कोहलपुर, ७ मंसिर/ कोहलपुर नगरपालिका–३ मदनचोक फुलबारी टोलका वासिन्दाहरुले कुनै पनि राजनीतिक दलले आफनो टोलका समस्याहरु समाधान गर्ने लिखित प्रतिवद्धता नजनाएसम्म प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा भोट नहाल्ने निर्णय गरेका छन् ।
राजनीतिक दलहरुले पटक पटक समस्या हल गर्ने आश्वासन दिएपनि चुनाव सम्पन्न पश्चात फर्केर नआउने हुँदा आफूहरुले यस्तो निर्णय गर्न वाध्य भएको बताएका छन् ।
मंगलबार बैठक बसी समाज विकास तथा सुधार समिति मार्फत लिखित रुपमा आफ्ना मागहरु पुरा गर्ने उम्मेदवारलाई मात्र सो टोलका ६२ घरधुरीले मतदान गर्ने निर्णय गरिएको समितिको अगुवाई गरिरहेका लिलाराम भट्टराई (अटल) ले बताएका छन् ।
आफ्नो माग सम्वोधन नभएमा मतदान गर्ने दिन मंसिर २१ गते सो टोलका सबै मतदाताहरु सामुहिक भोज कार्यक्रममा हुने र मतदान बहिष्कार गर्ने बताएका छन् ।
उनीहरुले पेश गरेका मागहरु २ वर्षभित्र निःशुल्क लालपूर्जा वितरण गर्नुपर्ने, टोलमा नाला व्यवस्थापन र पानीको निकास गर्नुपर्ने, विद्युत पोल जडान र फोरफेज लाइन तान्नु पर्ने, सार्वजनिक पुस्तकालय स्थापना गर्नुपर्ने, एक वर्षभित्र १ घर एक रोजगारको व्यवस्था गर्नुपर्ने र २ वर्ष प्रत्येक घरमा शुद्ध पानीको व्यवस्था हुनुपर्ने रहेका छन् ।
उनीहरुले विभिन्न पार्टी र २१ गते हुने प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरुलाई समेत आफ्नो मागबारे ध्यानाकर्षण पत्र पठाएको बताएका छन् ।
तर यसबारे बाँके क्षेत्र नं.१ वाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश्वर गहतराज र १ ‘ख’ प्रदेश सभाका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नारायाण गौडेलले सो मागबारे आफूहरुलाई कुनै जानकारी नआएको बताउँदै त्यसबारे बुझ्ने जानकारी गराए ।
वाम गठबन्धनकी प्रदेश सभा १ ‘ख’ उम्मेदवार आरती पौडेलले टोलवासीका मागबारे आफूलाई जानकारी भएको र सबैसँग सल्लाह गरेर मात्र धारणा सार्वजनिक गर्ने बताइन् ।








प्रतिक्रिया दिनुहोस्