सुर्खेत ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारको सुरक्षा तथा संरक्षणमा राज्यको भूमिका अनिवार्य भएको बताएका छन् । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आइतबार यहाँ आयोजित पत्रकार स्वास्थ्य बीमा पोलिसी हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री कँडेलले पत्रकारिता पेसा जोखिमपूर्ण मात्र नभई लोकतन्त्रको मेरुदण्ड भएको बताए ।
उनले भने, ‘पत्रकारिता सधैँ सत्य खोज्ने, जनताको आवाज बुलन्द पार्ने पेसा हो । यस्तो संवेदनशील र कठिन जिम्मेवारी निर्वाह गर्ने पत्रकारको सुरक्षामा राज्यको चासो र संरक्षण अपरिहार्य हुन्छ ।’ प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै राज्य र सञ्चारकर्मीबीच पारदर्शीता, आपसी सम्मान र सहकार्य आवश्यक रहेको मुख्यमन्त्री कँडेलको भनाइ थियो । स्वास्थ्य बीमा कार्यक्रमले पत्रकारको सुरक्षाप्रतिको राज्यको दायित्व बोध, लोकतान्त्रिक मूल्य र मानवअधिकारको पक्षमा सरकारको प्रतिबद्धता पूरा हुने उनले विश्वास व्यक्त गरे ।
कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका ६९३ जना क्रियाशील पत्रकारको स्वास्थ्य बीमा गरेको छ । यो कार्यक्रम नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको सहकार्यमा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत निःशुल्क रूपमा सञ्चालन गरिएको हो । स्वास्थ्य बीमा योजनाका लागि मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच सम्झौता भएको छ ।
बीमा कम्पनीका अनुसार पत्रकारले वर्ष रु ७० हजारसम्मको औषधोपचार सेवा लिन सक्नेछन् । कूल बीमा खर्च करिब रु १४ लाख रहेको मन्त्रालयले जनाएको छ । बिमित पत्रकारले बिरामी परेको ६० दिनभित्र वा अस्पतालबाट डिस्चार्ज भएको ३५ दिनभित्र बीमा कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति अध्यक्ष विष्णु शर्माले प्रदेश सरकारले पत्रकार तथा सञ्चारकर्मीको सुरक्षाप्रति देखाएको संवेदनशीलता र सक्रियतालाई ऐतिहासिक कदम भएको बताए । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, मन्त्रालयका कर्मचारी, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति, विभिन्न सञ्चार संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्