बिहीबारको बालुवाटार बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भने, ‘बागमतीमा भिन्न परिस्थिति बनेको छ । यो हाम्रो आन्तरिक विषय हो । आफैँ मिलाउँछौँ । तर गठबन्धन सरकार भएकोले एमालेको सहयोग आवश्यक छ ।’
काठमाडौँ ।
बागमती प्रदेशमा चुलिएको नेपाली काँग्रेसको विवाद बालुवाटार प्रवेश गरेको छ । साउन पहिलो सातायाता विवादका रूपमा सतहमा आएको नेपाली काँग्रेसको विवादको विषय बालुवाटार प्रवेश गरेको हो । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादु देउवासहित शीर्ष दलको बैठक बसेको थियो । केन्द्रीय सरकारको मन्त्रिपरिषद् पुर्नगठनका विषयमा छलफल गर्न बसेको शीर्ष नेताहरूको बैठकमा बागमतीको विवादका विषयमा समेत छलफल भएको थियो ।
पार्टीको आन्तरिक विवाद समाधानका साथै सरकारबारेको अन्यौलता समाधानका लागि उक्त बैठकमा काँग्रेसले नेकपा एमालेको साथ खोजेको हो । बागमतीमा एमाले काँग्रेसको गठबन्धन सरकार छ । साउन ९ गते काँग्रेसकै प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको अगुवाईँमा मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । लगत्तै लामा नेतृत्व सरकारका पाँच जना मन्त्रीले राजीनामा दिएर बानियाँलाई साथ दिएका थिए ।
अन्तत उक्त विवाद संसदीय दलको नेता परिवर्तनसम्मको तहमा पुगिसकेको छ । बुधबार भएको निर्वाचनमा वर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा बानियाँ पराजित भए । काँग्रेसका ३७ सांसदमध्ये बानियाँले २२ मत पाउँदा लामाले १४ मात्रै मत ल्याउन सके । संसदीय दलको नेता गुमाइसकेका लामाले तीन नयाँ मन्त्री नियुक्त गरेका थिए । तर, सत्ता साझेदार नेकपा एमालेको असहयोगका कारण मन्त्रीहरूको सपथ नै रोकिएको छ । बागमतीको सो विवाद समाधानको विषय बालुवाटारमा प्रवेश गरेको हो ।
सो बैठकमा काँग्रेसले एमालेको साथ खोजेको थियो । मुख्यमन्त्री लामा तत्काल राजनीमा नदिने पक्षमा छन् । लामा संविधानको धारा १६८ ‐२) अनुसार मुख्यमन्त्री बनेका हुन । १६८ ‐१) अनुसार एउटा दलको बहुमत नपुगेर सरकार नबनेपछि १६८ ‐२) अनुसार उनी मुख्यमन्त्री बनेका हुन् । संविधानको धारा १६८ ‐२) मा ‘प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्ने’ व्यवस्था छ ।
संविधानमा भएको यो व्यवस्थाअनुसार मुख्यमन्त्री बन्न पार्टीको संसदीय दलको नेता हुनु पर्दैन । काँग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा लामा मुख्यमन्त्री बनेका हुन् । आफ्नै दलभित्र अल्पमतमा परेपनि उनले नेकपा एमालेसहितका विपक्षी दलको समर्थन जुटाउन सक्छन् । तर, काँग्रेस शीर्ष नेतृत्वकै सर्मथन पाएका बानियाँलाई मुख्यमन्त्री बनाउन नेपाली काँग्रेसले एमालेको साथ खोजेको हो ।
बालुवाटार बैठकमा सहभागी एमालेका एक नेताका अनुसार प्रधानमन्त्री ओली र देउवाबीच बागमतीको विवादका विषयमा छलफल भएको थियो । बैठकमा देउवाले पार्टीको आन्तरिक विवाद छिट्टै समाधान हुने भन्दै एमालेको साथ आवश्यक रहेकोमा जोड दिएका थिए । नेपाली काँग्रेस स्रोतका अनुसार देउवाले मुख्यमन्त्री लामालाई काठमाडौँ बोलाएरै राजीनामा दिन लगाउने तयारी गरेका छन् । लामाले देउवाको आग्रह स्वीकार गरेनन् भने बागमतीको विवाद झन् जटिल बन्ने देखिन्छ ।
यस्तो अवस्थामा देशभर संघीयदेखि प्रदेशमा सत्ता साझेदारी गरिरहेको दल एमालेको साथ काँग्रेसलाई आवश्यक हुन्छ । बालुवाटार बैठकमा एमालेबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली, उपाध्यक्ष एवं उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी थिए । त्यस्तै काँग्रेसबाट सभापति देउवा, उपसभापति खड्का तथा गृहमन्त्रीसमेत रहेका काँग्रेस नेता लेखक सहभागी थिए । बैठकमा महान्यायाधिवक्ता रमेश बडाललाई पनि आमन्त्रण गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्