प्रहरीद्वारा अवैध कपडा र सुर्ती बरामद



नेपालगञ्ज, ७ मंसिर/  जिल्ला प्रहरी कार्यालय बाँकेले अबैध रुपमा लुकाई छिपाई भण्डारण गरेको ठुलो परिमाणको सुर्ती तथा कपडा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष प्रहरीको टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोजी स्थित गोमती गोडिया, सवरा काँदु, मिना काँदु र नकछेद गोडियाको घरबाट झण्डै एक ट्रक बराबरको लत्ता कपडा र सुर्ती बरामद गरेको प्रहरीले जनाएको छ ।

भन्सार छली भण्डारण गरी राखिएकोे सूचनाको आधारमा सो सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यति ठुलो परिमाणको कपडा पहिलो पटक बरामद भएको प्रहरीले जनाएको छ ।

सुचनाका आधारमा छापा मार्ने क्रममा अन्दाजी १० देखि १५ लाख सम्मको लत्ता कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक लक्ष्मण बहादुर शाहीले जानकारी दिए ।

बरामद गरिएको लत्ता कपडा आवश्यक अनुसन्धान पछि आन्तरीक राजश्व क्षेत्रीय कार्यालय कोहलपुरमा बुझाईने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बरामद भएका लत्ता कपडा भण्डारण गर्ने व्यक्ति हाल फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ७ गते बिहीबार