विद्यादेवी भण्डारीको पत्रकार सम्मेलनः ‘पार्टी सदस्यबाट वञ्चित गराउने निर्णय वैध र परिपक्व छैन’



शुक्रबार पत्रकार सम्मेलन गर्दै नेकपा एमालेकी पूर्व उपाध्यक्षसमेत रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को सदस्यबाट वञ्चित गराउने निर्णयले दुःखित तुल्याएको बताइन् । उनले आफूलाई कुनै पदप्रति लालसा, महत्वाकाङ्क्षा र आशक्ति नभएको प्रष्ट पारिन् । पत्रकार सम्मेलनमा भण्डारीले आफ्नो अबको उद्देश्य पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीतिमार्फत देश र जनताको सेवा गर्ने रहेको बताइन् ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

नेकपा एमालेकी पूर्व उपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकबाट आफूलाई पार्टी सदस्यबाट वञ्चित गराउने गरी भएको निर्णय वैध र परिपक्व नभएको दावी गरेकी छन् । नेकपा एमालेकी पूर्व उपाध्यक्षसमेत रहेकी भण्डारीले पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुनेगरी गरिएको निर्णय वैध र परिपक्व हुनै नसक्ने दावी गरेकी हुन् ।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन वा नियन्त्रण हुने गरी गरिएका अपरिपक्व निर्णयले आफूलाई दुःखित तुल्याएको बताइन् ।

जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात गरेको सन्दर्भमा सिद्धान्तको प्रतिकूल हुने गरी पार्टी सदस्य हुनबाट आफूलाई बञ्चित गर्नुपर्ने कुनै कारण नभएको उनले प्रष्ट्याइन् । उनले भनिन्, ‘म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३५ वर्ष भइसकेको थियो । अहिले पार्टी सदस्य भएको ४५ वर्ष बितिसकेका छन् । त्यसैले, पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदाहुँदै मलाई पार्टी सदस्य हुनबाट बञ्चित गर्न कदापी मिल्दैन ।’

भण्डारीका अनुसार नेपालको संविधान, ऐन कानुन र पार्टीको लोकतान्त्रिक मूल्यमान्यता समेतलाई नजरअन्दाज गरेर राजनीतिमा संलग्न हुन पाउने अधिकारबाट कसैले वञ्चित गराउन सक्दैन । पत्रकार सम्मेलनमा सम्बोधनको क्रममा भण्डारीले भनिन्, ‘यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ । आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिएता पनि वास्तविकतालाई सधैँ छोप्न सकिँदैन ।’

राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन–मनन गर्दै आएको उनको भनाइ छ । आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउने र नबढाउने भन्ने विषयमा उपयुक्त समयमा जानकारी गराउने कुरा गर्दै आएको भन्दै पूर्वराष्ट्रपति पार्टीमा आबद्ध बनेर नै अगाडि बढ्ने टुङ्गोमा पुगेरै पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेको उनले दावी गरिन् ।

भण्डारीले भनिन्, ‘मैले यो विषय सार्वजनिक नगरिरहेकै अवस्थामा पार्टी कार्यालय, नेता, कार्यकर्ता र शुभेच्छुकको हवाला दिँदै मेरो पार्टी सदस्यता नवीकरणका बारेमा सञ्चार माध्यमले बाहिर ल्याए । अब यस्तो परिवेशमा मेरो पार्टी सदस्यता नवीकरणको विषयमा चुपचाप रहनु उपयुक्त हुँदैनथ्यो । सदस्यता नवीकरण गर्नुको औचित्य पनि नेकपा ‐एमाले)मा आबद्ध भएर अगाडि बढ्नु नै थियो ।’ भण्डारीले २०८२ साल असार १४ गते जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा आफूले नेकपा ‐एमाले)को सदस्यता नवीकरण गरेको सार्वजनिक गरिकन पार्टी परिवारको सदस्य भएर राजनीतिमा क्रियाशील हुने संकल्प गरेको स्मरण गराइन् ।

आफूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको पछिल्लो भेटमा आफूले विधिसम्मत ढंगले पार्टी सदस्यता नवीकरण गरेको र यसकै आधारमा पार्टीमा आवद्ध भएर कार्य गर्ने विषयमा समेत छलफल गरेको जानकारी दिइन् । आफूले पार्टी अध्यक्षसँग छलफल गरेको भोलिपल्ट पार्टी केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नगरेको कुरा पार्टीले गरेका निर्णयहरूबारे जारी गरेको भन्दै पार्टी सदस्यता नवीकरण भैसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै नभएको उनको भनाइ छ ।

‘म एक राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय होइन । यो संवैधानिक अधिकार मात्र होइन, बरु म राजनीति गरेर, पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ र आफ्नो बाँकी जीवन पनि राजनीतिमा लगाएर नै देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हुँ,’ सम्बोधनको उनले भनिन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १० गते शनिबार