एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित



खजुरा ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल खजुराले एसईईमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थी तथा विद्यालयहरूका लागि बधाई तथा सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा विद्यार्थीहरूलाई नगदसहित प्याब्सन खजुराले सम्मान गरेको हो । प्याब्सन खजुराका अध्यक्ष गीता गोदार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा खजुराका स्मृति रानासहित ३१ जना विद्यार्थी सम्मानित भएका हुन् ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकको प्रमुख आतिथ्यमा सम्पन्न सम्मान कार्यक्रममा इसाका खजुराका पूर्वअध्यक्ष सतिश निरौलाले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । खजुरा गाउँपालिका अध्यक्ष विकले गत वर्षभन्दा यस वर्ष पालिकाको शैक्षिक नतिजा दोब्बर राम्रो भएको बताए । शिक्षामा नतिजा राम्रो ल्याउन पालिकाले बजेटदेखि अन्य समन्वय भूमिका निर्वाह गरेको उनले उल्लेख गरे ।

यसै परीक्षामा उत्तीर्ण विद्यार्थीहरूका लागि थप कक्षा खजुराकै विद्यालयहरूमा गुणस्तरयुक्त सञ्चालन भइरहेको समेत अध्यक्ष विकले बताएका थिए । खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले स्थानीय सरकारले शिक्षा विकासमा विशेष ध्यान दिएको उल्लेख गरिन् । खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले खजुरा प्रथम हुने अरुणोदय माविका स्मृति रानालाई पुरस्कार स्वरूप १० हजार छिट्टै एक समारोहको आयोजना गरी प्रदान गर्ने जानकारी दिए ।

अन्य उत्कृष्ट विद्यार्थीलाई ५ हजारका दरले पुरस्कृत गरिने शाखा प्रमुख मल्लले बताए । उनले विद्यार्थी तानातान गर्नुभन्दा पनि गुणस्तर सुधारतर्फ ध्यान दिन अनुरोध गरे । प्याब्सन लुम्बिनी प्रदेश सचिव राजेन्द्र आचार्यले शिक्षालाई हब बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । शुक्र मावि खजुराका प्रध्यानाध्यापक मोतिराम अधिकारीले खजुरामा सामुदायिक र संस्थागत विद्यालय बीचको सम्बन्धको दूरी लम्ब्याउन नहुने बताए। अहिले शिक्षाको नाममा दलाली गर्ने अभियान नै सञ्चालन हुने जस्तै गरी क्रियाकलाप भइरहेको हुँदा यस्तो नगर्न अनुरोध गरे ।

इसाका तथा प्याब्सन खजुराका पूर्वअध्यक्ष मित्रलाल सापकोटाले सरकारले निजी विद्यालयलाई पनी सामुदायिक विद्यालयसरह भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । प्याब्सन बाँकेका अध्यक्ष विकास कर्माचार्यले दिनरातको मेहनतले नतिजा राम्रो आएको बताए । खजुरामा गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालय रहेकाले बाहिर जान पर्ने बाध्यता नरहेको उल्लेख गरे ।

कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरूलाई कदरपत्रले सम्मानित गरिएको थियो । खजुरा गाउँपालिका–३ का वडाध्यक्ष पूर्णबहादुर भण्डारी, अरुणोदय बोर्डिङ हाइ स्कुलका प्रिन्सिपल ऋषिकेश जिसी लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ११ गते आइतबार