भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको सात वर्ष पूरा भएको छ । पोष्टमार्टम रिपोर्टले निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि गरेको थियो । तर, निर्मला पन्तको बलात्कार र हत्या घटनामा संलग्न भने पत्ता लगाउन भने प्रहरी असफल भएको छ ।

शेरबहादुर ऐर । कैलाली ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको सात वर्ष पूरा भएको छ । १० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । पोष्टमार्टम रिपोर्टले निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि गरेको थियो ।
तर, निर्मला पन्तको बलात्कार र हत्या घटनामा संलग्न भने पत्ता लगाउन भने प्रहरी असफल भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घटनाको अनुसन्धानका क्रममा हालसम्म ६५५ जनासँग विस्तृत रूपमा सोधपुछ भएको छ । घटनामा शंकास्पद मानिएका एक सय २४ जनाको डीएनए परीक्षण पनि भइसकेको छ । तर, कसैको डीएनए पनि मेल नखाएपछि निर्मला घटनाले प्रहरीको छवी नै धुमलिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहरा निर्मलाको बलात्कार र हत्या घटनाको अनुसन्धान अहिले पनि भइरहेको बताउँछन् ।
‘सो घटनाका लागि छुट्टै टोली परिचालन गरेर अनुसन्धान नभएपनि सुक्ष्म ढंगले काम भइरहेको छ,’ डीएसपी बोहराले भने, ‘घटनाबारे केही नयाँ जानकारी आयो भने टोली परिचालन हुन्छ । शंकास्पदसँग सोधपुछ हुन्छ ।’ प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रमुख डीआइजी डम्मरबहादुर विकपनि निर्मला पन्त घटनाको अनुसन्धानका लागि अहिले छुट्टै टोली नरहेको बताउँछन् । ‘प्रदेश र जिल्लाबाट छुट्टै टोली परिचालन गरिएको छैन,’ डीआइजी विकले भने, ‘केन्द्रबाटै घटनाको अनुसन्धान भइरहेको छ ।
यद्यपी प्रदेश र जिल्लाले पनि सुक्ष्म ढंगले काम भने गरिरहेको छ ।’ पछिल्लोपटक घटनाको अनुसन्धानको लागि २०८१ चैतमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको दुई सदस्यीय टोली महेन्द्रनगरमा पुगेको थियो । चैतमा दीपक थापा नेपाल प्रहरीको ३१औँ महानिरीक्षक बनेपछि उक्त टोली घटनाको अनुसन्धानका लागि परिचालन भएको थियो । तर, उक्त टोलीले पनि नयाँ क्लु फेला पार्न सकेन ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रमुख तथा प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्र कुवेर खापुङ निर्मला घटनाको अनुसन्धान अहिले पनि सीआइबीले गरिरहेको बताउँछन् । ‘अपराध घटनामा अनुसन्धान नसक्दासम्म नतिजा शून्य जस्तै देखिन्छ,’ एआइजी खापुङले भने, ‘अनुसन्धान सकिएपछि शून्यबाट सिधै सत प्रतिशत पुग्ने हो । निर्मला घटनामा पनि अहिले प्रगति शून्य जस्तै छ । घटनाबारे मिडियालाई दिन केही नयाँ नभए पनि हामीले घटनाको गम्भीर ढंगले अनुसन्धान गरिरहेका छौँ ।’
यस्तो थियो घटना
२०७५ साउन १० गते भीमदत्त नगरपालिकास्थित उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्त साथीको घर गएकी थिइन् । १० साउनमै बेपत्ता भएकी निर्मलाको खोजी सुरु भयो । भोलिपल्ट घरभन्दा एक किलोमिटर टाढा उखुबारीमा उनको शव फेला प¥यो । निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट आयो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलिपसिंह बिष्टलाई अभियुक्तका रूपमा सार्वजनिक ग¥यो । स्थानीयले बिष्ट दोषी नभएको भन्दै आन्दोलन सुरु गरे । डीएनए म्याच नभएपछि बिष्ट पनि छुटे । नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप प्रहरीमाथि लाग्यो । निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भयो ।
भदौ ७ गते गृह मन्त्रालयले तत्कालीन सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन टोली गठन गयो । उक्त टोलीले प्रहरीले प्रमाण नष्ट गरेको भन्दै सरकारलाई प्रतिवेदन बुझायो । प्रहरीले प्रमाण नष्ट गर्नुको कारणसहित अध्ययन गर्न तत्कालिन एआइजी धिरु बस्न्यातको संयोजकत्वमा छानबिन टोली गठन गयो । उक्त टोलीको प्रतिवेदनअनुसार तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई भविष्यमा अयोग्य नहुनेगरी बर्खास्त गरियो ।
डीएसपी अंगुर जिसी र ज्ञानबहादुर सेठीलगायत छ जना प्रहरीलाई निलम्बन गरियो । विभागीय कारबाहीमार्फत बर्खास्त भएका तत्कालीन एसपी बिष्टसहितका प्रहरीले अदालतबाट सफाई पाए । सफाइपछि जागिरमा फर्किएका एसपी बिष्ट एसएसपीमा बढुवा हुँदै अहिले सेवा निवृत्त भइसकेका छन् ।









प्रतिक्रिया दिनुहोस्