शारदा ब्यारेजमा १० टनभन्दा बढीको मालबाहक सवारीसाधन आवतजावत गर्न नदिनु, सीमित समयका लागि पुल खोल्नुलगायत कारणले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेको भन्सार कार्यालयमा निर्यात शून्य रहेको छ ।
कञ्चनपुर ।
देशको पश्चिमी क्षेत्रमा रहेको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीबाट निर्यात शून्य रहेको छ । कोरोना महामारी अघिसम्म न्यून मात्रामा भए पनि यहाँबाट घ्यू र हातले बनाएका सामग्री निर्यात हुने गरेको थियो । पछिल्ला वर्षमा यो नाका भएर निर्यात हुन छाडेको कञ्चनपुर भन्सार कार्यालयका प्रमुख राजनबाबु काफ्लेले बताए । शारदा ब्यारेजमा १० टनभन्दा बढीको मालबाहक सवारीसाधन आवतजावत गर्न नदिनु, सीमित समयका लागि पुल खोल्नुलगायत कारणले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेको भन्सार कार्यालयमा निर्यात शून्य रहेको उनले दाबी गरे ।
‘कोरोना अघिसम्म थोरै भए पनि निर्यात हुन्थ्यो, अहिले नगन्य मात्रामा छ, शून्य जस्तै छ’, भन्सार कार्यालयका प्रमुख काफ्लेले भने । उनका अनुसार यो नाका सानो भएका कारण आयातबाट समेत लक्ष्यअनुसारको राजस्व संकलन हुन सकेको छैन । गत आर्थिक वर्ष २०८१–८२ मा लक्ष्यको ८० प्रतिशत मात्रै राजस्व संकलन भएको छ । ‘गत वर्षको तुलनामा यसवर्ष रु पाँच करोड ७७ लाख राजस्व बढी उठाएका छौँ’, उनले भने, ‘यो भन्सार कार्यालयको राजस्व संकलन गर्ने क्षमता रु ५४ करोड मात्रै हो, भन्सार विभागले हरेक वर्ष राजस्व संकलनको लक्ष्य बढाउँदै जाँदा त्यसअनुसार राजस्व संकलन गर्न सकिँदैन ।’
उनका अनुसार गत आर्थिक वर्ष २०८१–०८२ मा रु ७४ करोड पाँच लाख ५९ हजार राजस्व संकलनको लक्ष्य रहेकामा रु ५९ करोड ७७ लाख ५८ हजार मात्रै राजस्व असुल भएको छ । ‘शारदा ब्यारेज पुरानो र जीर्ण भएका कारण एकतर्फी तथा सीमित समयका लागि खुल्ने गर्छ र एक चोटीमा १० टनभन्दा बढी सामान ल्याउन दिँदैन ।’ भन्सार प्रमुख काफ्लेले भने, ‘यहाँबाट व्यापारीले सिधँै मालबाहक सवारीसाधन ल्याउन सक्दैनन्, जसका कारण ठाउँठाउँमा लोड अनलोडमा लागत बढ्छ, यसले गर्दा पनि अन्य यो नाकाबाट ठूलो मात्रामा आयात हुँदैन ।’
भन्सार प्रमुख काफ्लेका अनुसार राजस्व विभागले पनि कुनै अध्ययनबिना हरेक वर्ष लक्ष्य मात्रै बढाउने गरेका कारण पनि लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको हो । उनका अनुसार कञ्चनपुर भन्सार कार्यालयलाई आर्थिक वर्ष २०७८–०७९ मा रु ५२ करोड राजस्व संकलनको लक्ष्य राखेकामा रु ४६ करोड मात्रै राजस्व संकलन भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७९–८० मा रु ५८ करोड राजस्व संकलनको लक्ष्य राखेकामा रु ४२ करोड मात्रै राजस्व संकलन भएको थियो ।
सुदूरपश्चिममा व्यापारिक नाका नै नभएका कारण यहाँ राजस्व संकलन हुन नसकेकोव्यवसायी बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले सरकारले हरेक वर्ष राजस्व संकलन गर्ने लक्ष्य मात्रै बढाउने गरेका कारण राजस्व संकलनमा कमी आएको बताए । ‘सुदूरपश्चिममा व्यापारिक नाका छैन, पश्चिमी नाका गड्डाचौकी सानो नाका हो, शारदा ब्यारेज सीमित समयका लागि मात्रै खुल्छ ठूलो मात्रामा व्यवसायीको सामान आउँदैन’, उनले भने, ‘अहिले व्यापार व्यवसायमा कमी आएको छ, सरकारले राजस्व संकलनको लक्ष्य बढाएका कारण लक्ष्यअनुसार राजस्व संकलन हुनसक्दैन ।’
कैलाली भन्सारद्वारा साढे आठ अर्ब राजस्व संकलन
कैलाली भन्सार कार्यालयको राजस्व असुल चार वर्षपछि सुधार भएपनि लक्ष्य भेटाउन सकेको छैन । त्रिनगर भन्सार नाकाबाट आयात र निर्यात हुने मालवस्तु आयात बढेसँगै उक्त कार्यालयबाट संकलन हुने भन्सार राजस्व बढेपनि लक्ष्य भेटाउन नसकेको हो । २०७८–०७९ बाट भन्सार राजस्व असुली निरन्तर ओरालो लाग्दै गएकोमा गत आव २०८१–०८२ बाट बढ्न थालेको थियो ।
गत आर्थिक वर्षमा २०८०–०८१ को भन्दा ७५ करोड १७ लाख ३२ हजार रूपैयाँँले बढी भन्सार राजस्व संकलन भएको हो । भन्सार कार्यालय कैलालीको तथ्यांकअनुसार गत आवमा आठ अर्ब ६६ करोड ९८ लाख रूपैयाँँ संकलन भएको थियो । आव २०८०–०८१ मा सात अर्ब ९१ करोड ८० लाख ६८ हजार रूपैयाँँ संकलन भएको थियो । आव २०७९–८० आठ अर्ब २९ करोड ६३ लाख एक हजार रूपैयाँँ असुल भएको कैलाली भन्सार कार्यालयले जनाएको छ ।
११ अर्ब १६ करोड २६ लाख ३० हजार संकलन गर्ने लक्ष्य पाएको भन्सार कार्यालयले ७७.६७ प्रतिशत संकलन गरेको हो । कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत तेज रावलले आयात बढेको हुँदा राजस्व संकलन समेत बढेको बताए । अघिल्ला आर्थिक वर्षको भन्दा बढि नै मालवस्तुहरू आयात भएको बताउँदै उनले चोरी पैठारी नियन्त्रणमा कडाई गरिएको पनि भन्सारबाट आयात बढेको बताए ।
आव २०८०–८१ मा ११ अर्ब ५६ करोड २४ लाख ७० हजार संकलन गर्ने लक्ष्य राखिएकोमा ६८.३६ प्रतिशत, आव २०७९–८० को तुलनामा ३७ करोड ८२ लाख ३३ हजार कम संकलन भएपछि राजस्व संकलनको लक्ष्य पनि घटाइएको थियो । आव २०७९–८० मा १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार रूपैयाँँ राजस्व संकलन गर्ने लक्ष्य लिइएको थियो ।
यसैगरी, आव २०७८–७९ मा ११ अर्ब ७२ करोड ३९ लाख १७ हजार रूपैयाँँ राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा नौ अर्ब ५८ करोड २६ लाख ५० हजार रूपैयाँँ भन्सार राजस्व असुल भएको थियो । आव २०७८–७९ भन्दा आव २०७९–८० मा एक अर्ब २८ करोड ६३ लाख ४९ हजार रूपैयाँँ कम राजश्व संकलन भएको थियो । गत आवमा राजस्व संकलन बढेपनि लक्ष्य पूरा नभएकोले भन्सार विभागले कैलाली भन्सार कार्यालयलाई चालू आवमा घटाएर नौ अर्ब ७१ करोड १५ लाख छ हजार रूपैयाँँको लक्ष्य दिएको छ ।









प्रतिक्रिया दिनुहोस्