बर्दिया ।
गगनसिंह कुँवर फाउण्डेशन नेपालले शनिबार एक कार्यक्रमका बीच सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीलाई सन्देशमूलक होडिङ बोर्ड हस्तान्तरण गरेको छ । गेरुवाको शान्ति बजारमा भएको कार्यक्रममा फाउण्डेशनको सहयोगमा तयार पारिएका ७ वटा होडिङ बोर्ड इलाका प्रहरी कार्यालय पाताभारलाई हस्तान्तरण गरिएको हो ।
बजार क्षेत्रमा गति सीमित, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाऔँ, सवारी चलाउँदा गतिसँग होइन, सुरक्षासँग प्रतिस्पर्धा गरौँ, सवारीसाधन चलाउँदा हेलमेट र सिट बेल्ट सधैँ बाँध्ने गरौँ लगायतका सन्देशमूलक होडिङ बोर्ड हस्तान्तरण गरिएको थियो । सामाजिक कार्यमा सक्रियताका साथै सडक दुर्घटना न्यूनीकरण गर्न होडिङ बोर्ड निर्माणमा सहयोग गरेकोमा इलाका प्रहरी कार्यालय पाताभार बर्दियाले गगनसिंह कुँवर फाउण्डेशन नेपालका संरक्षक एवं प्रमुख सल्लाहकार तर्कबहादुर कुँवरलाई सम्मानपत्रले सम्मान गरेको छ ।
गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले होडिङ बोर्डले सडक दुर्घटनामा न्यूनीकरण गर्ने विश्वास व्यक्त गरे । ‘फाउण्डेशनले सामाजिक कार्य गर्दै आइरहेको देखेको छु । आगामी दिनमा यसरी निरन्तर सामाजिक कार्य गर्नेमा आफू विश्वस्त छु ।’ अध्यक्ष केसीले भने, ‘यस क्षेत्रमा फाउण्डेशन स्थापना भई उदाहरणीय कार्य गरेकोले पालिकाबाट फाउण्डेशनलाई आवश्यक सहयोग गर्न हामी तयार छौँ ।’ इप्रका पाताभारका वरिष्ठ प्रहरी नायब निरीक्षक गणेशबहादुर सिंहले फाउण्डेशनको कामले आफूहरू उत्साहित भएको बताए ।
उनले कार्यालयले दुर्घटना बढी हुनसक्ने जोखिमयुक्त सडकको किनारामा सचेतनामूलक बोर्ड राखिने बताए ।फाउण्डेशनका संरक्षक एवं प्रमुख सल्लाहकार कुँवरले सचेतनामूलक अभियानले दुर्घटना न्यूनीकरणका लागि मद्दत पुग्ने विश्वासका कारण होडिङ बोर्ड हस्तान्तरण गरिएको बताए । ‘बजार क्षेत्रमा चालकहरूलाई गति सीमित गर्न सचेतना प्रदान गर्ने गरी बोर्ड तयार पारिएको छ ।’ उनले भने, ‘यसका लागि पनि सचेतना फैलाउनु जरुरी भएकाले बजार क्षेत्रमा गति सीमित लेखेर बोर्डहरू तयार पारिएको छ ।’









प्रतिक्रिया दिनुहोस्