बुकीपाटन उक्लनले बीच बाटोको चेप्टेढुङ्गामा गोठबाटै चिया बिक्री गरेर गुमानसिंह कुमाईले पनि राम्रो आम्दानी गरिरहेका छन् । बुकी उक्लनेलाई प्रतिगिलास रु १०० मा चिया बिक्री गर्दै आएको उनको भनाइ छ । दूधको चिया खपत भएपछि घ्यू र दही बनाउने झन्झट नभएको कुमाईले बताए । उनको गोठमा एकै दिन एक सय गिलाससम्म चिया खपत हुने गर्छ । तीनवटा भैँसी र ६० वटा बाख्रा पाल्दै आएका कुमाईको घुम्ती गोठ पदयात्रा गर्ने छेउमै भएकाले असारयता दूध र चिया निकै खपत भएको हो ।
गलकोट (बागलुङ) ।
बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आयआर्जनमा वृद्धि भएको छ । ढोरपाटन पुगेका केही पर्यटकहरू पदमार्गमार्फत बुकीपाटन पुग्ने गरेका छन् । बुकी पुग्ने पर्यटकका लागि खान–बस्नमा सघाउँदै आएका गोठालको आम्दानी बढ्न थालेको हो ।
पदमार्ग आसपास र बुकीपानमा चिया–नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ । पाटन पुगेका पर्यटक गोठमै बस्ने र खाने गर्दा भैँसीको दूध, घ्यू तथा भेडाको मासु खपत हुन थालेको र यसले आयआर्जनमा वृद्धि भएको गोठालाहरू बताउँछन् ।
पर्यटकलाई भैँसीको दूधसँगै खीर, चिया, मोही तथा दही खुवाएर आम्दानी गर्न थालिएको गोठालाहरूको भनाइ छ । बुकीपाटनका भैँसी गोठाला ७२ वर्षीय देवबहादुर विकले चरिचरनका रूपमा रहेको बुकीपाटन पर्यटकीय गन्तव्य बनेपछि गोठमै पैसा आउन थालेको बताए । ‘पहिला त ढोरपाटन ल्याएर घ्यू बिक्री गरिन्थ्यो, मही फालिन्थ्यो । हाल बर्खामा पनि पर्यटक भरिभराउ छन्, मोहीसमेत बिक्री हुन्छ’, उनले भने, ‘पर्यटक बढेपछि यही गोठमा समेत बस्न आउँछन्, भैँसीको दूधको खीर पकाएर खुवाउँछु । गोठमै दूध, मोही बिक्री भएपछि बोकेर ढोरपाटन जानै पर्दैन ।’
बुकीपाटन उक्लनले बीच बाटोको चेप्टेढुङ्गामा गोठबाटै चिया बिक्री गरेर गुमानसिंह कुमाईले पनि राम्रो आम्दानी गरिरहेका छन् । बुकी उक्लनेलाई प्रतिगिलास रु १०० मा चिया बिक्री गर्दै आएको उनको भनाइ छ । दूधको चिया खपत भएपछि घ्यू र दही बनाउने झन्झट नभएको कुमाईले बताए । उनको गोठमा एकै दिन एक सय गिलाससम्म चिया खपत हुने गर्छ । तीनवटा भैँसी र ६० वटा बाख्रा पाल्दै आएका कुमाईको घुम्ती गोठ पदयात्रा गर्ने छेउमै भएकाले असारयता दूध र चिया निकै खपत भएको हो ।
‘बुकीमा चरेका भैँसीको दूधको चिया पदयात्रीले निकै मीठो मानेर खाने गरेका छन्, दूधबाट चिया बनाउन थालेपछि यो ‘सिजन’मा घ्यू बनाउन आवश्यक छैन’, उनले भने, ‘पर्यटकका कारण गोठमै पैसा आएको छ, पहिला–पहिला खेर जाने मोही पनि हाल महङ्गो मूल्यमा बिक्री हुन्छ ।’
ढोरपाटनमा एक वर्षमै आठ हजारले पर्यटक वृद्धि भएपछि यसपटक बुकीपाटन गुल्जार बनेको छ । प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएपछि घोडा सफारी, घरबास र गोठमा बस्ने पर्यटकका कारण आयआर्जनमा सघाउ पुगेको हो ।
ढोरपाटन सिकार आरक्षमा पहिले सिकार खेल्न विदेशी पर्यटक मात्र आउने गरेकामा पछिल्लो समय आरक्ष क्षेत्र, ढोरपाटन उपत्यका, निशेलढोर, ढोरबराह मन्दिर, बुकी पाटन र जलजलालगायत क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक पनि यहाँ आउने गरेका छन् । समुन्द्री सतहदेखि दुई हजार ९०० मिटरको उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्ने थालेका छन् ।
२३ हजार पर्यटक पुगे ढोरपाटन
नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको छ । ढोरसिकार आरक्ष कार्यालय बागलुङका अनुसार ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा गत एक वर्षमै आठ हजारले वृद्धि भएको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार आर्थिक वर्ष २०८०–८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेकोमा आर्थिक वर्ष २०८१–८२ मा पर्यटकको सङ्ख्या आठ हजारले बढेर २३ हजार ६९२ पुगेको छ ।
जसमध्ये सार्क नागरिक १२ जना र विदेशी नागरिक २१३ जना मात्रै रहेका छन् भने अन्य पर्यटक आन्तरिक नै हुन् । ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको सुवेदीको भनाइ छ । उनका अनुसार पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै राजस्वमासमेत वृद्धि भएको छ । ढोरपाटन पुग्ने नेपाली पर्यटकले रु एक सय प्रवेश शुल्क तिर्नुपर्ने हुन्छ ।
गत आवमा मात्रै २० लाख भन्दाबढी राजस्व पर्यटकको प्रवेश शुल्कबाट सङ्कलन भएको छ । ‘प्रचारप्रसार, पर्यटकीय पूर्वाधार थपिनु, बुकी र जलजलाको चर्चासँगै पदयात्रा गर्न आउनु र होटल तथा घरबासको व्यवस्थापनका कारण पर्यटकमा वृद्धि भएका छन्’, सुवेदीले भने ।
ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय सिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक त्यहाँ आउने गरेका छन् ।
ढोरपाटन उपत्यकामा दुई दर्जन होटल तथा घरबास सञ्चालनमा रहेको र सोझै पोखरादेखि पर्यटकलाई प्याकेजमै ल्याउने लैजाने व्यवस्थापनका कारण पर्यटकलाई सहज भएको ढोरपाटन सामुदायिक घरबासका सञ्चालनक रामबहादुर घर्तीले जानकारी दिए । समुद्री सतहदेखि दुई हजार ९०० मिटरको उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्ने थालेका छन् ।









प्रतिक्रिया दिनुहोस्