शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
बर्दियामा मानव–वन्यजन्तु द्वन्द्वको जोखिम बढ्दो क्रममा रहेको पाइएको छ । पछिल्लो एक वर्षको तथ्यांक हेर्दा वन्यजन्तुका कारण मानव र पशुवस्तुमा क्षति पुगेको पाइएको हो । गत आर्थिक वर्ष २०८१–०८२ मा बर्दियामा वन्यजन्तुको आक्रमणबाट ६ जनाले ज्यान गुमाएका छन् । वन्यजन्तुकै आक्रमणबाट १९६ वटा पशुवस्तुको मृत्यु भएको छ ।
डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत गणेश ऐडीका अनुसार गैडा, चितुवा र जंगली हात्तीको आक्रमणबाट ३÷३ जना पुरुष र महिलाको मृत्यु भएको छ । गैडाको आक्रमणबाट मधुवन–१ का ३७ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको थियो । जंगली हात्तीको आक्रमणबाट राजापुर नगरपालिका–१० का ४९ वर्षीय कान्छा चौधरीको मृत्यु भएको ऐडीले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा धेरै चितुवाको आक्रमणबाट मृत्यु हुनेमा गेरुवा गाउँपालिका–६ की ९ वर्षीया मेलिना खड्का, मधुवन नगरपालिका–७ की ५२ वर्षीया जुनाकुमारी लामिछाने क्षेत्री, बाँके राप्ती सोनारी गाउँपालिका–५ का रिहान चलाउने र गुलरिया नगरपालिका–५ की साइरा चौधरी रहेका छन् । वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई कूल २४ लाख रूपैयाँँ राहत वितरण गरिएको छ । वन्यजन्तुको आक्रमणबाट सात जना सामान्य घाइते भएका छन् भने ६ जना गम्भीर घाइते भएका थिए ।
सामान्य र गम्भीर घाइतेको उपचारका लागि ५ लाख ८७ हजार रूपैयाँँ राहत उपलब्ध गराइएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०८१–०८२ मा चितुवाको आक्रमणबाट ८९ वटा बाख्रा, ४२ वटा बंगुर, ७ वटा भेडा, २÷२ वटा पाडोपाडी र गाई÷गोरु र ५ वटा खुकुराको मृत्यु भएको छ । पाटे बाघको आक्रमणबाट २÷२ वटा बाख्रा र भेडा, १÷१ वटा बंगुर र गोरु र ३ वटा राँगाको मृत्यु भएको छ ।
यस्तै मगर गोहीको आक्रमणबाट २० वटा माछाको मृत्यु भएको छ । यसैगरी रातिको समयमा गोठमा बाँधेको अवस्थामा वन्यजन्तुको आक्रमणबाट ९६ वटा पशुवस्तु मारेको अधिकृत ऐडीले जानकारी दिए । ५२ जनालाई १० लाख २८ हजार ८ सय राहत वितरण गरेको छ ।
जिल्लाभर १५३ वन्यजन्तुको उद्धार
गत आर्थिक वर्ष २०८१–०८२ मा डिभिजन वन कार्यालय बर्दियाले कूल १५३ वन्यजन्तुको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये सबैभन्दा धेरै सर्पका प्रजाति रहेका छन् । विभिन्न प्रकार १४० वटा सर्पको उद्धार गरिएको सहायक वन अधिकृत ऐडीले बताए । तीमध्ये ३९ वटा गोमन सर्प, ३८ वटा धामन सर्प, २० वटा पानी सर्प, १७ वटा कमन करेट सर्प, ५ वटा इन्डिनियन उल्फ सर्प, ३ वटा ब्यान्डेड करेट सर्प, २ वटा दोमुखे सर्प र १ चिचिन्डे सर्पको उद्धार गरिएको हो । १४ वटा अजिंगरको उद्धार गरिएको छ ।
डिभिजन वन कार्यालयअन्तर्गत चार वटा सवडिभिजन कार्यालय रहेका छन् । खाता सवडिभिजन कार्यालय, बाँसगढी सवडिभिजन कार्यालय, बबई सवडिभिजन कार्यालय र राजापुर सवडिभिजन कार्यालय रहेका छन् । सर्प उद्धारको लागि १२ जना कर्मचारी रहेका छन् । उनीहरूले नै सुरक्षित रूपमा सर्पको १÷१ वटा घडियाल सर्प, मगर गोही, दाबोइया रसेलीको उद्धार गरिएको छ । यसैगरी, ५ वटा सुन गोहोरो, १ वटा चित्तल, १ वटा जरायो, १ वटा रतुवा, १ वटा स्याल र २ वटा चितुवाको उद्धार गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्