धार्मिक सद्भाव भड्काउन खोजिएको भन्दै ध्यानाकर्षण



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर–४ स्थित किरणनाला नजिकै सार्वजनिक जग्गा अतिक्रमण गरी अनाधिकृत रूपमा निर्माण गर्न लागिएको संरचना भत्काइएको विषयमा केही युट्युब च्यानल र सामाजिक सञ्जालमा प्रकाशित÷प्रसारित भ्रमपूर्ण सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकाको स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दिष्ट गरेको अधिकार अनुसार सार्वजनिक, ऐलानी तथा प्रतिजग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने दायित्व स्थानीय सरकारको भएको भन्दै अधिकार क्षेत्रभित्र रहेको कार्य गर्दा सामाजिक तथा धार्मिक सद्भाव भड्काउन खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

नगर प्रवक्ता नमबहादुर आलेद्वारा हस्ताक्षरित विज्ञप्तिमा नगरपालिकाले कोहलपुर–४ किरण नाला नजिकै कि.नं.७७ को सार्वजनिक जग्गा अतिक्रमण गरी अनाधिकृत रूपमा संरचना निर्माण गर्न लागेको भत्काइएको उल्लेख गरिएको छ । नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पूर्वपश्चिम राजमार्गसँग जोडिएको उक्त सार्वजनिक जग्गा अतिक्रमण गर्ने उद्देश्यले स्थानीय टिका शाही र गंगा शाहीले सिमेन्ट र इट्टाले जाडन गरेर स्थानीय तहसँग कुनै पनि स्वीकृत नलिई संरचना निर्माण गरिएका स्थानीयको उजुरी पश्चात नगर प्रहरी घरमा पुगेको थियो ।

तर, संरचना नबनाउन पटकपटक लिखित तथा मौखिक रूपमा आग्रह गर्दा पनि निर्माण गरेपछि नगर प्रहरी उक्त स्थानमा पुगेको थियो ।’
सार्वजनिक जग्गामा संरचना नबनाउन लिखित तथा मौखिक रूपमा पटकपटक शाहीलाई आग्रह गर्दा अटेर गरी निर्माण कार्य जारी राखेपछि २०८२ असार २४ गते नगर प्रहरीको टोलीले उक्त संरचना भत्काएर निर्माण कार्य रोकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वि.स २०७७ साल असार २९ गते कोहलपुरका राजनीतिक दल सम्मेलित सर्वदलीय बैठकले उक्त सार्वजनिक जग्गा भूमाफिया कब्जाबाट सुरक्षित गराउन कोहलपुर नगरपालिकालाई ध्यानाकर्षण गराएको स्मरण गराउँदै सोही सालको साउन २ गते कोहलपुरका स्थानीय बुुद्धिजीवी तथा नागरिक समाजले तत्कालीन उपप्रधानमन्त्री तथा रक्षामन्त्रीलाई ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ । यस्तै २०८१ मंसिर ५ गतेपनि सार्वजनिक जग्गामा अनाधिकृत संरचना नबनाउन लिखित रूपमै आग्रह गरिएको जनाइएको छ ।

तर, सार्वजनिक जग्गा अतिक्रमण गर्ने उद्देश्यले संरचना बनाउने कार्य नरोकिएपछि नगर प्रहरीले रोक लगाएको विज्ञप्तिमा स्पष्ट पारिएको छ ।
‘यसै विषयलाई लिएर केही युटुब च्यानल र सामाजिक सञ्जालमा धार्मिक सद्भाव खलबलिने गरेर भिडियोहरू सार्वजनिक गर्ने र स्टाटस् लेख्ने गरेको भन्दै खेद प्रकट गर्दछौँ । यस्ता भ्रमित सामग्री प्रति कुनै विश्वसनीयता नभएको र यस प्रकारका तथ्यहीन र भ्रमित सामग्रीपछि नलाग्न आग्रह गर्दछौँ,’ नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मुबाकर अलि गुजर र उनको धर्मलाई जोड्नु अत्यन्तै निन्दनीय कार्य भएको जनाइएको छ । कोहलपुरको जस्तो बहुधार्मिक, बहुसाँस्कृतिक र बहुजातीय समाज रहेकाले धार्मिक सद्भावलाई कायम राख्ने कोहलपुरवासीको दायित्व रहेकाले धार्मिक तथा सामाजिक सद्भाव भड्काउन खोज्ने जो कोहीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रबार