नन्दराम जैशी । सुर्खेत ।
सुर्खेतका नौ स्थानीय तहको अद्यावधिक बेरुजु रकम ३२९ करोड ३६ लाखभन्दा बढी पुगेको छ । महालेखा परीक्षकको आर्थिक वर्ष २०८०–०८१ को प्रतिवेदनअनुसार सुर्खेतका नौ स्थानीय तहको कूल अद्यावधिक बेरुजु रकम तीन अर्ब २९ करोड ३६ लाखभन्दा बढी पुगेको हो ।
आर्थिक वर्ष २०८१–०८२ को प्रतिवेदन आउन बाँकी छ । तर यहाँका स्थानीय तहमा बेरुजुमाथि बेरुजुको चाङ लाग्दै गएको छ । जिल्लाको चौकुने गाउँपालिकाको हालसम्मको अद्यावधिक बेरुजु ४५ करोड ३० लाख ३८ हजार पुगेको छ ।
आर्थिक वर्ष २०८०–०८१ मात्रै कूल एक अर्ब २८ करोड २९ लाख ३८ हजारको लेखापरीक्षण गर्दा नौ करोड १६ लाख २५ हजार बेरुजु देखिएको थियो । जसमा बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने ५५ लाख ९० हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ६ करोड ८० लाख ७६ हजार, नियमित गर्नुपर्ने एक करोड ६७ लाख चार हजार र पेस्की बाँकी बेरुजु १२ लाख ५५ हजार रहेको छ । गत वर्षसम्मको बाँकी ३६ करोड १४ लाख १८ हजार बेरुजुमध्ये पाँच हजार मात्रै फछ्र्यौट गरिएको छ ।
यता पञ्चपुरी नगरपालिकाको अद्यावधिक बेरुजु २८ करोड ९६ लाख ५६ हजार रहेको छ । आर्थिक वर्ष २०८०–०८१ मा एक अर्ब ६१ करोड १५ लाख ५९ हजारको लेखापरीक्षण गर्दा पाँच करोड ४८ लाख १३ हजार बेरुजु देखिएको थियो । जसमा १४ लाख ९२ हजार फछ्र्यौट भएको छ भने बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने २३ लाख ६६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने दुई करोड ४३ लाख ५२ हजार, नियमित गर्नुपर्ने एक करोड ३४ लाख १० हजार र पेस्की बाँकी एक करोड ३१ लाख ९३ हजार बेरुजु रहेको छ ।
यस्तै बराहताल गाउँपालिकाको अद्यावधिक बेरुजु २५ करोड २४ लाख ८६ हजार रहेको छ । आर्थिक वर्ष २०८०–०८१ मा एक अर्ब ४४ करोड ४९ लाख चार हजारको लेखापरीक्षण गर्दा तीन करोड ३८ लाख ९४ हजार बेरुजु देखिएको थियो । जसमा आठ लाख ६९ हजार फछ्र्यौट भएको छ भने बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने २२ लाख २ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ९१ लाख ५७ हजार, नियमित गर्नुपर्ने एक करोड ७५ लाख ५१ हजार र पेस्की बाँकी ४१ लाख १५ हजार बेरुजु छ ।
कर्णाली प्रदेश राजधानीमा रहेको वीरेन्द्रनगर नगरपालिकाको अद्यावधिक बेरुजु ८६ करोड १७ लाख ७ हजार पुगको छ । आर्थिक वर्ष २०८०–०८१ मा तीन अर्ब ८१ करोड २७ लाख ३० हजारको लेखापरीक्षण गर्दा १२ करोड तीन लाख १६ हजार बेरुजु देखिएको थियो ।बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने पाँच करोड ७२ लाख २० हजार, प्रमाण कागजात पेस गर्नुपर्ने एक करोड ३९ लाख ७ हजार, नियमित गर्नुपर्ने चार करोड ४६ लाख ४९ हजार र पेस्की बाँकी ४५ लाख ४० हजार बेरुजु रहेको छ । अघिल्लो वर्षसम्म ८० करोड ७७ लाख ६६ हजार बेरुजु बाँकी रहेकोमा गत वर्ष ६ करोड ६३ लाख ७५ हजार फछ्र्यौट भएको छ ।
यस्तो छ पूर्वी सुर्खेतका पालिकाको अवस्था
पुर्वी सुर्खेतका पाँच स्थानीय तहमध्ये लेकवेशी नगरपालिकाको अद्यावधिक बेरुजु ३० करोड ८१ लाख ४८ हजार पुगेको छ । आर्थिक वर्ष २०८०–०८१ मा एक अर्ब ५४ करोड ५२ लाख १५ हजारको लेखापरीक्षण गर्दा पाँच करोड ७३ लाख ९८ हजार बेरुजु देखिएको छ । जसमा ४७ लाख ६ हजारको बेरुजु फर्छर्यौट भएको छ ।
बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने ५० लाख ४० हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ९४ लाख २२ हजार, नियमित गर्नुपर्ने ८१ लाख ४९ हजार र पेस्की बेरुजु तीन करोड ८१ हजार रहेको छ । अघिल्लो वर्षसम्म ३३ करोड १८ लाख २१ हजार बेरुजु बाँकी रहेकोमा संपरीक्षणबाट सात करोड ६३ लाख ६५ हजार फछ्र्यौट भएको छ ।
त्यस्तै चिंगाड गाउँपालिकाको अद्यावधिक बेरुजु १४ करोड ७४ लाख ७५ हजार रहेको छ । आर्थिक वर्ष २०८०–०८१ मा ८८ करोड ७३ लाख ४७ हजारको लेखापरीक्षण गर्दा दुई करोड २१ लाख १२ हजार बेरुजु देखिएको छ । जसमा १० लाख दुई हजार फछ्र्यौट भएको छ भने बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने ४२ लाख ३१ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १५ लाख ७१ हजार, नियमित गर्नुपर्ने एक करोड ४५ लाख आठ हजार र पेस्की बेरुजु आठ लाख रहेको छ ।
भेरीगंगा नगरपालिकाको अद्यावधिक बेरुजु ४७ करोड ९० लाख ८१ हजार रहेको छ । एक अर्ब ६४ करोड २८ लाख ३२ हजारको लेखापरीक्षण गर्दा पाँच करोड ६८ लाख ५६ हजार बेरुजु देखिएको थियो । जसमा ४५ लाख २१ हजार फछ्र्यौट भएको छ भने बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने ३३ लाख २५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने दुई करोड ८० लाख ७५ हजार, नियमित गर्नुपर्ने ८८ लाख ६३ हजार र पेस्की बेरुजु एक करोड २० लाख ७२ हजार रहेको छ ।
अघिल्लो वर्षसम्म ४३ करोड ४२ लाख ५१ हजार बेरुजु रहेकोमा गत वर्ष ७५ लाख पाँच हजार फछ्र्यौट भएको थियो । यता गुर्भाकोट नगरपालिकाको अद्यावधिक बेरुजु १९ करोड ४७ लाख ११ हजार पुगेको छ । एक अर्ब ८४ करोड ६० लाख ८१ हजार लेखापरीक्षण गर्दा एक करोड १३ लाख ८२ हजार बेरुजु देखिएको हो । जसमा एक लाख ५७ हजार फछ्र्यौट भएको छ भने बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने तीन लाख ३८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ६ लाख ९० हजार, नियमित गर्नुपर्ने एक करोड एक लाख ९७ हजार रहेको छ ।
अघिल्लो वर्षसम्म २९ करोड ५० लाख १८ हजार बेरुजु बाँकी रहेकोमा संपरीक्षणबाट ११ करोड १८ लाख १७ हजार फछ्र्यौट भएको छ ।
जिल्लाको सिम्ता गाउँपालिकाको अद्यावधिक बेरुजु ३० करोड ७६ लाख २२ हजार रहेको छ । एक अर्ब ५१ करोड ९४ लाख, ९४ हजारको लेखापरीक्षण गर्दा पाँच करोड १९ लाख ३९ हजार बेरुजु देखिएको हो । बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने आठ लाख ७२ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने दुई करोड ३५ लाख २१ हजार, नियमित गर्नुपर्ने दुई करोड ९८ हजार र पेस्की बाँकी ७४ लाख ४८ हजार रहेको छ ।









प्रतिक्रिया दिनुहोस्