पक्की पुल सञ्चालनमा अवरोध



मुगु ।

छायाँनाथ रारा नगरपालिका–८ का धनबहादुर मल्लले जग्गाको मुआब्जा नपाएको भन्दै पक्की पुल सञ्चालन हुन दिएका छैनन् । निर्माण सम्पन्न भएको पक्की पुल धनबहादुरले मुआब्जा नपाएपछि सञ्चालन हुन सकेको छैन । ल्कासाँघुस्थित गमगाढ खोलामाथि बनेको यो पुल निर्माण गर्दा धनबहादुर मल्लको ५८८.७५ वर्गमिटर खेतीयोग्य जमिन प्रयोग गरिएको थियो ।

निर्माण सुरु गर्दा नगरपालिका र जग्गाधनीबीच मुआब्जा दिने सहमति भएको थियो । तर निर्माण सकिएपछि पनि मुआब्जा नपाएपछि मल्लले पुल सञ्चालनमा अवरोध गरेका छन् । नगर प्रमुख बिष्णुकुमार भामले जग्गा विवादका कारण जोखिमपूर्ण ठाउँमा पुल नबन्ने देखेपछि दुवै पक्षसँग आवश्यक सहजीकरण गरी जग्गाधनीलाई नगरपालिकाले क्षतिपूर्ति दिने सहमति गरेका थिए । उक्त सहमतिपछि पुल निर्माण प्रक्रिया अघि बढेको थियो । तर पुल निर्माण भएको करिब ६ महिना बितिसक्दा पनि जग्गाधनी मल्लले क्षतिपूर्ति वापत मुअब्जा पाएका छैनन् ।

प्रयोगमा आउननसकेको यो मोटरेबल पुल निर्माण गर्दा नगरपालिका र मल्लबीच २०८० मंसिर ५ र २०८१ वैशाख ३ गते दुईपटक मुुअब्जा दिने सहमति भएको थियो । सोही आधारमा सडक डिभिजन कार्यालय जुम्लाको ठेक्कामा हिम सगरमाथा कन्स्ट्रक्सनले आठ करोडको लागतमा ४० मिटर लम्बाइको पुल बनाएको छ । जग्गाधनी मल्लले सम्झौतामा हस्ताक्षर गर्न दबाब दिने नगरपालिकाले मुआब्जा माग्दा बेवास्ता गरेको बताए। मुआब्जा नपाएसम्म पुल चल्न नदिने बताउँदै पुुलका लागि छोडिएको आफ्नो जमिन प्रयोग गरेर खेतीपाती पनि सुरु गर्ने उनले जनाए ।

यता, नगरप्रमुख विष्णुकुमार भामसडक विभागले पुल र सडकजस्ता संरचनामा प्रयोग हुने निजी जग्गाको मुआब्जा दिने नीति नराखेकोले समस्या भएको बताउँछन् । तर विपद् व्यवस्थापन कोषबाट राहतस्वरूप रकम उपलब्ध गराएर समस्या समाधान गर्ने तयारी गरिएको उनले बताए । ‘पुल सञ्चालनमा नआउँदा गमगढी बजार हुँदै मुगुमकार्मारोङ्ग गाउँपालिकातर्फ जाने यात्रुहरू मर्कामा परेका छन्’, उनले भने, ‘छायाँ क्षेत्रधाममा साउन महिना सुरु भएसँगै भक्तजनको घुइँचो लाग्ने गरेको छ । तर पुल बन्द हुँदा भक्तजनलाई कम्तीमा १७ किलोमिटर बाटो पैदलै हिँड्नुपर्ने बाध्यता छ । अब यो समस्या छिट्टै समाधान गर्छौँ ।’

गतवर्ष यसै स्थानमा काठको लाप्कोबाट खोला तर्दै गर्दा आठ जना यात्रु खसेर बाँचेका थिए । त्यसपछि दबाबकै कारण तत्कालीन ठेकेदारले पुल बनाएको हो । तर मुुआब्जाका कारण पुल सञ्चालन हुन सकेको छैन । उक्त पुलले नेपाल–चीनको नाक्चेलाग्ना नाकासम्म पुग्ने ८७ किलोमिटर सडकलाई जोड्छ भने हालसम्म गमगढीबाट मुगुम् कार्मारोङको छाईलसम्म १७ किलोमिटर ट्रयाक खोलिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १८ गते आइतबार