भेरी अस्पतालमा सुत्केरी भएकी उनकी श्रीमतीलाई प्रसूतिपश्चात्को हेरचाह कक्ष (पिएनसी कक्ष)मा बेड पाइएन । भेरी अस्पतालको सुत्केरी शाखाका सबै बेडहरू भरिएर खाली रहेको भुइँमा पनि बिरामीहरू राखिएका थिए । त्यसपछि उनका लागि पिएनसी कक्षको ढोकामै भुइँमा बेड राखियो । त्यसैमा नवजात शिशु र सुत्केरीलाई राखियो । प्रकाश सुत्केरी र नवजात शिशुलाई कसैले खुट्टाले च्याँपिदेला कि भनेर पहरा दिइरहेका थिए । उनकी श्रीमतीले कसैले टाउकोतिर टेकिदेला कि भनेर हातले शिशुको सुरक्षा दिइरहेकी थिइन् ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँके कोहलपुरका प्रकाश शाहीले श्रीमतीको प्रसूति कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा गराउने योजना बनाएका थिए । आमा सुरक्षा कार्यक्रम पनि लागु भएको र घरनजिक पायक पर्ने उक्त अस्पतालमा लैजाने योजना बनाएका प्रकाशले श्रीमती सुत्केरी हुने भनेर दिइएको समयभन्दा केही दिनअघि थाहा पाए मेडिकल कलेजले आमा सुरक्षा कार्यक्रम बन्द गरिदिएको छ ।
त्यसपछि उनले श्रीमतीलाई २० किलोमिटर टाढा नेपालगन्जस्थित भेरी अस्पतालमा लिएर आए । भेरी अस्पतालमा सुत्केरी भएकी उनकी श्रीमतीलाई प्रसूतिपश्चात्को हेरचाह कक्ष (पिएनसी कक्ष)मा बेड पाइएन । भेरी अस्पतालको सुत्केरी शाखाका सबै बेडहरू भरिएर खाली रहेको भुइँमा पनि बिरामीहरू राखिएका थिए । त्यसपछि उनका लागि पिएनसी कक्षको ढोकामै भुइँमा बेड राखियो । त्यसैमा नवजात शिशु र सुत्केरीलाई राखियो ।
प्रकाश सुत्केरी र नवजात शिशुलाई कसैले खुट्टाले च्याँपिदेला कि भनेर पहरा दिइरहेका थिए । उनकी श्रीमतीले कसैले टाउकोतिर टेकिदेला कि भनेर हातले शिशुको सुरक्षा दिइरहेकी थिइन् । उनले नजिकै ढोकाको कुनामा राखिएको फोहोरको डस्टबिन देखाउँदै भनिन्, ‘यस्तो फोहोरको छेउमा बस्नुपरेको छ । यहाँ बस्न पनि गाह्रो, घर लैजान पनि गाह्रो स्थिति भयो ।’ उनीजस्तै बेड नपाएर सात जना अरु आमाहरू पनि पिएनसी कक्षको भुइँमै बसिरहेका थिए । बाहिरपट्टीको ग्यालरीको भुइँमा पनि बिरामी कुरुवा, नवजात शिशु र आफन्तहरूले ठाउँ पाउन मुस्किल हुन थालेको छ ।
भेरी अस्पतालमा साउनयता सुत्केरी गराउन आउनेहरूको चाप बढेपछि बिरामीहरूले यसैगरी सास्ती खेप्नुपरिरहेको छ । त्यसको कारण आमा सुरक्षा कार्यक्रमअन्तर्गत निःशुल्क सुत्केरी सेवा प्रदान गर्ने व्यवस्था रहेकोमा नेपालगन्ज मेडिकल कलेजले उक्त कार्यक्रम बन्द गरेपछि सेवाग्राहीको चाप भेरी अस्पतालमा थुप्रिएको हो । यसले अस्पताललाई गुणस्तरीय सुत्केरी सेवा दिन हम्मेहम्मे परेको छ । बिरामीहरूलाई बेड अभाव भएर भुइँमै राख्नुपरिरहेको अस्पतालले जनाएको छ । केही बिरामीहरूलाई बेड नरहेको अवस्थामा अरु अस्पतालमा रिफर पनि गर्नुपरिरहेको अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जानकारी दिए ।
अस्पतालको रेकर्ड हेर्दा पनि असारको अन्तिम दुई साताको तुलनामा साउनको पहिलो दुई सातामा सुत्केरी सेवा लिन आउनेको सङ्ख्या ७० प्रतिशतले बढेको देखिन्छ । असारको अन्तिम १२ दिनमा एक सय ८१ जना सुत्केरी सेवा लिन आएकोमा साउन पहिलो १२ दिनमा तीन सय १४ जना पुगेका छन् ।
अस्पतालको सुत्केरी सेवाका लागि छुट्याइएको संरचना, बेड सङ्ख्या र जनशक्तिले धान्न नसक्नेगरी चाप बढेको डा. सुवेदीले बताए । अस्पतालको लेवर वार्डमा कार्यरत अस्पताल नर्सिङ निरीक्षक मेलिना श्रेष्ठका अनुसार कहिलेकाहीँ एकै सिफ्टमा ३० जनाभन्दा बढी आमाहरू सुत्केरी सेवा लिन आइपुग्छन् । जबकी लेबर वार्डमा १० वटा मात्रै बेडहरू छन् । अर्काेतिर अस्पतालमा नर्सहरू एक सिफ्टमा बढीमा चार जनामात्रै हुन्छन् । नर्सिङ निरीक्षक श्रेष्ठका अनुसार अस्पतालको लेबर वार्डका लागि १७ जना स्टाफ छन् । उनीहरूलाई तीन सिफ्टमा बाँडेर काम गर्नुपर्ने अवस्था हुन्छ । उनीहरूले सबै बिरामीहरूलाई समयमै सेवा दिन अप्ठ्यारो भइरहेको हुन्छ । यस्तो अवस्थामा बिरामीहरू आत्तिएर झर्किने, वादविवाद हुनेजस्ता समस्याहरू निम्तिरहेका छन् ।
यस्तै अवस्था पिएनसी वार्डको पनि छ । त्यहाँ त झन् जम्मा १२ जना स्टाफले काम गरिरहेका छन् । ३४ बेड क्षमता रहेको उक्त वार्डमा अहिले भुइँमै समेत बिरामीहरू राखेर सेवा दिनुपर्ने अवस्था आएको छ । प्रसूति रोग विशेषज्ञ डा. सुवेदी पछिल्लो दुई हप्तामा अप्रेसनमार्फत सुत्केरी गराउनुपर्ने बिरामीको सङ्ख्या पनि बढेको बताउँछन् । पहिले एक दिनमा करिब ६ जनासम्मको अप्रेशनमार्फत सुत्केरी गराउनुपर्ने रहेकोमा अहिले १२ जनासम्म पुग्ने गरेका छन् । अप्रेशनपछि सुत्केरीलाई राख्ने पोष्ट अपरेटिभ वार्डमा पनि अहिले बेड सङ्ख्या ६ बाट १२ पु¥याइएको छ । त्यसले पनि धान्न नसक्ने अवस्था देखिएको डा. सुवेदीले बताए ।
डा. सुवेदीले मेडिकल कलेजले आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालले एक्लै सुत्केरी सेवालाई धान्न सक्ने स्थिति नरहेको बताए । विशेषगरी अस्पतालको बेड सङ्ख्या बढाउनका लागि अहिले कुनै विकल्प नरहेको उनले बताए । यसका साथै जनशक्तिको व्यवस्थापन पनि चुनौतिपूर्ण हुन थालेको उनको भनाइ छ । पैसा तिर्न सक्ने केही बिरामीहरूलाई बेड नपाइएको भन्दै मेडिकल कलेज वा अन्य अस्पतालमा रिफर गर्नुपरिरहेको उनको भनाइ छ । ‘मेडिकल कलेजमा नियमित चलिरहेको आमा सुरक्षा कार्यक्रम बन्द गर्न हुँदैनथ्यो । यो आमा र शिशुको जीवनसँग जोडिएको विषय भएकाले सबैले संवेदनशीलता देखाउनुपर्छ । अहिलेको अवस्थामा भेरी अस्पताल एक्लैले चाप धान्न सक्ने अवस्था छैन,’ सुवेदीले भने ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले पनि पछिल्लो समयमा अस्पतालमा सुत्केरी हुन आउनेहरूको चाप बढेको विषयमा छलफल भइरहेको बताउँछन् । उनले सुत्केरी सेवाको तत्कालको व्यवस्थापनका सम्बन्धमा चाँडै निष्कर्ष निकालेर माथिल्ला सरकारहरूसमक्ष माग राखिने बताए । उनले आमा सुरक्षा कार्यक्रम हटेपछि सिर्जित समस्या अस्पतालको मात्रै नभएर सम्बद्ध सबैको चिन्ताको विषय हुनुपर्ने बताए । ‘हामीसँग सीमित स्रोत छ । हामीले मात्रै यो समस्या समाधान गर्न सक्ने अवस्था छैन । हामीले माथिल्ला सरकारसँग पनि आवश्यक सहयोग माग्नेबारे सोचिरहेका छौँ,’ उनले भने ।
अस्पतालको ढोकामा भुइँमा ओछ्याइएको बेडको छेउमा बसेका प्रकाशले आवश्यक प्रक्रिया मिचेर मेडिकल कलेजले कार्यक्रम सञ्चालन गर्न नचाहने र स्थानीय सरकारले पनि सहजीकरणको सट्टामा कार्यक्रम बन्द नै गर्ने वातावरण बनाउनु दुवै गल्ती भएको बताए । यसको मारमा आफूहरूजस्ता नागरिक परेको बताउँदै उनले सरकारलाई गम्भीर हुन आग्रह गरे । साथै, उनले भेरी अस्पतालको सुरक्षा व्यवस्थापनसमेत फितलो रहेको अनुभव सुनाए । ‘यहाँ नवजात शिशुहरू राख्ने कक्षभित्र बेवारिसे कुकुर ओहोरदोहोर गरिरहेका हुन्छन् । अस्पतालका सुरक्षा गार्डहरूले पनि सही तरिकाले सुरक्षा दिन नसकेको पाएँ । यस्ता कुरामा अस्पताल गम्भीर भइदिनुपर्छ ।’
मानवअधिकारकर्मी भोला महत चाप बढ्यो भन्दै सेवामा लापरबाही गर्ने वा बिरामी फिर्ता पठाउन सरकारी स्वास्थ्य संस्थाले नपाउने बताए । उनले भने, ‘वैकल्पिक उपाय लगाएर भएपनि अस्पताले सुत्केरीजस्तो सेवाको गुणस्तरलाई घट्न दिनुहुँदैन । यसमा भएका कमजोरीहरू सुधार्न कसको सहयोग चाहिन्छ जुटाएर समस्या समाधान गर्नुपर्छ ।’ महतले नेपालगन्ज मेडिकल कलेजले पनि नियमित रूपमा चलिरहेको कार्यक्रमलाई बन्द गर्न नहुने र नवीकरणमा प्रक्रिया पु¥याएर आउनु अनिवार्य रहेको बताए ।
‘कार्यक्रम बन्द गर्ने सवालमा मेडिकल कलेजले प्रक्रियाको पालना नगरेको भनेर कोहलपुरको मेयरले भन्नुभएको छ । त्यसो हो भने मेडिकल कलेजले प्रक्रिया पालना नगर्नु उसको लापरबाही हो । स्वास्थ्यजस्तो संवेदनशील विषयमा लापरबाही गर्न मिल्दैन,’ महतले भने । भेरी अस्पताल विकास समितिका पूर्वसदस्य एवं नागरिक समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले पनि अस्पतालले वैकल्पिक उपायहरू लगाएर भएपनि सुत्केरी सेवाको गुणस्तरमा सम्झौता गर्न नहुने बताए । उनले भने, ‘अस्पतालमा सबैभन्दा राम्रो सुविधा नवजात शिशु जन्मिने ठाउँमा हुनुपर्छ । अहिले भएका संरचनाहरूमा कहाँ सकिन्छ एड्जस्ट गरेर सुत्केरी सेवालाई प्रभावकारी बनाउनु पर्छ ।’
अस्पताल विकास समितिकी सदस्य किरण आचार्यले पनि सुत्केरी सेवामा बढेको चाप र त्यसले निम्त्याएको समस्याले आफूहरूलाई पनि चिन्तित बनाएको बताइन् । उनले अहिलेको परिस्थितिलाई कसरी सुधार गर्न सकिन्छ भन्ने बारेमा छिटै बैठक बसेर उपाय निकाल्ने पर्यत्नमा लागिरहेको बताइन् ।
मेडिकल कलेजले किन बन्द ग¥यो कार्यक्रम ?
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक रेशमबहादुर रानाले असार ३२ गते एक विज्ञप्ति जारी गरेर साउन १ गतेदेखि लागु हुनेगरी आमा सुरक्षा कार्यक्रम बन्द गरिएको बताएका थिए । उक्त विज्ञप्तिमा आमा सुरक्षा कार्यक्रमको लागि कोहलपुर नगरपालिकाले नवीकरण नगरेकाले कार्यक्रम रोकिएको भनिएको थियो ।
त्यसपछि कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले पत्रकार सम्मेलन गर्दै शिक्षण अस्पतालले प्रक्रिया नै पूरा नगरेका कारण कार्यक्रम नवीकरण गर्न नसकिएको बताए । उनले शिक्षण अस्पतालले आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्नै नचाहेको आरोप पनि लगाएका थिए । आमा सुरक्षा कार्यक्रम सञ्चालन स्वीकृति प्राप्त उक्त अस्पतालले आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका– २०७८ को परिच्छेद ६ अनुसार कम्तीमा तीन महिनाअगावै कार्यक्रम नवीकरणका लागि अनुसूची १३ बमोजिम दस्तावेजसहित स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखामा निवेदन पेस गर्नुपर्ने उल्लेख भएपनि उक्त प्रक्रिया पूरा नगरेको नगर प्रमुख आचार्यले बताएका थिए ।
‘निर्देशिकाअनुसार निवेदन प्राप्त भएको ३५ दिनभित्र अनुगमन गरी प्रतिवेदन पेस गरेको एक महिनाभित्र नवीकरण गर्नुपर्नेमा अस्पतालले यो सबै प्रक्रिया मिचेर २०८२ साल असार १३ मा मात्रै कोहलपुर नगरपालिकालाई नवीकरण सम्झौताका लागि पत्र पठायो’, नगर प्रमुख आचार्यको भनाइ छ ।
सतहमा प्रक्रियामा वादविवाद भएपनि मेडिकल कलेजले आमा सुरक्षा कार्यक्रमबाट फाइदा हुने नदेखेपछि बन्द गरेको बुझिएको छ । प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर राणाले पनि मिसन टुडेसँग भने, ‘मैले यस विषयमा बुझ्दा मेडिकल कलेजले आमा सुरक्षा कार्यक्रमको पैसा नपाएकोले बन्द गरेको भन्ने बुझेको छु ।’
प्रसूतिगृहको योजना अलपत्र
भेरी अस्पतालको गुरुयोजनामा अलग्गै प्रसूतिगृह बनाउने योजना छ । उक्त गृहका लागि डिपिआर समेत बनिसकेको छ । तर, सरकारले बजेटको व्यवस्था नगर्दा योजना अलपत्र परेको छ । अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले अब अस्पतालमा प्रसूतिगृह निर्माण गर्नु नै समस्याको दीर्घकालीन समाधानको उपाय हुने बताए । ‘अहिलेको संरचनामा बेडहरू थप्न सकिने र सेवा विस्तार गर्न सकिने अवस्था देखिन्न । नयाँ प्रसूतिगृह निर्माण गर्नु अपरिहार्य नै भैसकेको छ । त्यसका लागि बजेटको व्यवस्था गर्न यस क्षेत्रका जनप्रतिनिधिहरूले पहल गर्नुपर्ने देखिन्छ,’ उनले भने ।
अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले ४५ करोड बढीको लागत अनुमान गरेर डिपिआर बनाइए पनि प्रसूतिगृहको निर्माणका लागि बजेट नै व्यवस्था हुन नसक्दा योजना अघि बढ्न नसकेको बताउँछन् । आफूहरूको पर्यत्न पनि अलग्गै प्रसूतिगृह बनाउनेमै रहेपनि यसवर्ष पनि सरकारले बजेट नदिएको उनले बताए ।
प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर राणाले प्रसूतिगृह निर्माणका लागि आफूसहित अरु सांसदले पहल गरेपनि बजेट विनियोजन हुन नसकेको बताए । बजेटका लागि आफूले पहल गरिरहेको उनको दाबी छ । अप्रेसनलगायत सबै सेवा उक्त भवनबाटै दिने गरी अस्पतालको परिसरमै ३ कठ्ठा जमिनमा प्रसूतिगृह निर्माण गर्ने योजना रहेको छ ।









प्रतिक्रिया दिनुहोस्