कोहलपुरको आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्दै



गणेश रावत । कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका–११ बगियामा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रमा पछिल्लो समय सेवा लिने बिरामीहरूको सङ्ख्या बढिरहेको छ । आयुर्वेद उपचारप्रति नागरिकहरूको विश्वास बढेकाले आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिने बिरामीको सङ्ख्या पनि बढेको हो । प्रत्येक वर्ष आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिनेको सङ्ख्या एक हजारका दरले बढ्दो रहेको केन्द्र प्रमुख उदिव श्रेष्ठले जानकारी दिए । पछिल्लो समय समाजमा पनि आयुर्वेदको प्रचारप्रसार र महत्व बुझ्न थालेकाले बिरामीहरू दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको उनले बताए ।

केन्द्र प्रमुख श्रेष्ठ भन्छन्, ‘अहिले नागरिकहरूमा आयुर्वेद औषधि गर्नुपर्छ । योग तथा ध्यान पनि गर्नुपर्छ । स्वास्थ्यका लागि खानामा ध्यान दिनुपर्छ भनेर आयुर्वेदप्रति सेवाग्राहीको विश्वास बढेको पाइन्छ । सोहीअनुसार औषधिको माग पनि बढिरहेको छ ।’ कोहलपुर नगरपालिकाभित्र एउटा मात्रै आयुर्वेद स्वास्थ्य केन्द्र रहेको उनले बताए । केन्द्रबाट विशेष गरेर नेपाल सरकारले सूचीकृत गरेका २३ प्रकारका औषधिहरू निःशूल्क वितरण हुने गरेको उनले मिसन टुडेलाई जानकारी दिए ।

साधारण उपचार, स्तनपायी, ज्येष्ठ नागरिक सेवा, पूर्वकर्म र पञ्चकर्म सेवा, योग सेवा र स्वाथ्य शिविर आयुर्वेद स्वास्थ्य केन्द्रबाट प्रदान गरिने बताए । संघीय कार्यक्रमअन्र्तगत स्थानपायी कार्यक्रममार्फत सुत्केरी महिलाहरूका लागि दूध बढाउने औषधिसमेत वितरण गर्ने गरेको उनको भनाइ छ । त्यस्तै ज्येष्ठ नागरिक प्रवद्र्धन कार्यक्रम पनि लागु रहेको छ । ६५ वर्ष पूरा गरेका ज्येष्ठ नागरिकहरूको स्वाथ्य प्रवद्र्धन गर्न बजेटले भ्याएसम्म निःशूल्क औषधि दिने गरको उनले बताए । १५ वटै वडामा पतञ्जली योग समितिसँग सहकार्य गरेर योग सेवालाई सञ्चालन गरिरहेको उनको भनाइ छ ।

केन्द्रमा पछिल्लो समय सेवाग्राहीको चाप बढेकाले त्यसअनुसार जनशक्ति र औषधि पु¥याउन गाह्रो हुने गरेको उनले बताए । एउटै बिरामीलाई धेरै औषधि नभइ क्षमताअनुसार औषधि दिइने र बेलाबखत नगरपालिकाले पनि सहयोग गर्ने गरेको उनको भनाइ छ । जनशक्ति पनि केही मात्रामा अभाव रहेको उनले बताए । नगरपालिको एक प्राविधिक दरबन्दी गरेर राखेपनि अझ कर्मचारीको आवश्यता रहेको उनको भनाइ छ । उनका अनुसार आयुर्वेद स्वास्थ्य केन्द्रप्रतिको विश्वासले बिरामीहरूको सङ्ख्या बढ्दो रहेकाले कर्मचारी केही अभाव भएको महसुस हुन थालेको हो ।

‘तर, पनि हामी चार जना कर्मचारीहरूले चलाइरहेका छौँ । पञ्चकर्मको लागि एकजना पुरुष कर्मचारी भए सेवा दिन अझ सहज हुने थियो । अहिले जसोतसो हामीले मिलेर सेवा दिइरहेका छौँ ।’ उनले भने । आगामी दिनहरूमा स्तरवृद्धि गर्दै जाने योजना रहेको उनी बताउँछन् । दरबन्दी थप गरेर सेवा प्रवाहमा विस्तार गर्ने योजना रहेको उनले मिसन टुडेलाई जानकारी दिए ।

हरेक वर्ष एक हजारका दरले वृद्धि हुँदै सेवाग्राही

आर्थिक वर्ष २०७९–०८० मा आयुर्वेद स्वास्थ्य केन्द्रबाट ९ हजार ७६ जना बिरामीहरूले सेवा लिएको कार्यायल प्रमुख श्रेष्ठले बताए । उनका अनुसार साधारण उपचार ४ हजार ९ सय १ जना, स्तनपायी सेवा ३ सय ३७ जना, ज्येष्ठ नागरिक सेवा ७ सय ९४ जना, पूर्वकर्म र पञ्चकर्म सेवा ६ सय २७ जना, योग सेवा १ हजार ५ सय ८१ ज्ना र स्वास्थ्य शिविरका ८ सय ३ जनाले सेवा लिएका हुन् ।

यस्तै आर्थिक वर्ष २०८०–०८१ मा आयुर्वेद स्वास्थ्य केन्द्रबाट १० हजार ३ सय ८४ जना बिरामीहरूले सेवा लिएको उनले जानकारी दिए । साधारण उपचार ६ हजार ८२ जना, स्तनपायी सेवा ५ सय १५ जना, ज्येष्ठ नागरिक सेवा ८ सय ६२ जना, पूर्वकर्म र पञ्चकर्म सेवा ७ सय ३४ जना, योग सेवा १ हजार ५ सय ४० जना र स्वास्थ्य शिविरका ६ सय ६१ जनाले सेवा लिएको उनले बताए ।

त्यस्तै आर्थिक वर्ष २०८१–०८२ मा आयुर्वेद स्वास्थ्य केन्द्रबाट ११ हजार ४ सय ६३ जना बिरामीहरूले सेवा लिएको उनको भनाइ छ । साधारण उपचार ७ हजार ६ सय ९ जना, स्तनपायी सेवा ६ सय ७३ जना, ज्येष्ठ नागरिक सेवा ९ सय ५४ जना, पूर्वकर्म र पञ्चकर्म सेवा ८ सय ९३ जना, योग सेवा १ हजार ८ सय ७१ जनाले सेवा लिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १८ गते आइतबार