमा सुरक्षा संरचना निर्माण गरिएको हो ।
स्थानीयवासी र यात्रुहरूले पनि ब्यारियर निर्माणलाई सकारात्मक रूपमा लिएका छन् । यसअघि सडकबाट सवारीसाधन चिप्लिएर भीरतर्फ जाने जोखिम उच्च रहेकाले चालकहरू मानसिक दबाबमा यात्रा गर्न बाध्य थिए । अब भने ब्यारियरले आकस्मिक अवस्थामा सवारीसाधनलाई रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । कर्णाली करिडोरलाई नेपाल–चीन सीमासम्म जोड्ने रणनीतिक सडकका रूपमा हेरिन्छ ।
हिल्सा नाका हुँदै हुने व्यापारिक गतिविधि तथा स्थानीय जनताको आवागमनका लागि यो सडक जीवनरेखा मानिन्छ । तर सडकको अधिकांश भाग भिरालो, साँघुरो र भूगोलका हिसाबले जटिल भएकाले दुर्घटनाको जोखिम सधैँ रहँदै आएको छ । सडक सुरक्षाअनुसार दुर्गम क्षेत्रमा सडक विस्तारसँगै सुरक्षा संरचनाको निर्माणलाई पनि प्राथमिकता दिन आवश्यक हुन्छ । सडक खोल्नु वा स्तरोन्नति गर्नु मात्र पर्याप्त नहुनेभएकाले जोखिमयुक्त मोड, भीर र नदी किनारका क्षेत्रमा ब्यारियर, संकेत चिन्ह तथा अन्य सुरक्षा उपाय अनिवार्य रूपमा विस्तार गर्नुपर्ने सुझाव छ ।
च्याछरामा गरिएको क्रस ब्यारियर निर्माणलाई कर्णाली करिडोरमा सडक सुरक्षा सुधारको प्रारम्भिक प्रयासका रूपमा हेरिएको छ । आगामी दिनमा अन्य जोखिमयुक्त खण्डहरूमा पनि यस्ता संरचना विस्तार गर्न सके दुर्घटना न्यूनीकरणसँगै यात्रु र चालकको आत्मविश्वास बढ्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्