मुगु।
जिल्लामा आलुखेती किसानहरूको मुख्य आयआर्जनको आधार बनेको छ । तर यसको बजार, मूल्य र यातायातको अभावले किसानहरू अपेक्षित लाभबाट वञ्चित भएका छन् । जिल्लाभरका अधिकांश ग्रामीण बस्तीमा नगदे बालीका रूपमा आलु खेती गरिए पनि उत्पादनले किसानको आर्थिक अवस्था सुधार्न नसकेको गुनासो बढ्दो छ । जिल्लाको छायाँनाथ रारा नगरपालिका अन्तर्गतका लिउडी, घट्टलेख, तलिलेख, रोवा, सोवा, मुर्मा, ताव्च, पिना, टोप्ला, लुवारपोल्ना, तुम, माथितुम, ढुम, कार्कीवाडा र भामवाडालगायतका गाउँमा आलु उत्पादन राम्रो हुने गरेको छ ।
तर बजारसम्म सहज पहुँच नहुँदा किसानहरू समस्यामा परेका छन् । छायाँनाथ रारा नगरपालिका–१० लिउडीका कृषक रूपबहादुर सेजुवालले वर्षभरि दुःख गरेर आलु उत्पादन गरे पनि बजारसम्म पु¥याउन निकै सास्ती रहेको बताए । ३० किलो आलु पिठ्युँमा बोकेर घण्टौँ हिँडेर बजार पुग्दा पाँच सय रूपैयाँँ जति मात्रै हात पर्ने गरेको भन्दै मेहनत र खर्चको तुलनामा आम्दानी निकै कम हुने गरेको उनले जनाए ।
त्यस्तै छायाँनाथ रारा नगरपालिका–१२ सोवाका युवा कृषक धनबहादुर सावतले उत्पादन राम्रो भए पनि बजार व्यवस्थापनको अभावले किसान निराश बन्दै गएको जानकारी दिए । ‘गाउँमा उत्पादन राम्रो हुन्छ, तर सडक र यातायातको सुविधा नहुँदा धेरै आलु घरमै उपभोग गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘बजारसम्म लैजान सकिने परिमाण सीमित हुन्छ । उचित मूल्य नपाउँदा खेतीप्रतिको उत्साह घट्दै गएको छ ।’
छायाँनाथ राराजस्तै जिल्लाका अन्य स्थानीय तहका कृषकहरूको अवस्था पनि उस्तै छ । मुगुका अधिकांश गाउँहरूमा आलु उत्पादन भए पनि सडक तथा यातायातको सहज पहुँच नहुँदा किसानले उत्पादनलाई व्यावसायिक रूपमा बजारसम्म पु¥याउन सकिरहेका छैनन् । कतिपय स्थानमा उत्पादित आलु घरायसी उपभोगमै सीमित हुने गरेको छ भने बिक्रीका लागि ढुवानी गर्न कठिन हुँदा किसानले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् ।
किसानहरूका अनुसार बीउ, मल, श्रम र ढुवानीमा बर्सेनि ठूलो लगानी गर्नुपर्छ । तर बिक्री मूल्य न्यून हुँदा लागतसमेत उठाउन मुस्किल पर्ने गरेको छ । उत्पादन बढी भएको वर्षमा झन् मूल्य घट्ने र बजार अभावका कारण उत्पादित आलु खपत हुन नसक्ने समस्या दोहोरिने गरेको उनीहरूको भनाइ छ । यसैबीच जिल्ला कृषि विकास कार्यालय मुगुले पनि आलुखेती मुगुको प्रमुख नगदे बाली भए पनि बजार र पूर्वाधारको चुनौती अझै कायम रहेको जनाएको छ ।
आलु उत्पादन वृद्धि गर्न किसानहरूलाई प्राविधिक सहयोग, उन्नत बीउ तथा विभिन्न कृषि कार्यक्रम सञ्चालन भइरहे पनि उत्पादित आलुको बजारीकरण ठूलो चुनौतीका रूपमा रहेको कार्यालयले जनाएको हो । कार्यालयका अनुसार जिल्लामा आलु उत्पादनको सम्भावना उच्च भए पनि संकलन केन्द्रको अभाव, सीमित सडक पहुँच र ढुवानी लागतका कारण किसानले उचित लाभ लिन सकेका छैनन् । उत्पादन बढाउनुका साथै बजारीकरणलाई पनि सँगसँगै लैजान आवश्यक छ ।
स्थानीय कृषकहरू बिचौलियाको प्रभाव, संकलन केन्द्रको अभाव तथा कमजोर बजार व्यवस्थापनका कारण उत्पादनको उचित मूल्य नपाएको बताउँछन् । अधिकांश उत्पादनशील गाउँहरू सडक सञ्जालसँग पूर्ण रूपमा नजोडिएकाले कृषि उत्पादनलाई बजारसम्म पु¥याउन अझै चुनौती रहेको छ । सोही आधारमा स्थानीय तह, प्रदेश र संघीय सरकारको समन्वयमा कृषि सडक विस्तार, संकलन केन्द्र स्थापना र बजार व्यवस्थापनका कार्यक्रमको अवधारणा तयार पारिएको छ ।
किसानहरूले आलुको न्यूनतम समर्थन मूल्य निर्धारण, गाउँस्तरमा संकलन केन्द्र स्थापना, कृषि सडक विस्तार, ढुवानीमा सहुलियत तथा बजार व्यवस्थापनमा सरकारी पहल आवश्यक रहेको माग गरेका हुन् । उनीहरूका अनुसार उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न सके आलु खेती मुगुका किसानहरूको आर्थिक उन्नतिको बलियो आधार बन्न सक्छ । हिमाली भेगको प्रमुख नगदे बालीका रूपमा रहेको आलु खेतीले अहिले पनि हजारौँ किसानको जीविकोपार्जन धानेको छ । तर उत्पादन, बजार र यातायातबीचको दूरी घटाउन नसकिए किसानले आफ्नो मेहनतअनुसारको प्रतिफल पाउने अवस्था अझै टाढै रहेको छ ।









प्रतिक्रिया दिनुहोस्