युवा संघ लुम्बिनीका अध्यक्ष खरेल कारबाहीमा



बुटवल ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा लागेका रुपन्देही देवदह निवासी राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष सुरज खरेल कारबाहीमा परेका छन् । संगठनले उनलाई कारबाहीस्वरुप निष्कासन गरेको छ । पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा सक्रिय हुने अभिव्यक्ति दिएपछि खुलेर विद्यादेवी भण्डारीको पक्षमा देखिएका खरेललाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा संगठनबाट एक वर्षका लागि निष्कासन गरिएको एमाले नेताले बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको साउन ९ गते शुक्रबार बसेको पदाधिकारीको बैठकले संगठनबाट निष्कासन गर्ने निर्णय गरेको हो । खरेल विद्यादेवी भण्डारीको पक्षमा बोलेपछि तत्कालै युवा संगठन नेपालले स्पष्टीकरण सोधेको थियो । खरेलले भौतिकरूपमा उपस्थित नभई इमेलमार्फत स्पष्टीकरण दिँदै आफूमाथि लगाइएको सबै आरोप अस्वीकार गरेका थिए । खरेलले सही प्रकारको स्पष्टीकरण नदिएपछि संगठनका सबै जिम्मेवारीबाट पदमुक्त तथा निष्कासन गरिएको बताइएको छ ।

राष्ट्रिय युवा संघका महासचिव रमेश चौलागाईले २०८२ साल जेठ ९ गतेदेखि ११ गतेसम्म संगठनको पोखरामा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनले संशोधन गरेको धारा ४१ र ४२ को ‘क’ र ‘ख’ बमोजिम संगठनका जिम्मेवारीबाट पदमुक्त तथा निष्कासन गरिएको जानकारी दिए । संगठनको कारबाहीमा परेका सुरज खरेलले आफू सही ठाउँमा हुँदाहुँदै पनि नियतवश गरिएको कारबाही गरिएको बताए ।

युवा संघ नेपालको महाधिवेशनमा सुमन पुरीलाई समर्थन गरेको र पार्टीका कुनैपनि नेताहरूलाई अभद्र व्यवहार नगरेको तथा आफूले सधैँ संगठनको हितमा काम गरेको उनले मिसन टुडेलाई प्रतिक्रिया दिए । पार्टीलाई एकीकृत तथा एकताबद्व बनाउने उद्देश्यले नेतृत्वको विकल्प खोजेको र त्यस विषयमा बोलेको उनले स्वीकार गरेका छन् ।

परिवर्तन र नेतृत्वको विकल्पबारे सामाजिक सञ्जालमा कुरा उठाउनु कुनै अपराध नभएको उनको तर्क छ । अब लगत्तै राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको बैठक बसेर यसबारे निर्णय गर्ने र पत्रकार सम्मेलन गरी जानकारी गराउने उनले बताए । ‘फरक मत राख्दैमा कारबाही गर्नु गलत हो । अलोकतान्त्रिक र गैरजिम्मेवारी हो । यसको म हटेर होइन डटेर सामना गर्छु ।’ उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ११ गते आइतबार