नेपालगन्जमा वीपी र पुष्पलालको योगदानको चर्चा



नेपालगन्ज ।

नेपालगन्जमा वीपी कोइराला र पुष्पलाल श्रेष्ठको योगदानको चर्चा गरिएको छ । शाश्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगन्ज बाँकेको आयोजनामा भएको विचार गोष्ठीमा बोल्ने वक्ताहरूले दुवैजना व्यक्तित्वको सरल जीवनशैली, राष्ट्रियताप्रतिको संवेदनशीलता र विदेशीको हेपाहा प्रवृत्तिविरुद्धको आत्मसम्मान सहितको अडान अहिले पनि अनुकरणीय रहेको बताएका थिए ।

कार्यक्रम वीपी कोइरालाको ४३औँ एवं पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष प्राडा जनार्दन आचार्यले जानकारी दिए । नेपाली राजनीतिमा दुवै ऐतिहासिक व्यक्तित्वको अतुलनीय योगदान रहेको वक्ताहरूको भनाइ थियो ।
कार्यक्रममा नेपालगन्जका बुद्धिजीवी, राष्ट्रसेवक कर्मचारी, साहित्यकार, प्राध्यापक, एवं पत्रकारहरू सहभागी थिए ।

विचार गोष्ठीमा नेपाली काँग्रेस बाँकेका पूर्वसभापति सनतकुमार रेग्मी, नेकपा एमाले बाँकेका पूर्वअध्यक्ष किस्मतकुमार कक्षपति, नेपाली काँग्रेस बाँकेका सचिव शुधांशु कोइराला, साहित्यकार हरि तिमिल्सिना र अधिवक्ता लोकबहादुर शाहलगायतले आआफ्ना धारणा राखेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ११ गते आइतबार