मसालका महामन्त्री सिंह सार्वजनिक, पार्टी संरचना भूमिगत



श्यामलाल पोखरेल । बुटवल ।

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह पूर्णरूपले खुला वा सार्वजनिक हुने भएका छन् । लामो जीवनकाल भूमिगत, अर्धमूमिगत हुँदै आएका महामन्त्री सिंह अबदेखि पूर्णरूपले खुला र पार्टीको संरचना भने भूमिगत नै रहने सो पार्टीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी मसालको यही साउन ९ र १० गते काठमाडौँमा बसेको बैठकले महामन्त्रीलाई सार्वजनिक वा खुला गर्ने र पार्टीको संरचना भूमिगत नै राख्ने निर्णय भएको नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले मिसन टुडेलाई जानकारी गराएका छन् ।

यस अघिसम्म नेकपा मसालका केन्द्र जिल्लादेखि सबै तहका प्रवक्ताहरू खुला वा सार्वजनिक थिए । पार्टीको विज्ञप्ति केन्द्रको हकमा महामन्त्री र प्रवक्ताले निकाल्ने गरेका थिए । त्यस्तै जिल्लाहरूमा प्रवक्ताले पार्टीको विज्ञप्ति निकाल्ने सबै तहका प्रवक्ताहरू खुलारूपमा सभासमारोहमा बोल्ने गरेका थिए । नेपालमा नेपाल कम्युनिष्ट पार्टीका नेतामध्ये सबैभन्दा लामो समय भूमिगत भएर राजनीतिमा सक्रिय रहेका नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह मात्रै हुन् ।

२०२९ सालदेखि २०४६ सालसम्म पूर्णरूपले भूमिगत र २०४७ सालदेखि अर्धभूमिगत रहेका मोहनविक्रम २०८२ साल साउन ९ र १० गतेको बैठकपछि महामन्त्री खुला वा सार्वजनिक हुने भएका हुन् । पञ्चायती कालमा महामन्त्री मोहनविक्रम सिंहविरुद्ध वारेन्ट थियो र बहुदलिय व्यवस्था आएपछि सिंहको नाममा कुनै वारेन्ट नभएकाले पूर्णरूपले भूमिगत हुन नपरेको र पार्टीको निर्णयअनुसार अर्धभूमिगत रहेको पार्टी प्रवक्ता रामप्रकाश पुरीले बताए ।

प्रवक्ता पुरीका अनुसार नेकपा मसालले पहिलो पटक महामन्त्रीलाई खुला राख्ने निर्णय गरेको हो । मोहनविक्रमको हकमा मात्रै नभएर पार्टीले पार्टी प्रणालीभित्र महामन्त्रीलाई खुला वा सार्वजनिक गर्ने निर्णय गरेको हो । पार्टीले प्रवक्ताहरूलाई खुला गर्ने र महामन्त्रीलाई अर्धभूमिगत राख्ने नीति अपनाएको थियो, अब त्यो नीतिमा परिवर्तन गरिएको प्रवक्ता पुरीले बताए ।

पहिले फोटो खिच्न पनि नदिने र टेलिभिजनहरूमा पनि खुला हुन नदिने नीति अपनाएको नेकपा मसालले पछि तिनीहरूलाई क्रमशः खुला सार्वजनिक कार्यक्रममा नजाने तर आन्तरिक कार्यक्रमहरूमा सामेल हुन सक्ने नीति अपनाएको थियो । देशमा साम्राज्यवादका कारणले देशको राष्ट्रियता र सार्वभौमिकता बढ्दै गएको खतरा समेतका कारणले जनताका बीचमा गएर नै सार्वजनिक रूपले आफ्नो विचारहरू लैजानुपर्ने आवश्यकता भएकाले अर्धभूमिगत अवस्थाको ठाउँमा पार्टीको महामन्त्री सार्वजनिक नै हुनुपर्ने आवश्यकता देखेर पार्टीको केन्द्रिय समितिको बैठकले निर्णय गरेको बैठकपछि महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

बैठकले महामन्त्री सिंहले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको राजनीतिक प्रतिवेदनमा देशको वर्तमान स्थितिको मूल्याकंन गर्दै आगामी नीति वा कार्यक्रमबारे आवश्यक निर्णयहरू गरिएको सो पार्टीले जनाएको छ । बैठकले आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपविर्वाचनमा कसैसँग गठबन्धन वा चुनावी तालमेल नगर्ने र बद्रे आलमलाई उम्मेदवार बनाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पार्टीको नवौँ महाधिवेशनले त्यही प्रकारको नीति ठेगान गरेकाले २०८४ सालको चुनावमा पनि सोही नीति अनुशरण गर्ने पनि जनाइएको छ ।
मसालको केन्द्रीय समितिको बैठकले विश्वमा साम्राज्यवादी युद्ध गम्भीर हुनुका साथै विश्वशान्तिको प्रश्नमा गम्भीर खतरा उत्पन्न भएको ठहर गरेको छ । अमेरिकाले पहिले स्थगित गरेको एमसीसीलाई नेपालमा पुनः लागु गर्ने निर्णय गरेको र एमसीसीका पछाडिको उद्देश्य चीनका विरुद्ध घेराबन्दी गर्ने, तिब्बतमा दलाई लामालाई पुनस्र्थापना लागि त्यहाँ आक्रमण गर्न नेपालको भूमिलाई उपयोग गर्ने योजना रहेकोसमेत बैठकको निष्कर्ष रहेको छ ।

राजावादीहरूको गतिविधि केही शिथिल भएपनि प्रतिगिमनको खतरा कायमै रहेको र भारतका कट्टर हिन्दुवादीहरूले नेपालमा धर्मनिरपेक्षतालाई समाप्त गरेर हिन्दुराष्ट्र बनाउन राजतन्त्रको पुनस्र्थापनाका लागि पूर्वराजालाई उपयोग गर्ने वा राजावादीहरूलाई समर्थन गर्ने नीति अपनाएको नेकपा मसालको निष्कर्ष छ ।

देशको अस्थिर राजनीतिक स्थिति, सरकारका गलत नीति र क्रियाकलापहरूका कारण जनतामा असन्तोष, आक्रोश र निराशा बढ्दै गएकाले लोकप्रियतावादका कारण राजनीतिक पृष्ठभूमि नभएका कतिपय संगठनहरूले जनतामा भ्रम फैलाएर आफ्नो शक्ति बढाउन खोजेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १३ गते मंगलबार