सुदूरपश्चिम ।
भोट बैतडीका नेतालाई दिए पनि जग्गाको मालपोत तिर्न डडेलधुरा जिल्ला धाउनुपर्ने बाध्यता विशालपुरवासीले भोग्दै आएका छन् ।
बैतडीको मेलौली नगरपाकिला–८ को सिङ्गो वडाका पाँच सयभन्दा बढी घरपरिवार २०३२ सालदेखि जग्गाको मालपोत कर तिर्न डडेलधुरा धाउँदै आएका छन् । तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका–८ मा पर्ने साबिकको विशालपुर गाविसका ३, ४, ५ र ६ नम्बर वडाका घरपरिवार जग्गाको मालपोत कर डडेलधुराको भागेश्वर गाउँपालिका–३ को वडा कार्यालयमा बुझाउँदै आएको वडा अध्यक्ष तपेन्द्र विष्टले बताए।
गणतन्त्र आइसकेपछि स्थानीय तहको पुनर्संरचना हुँदा पनि यो झन्झट कायमै रहेको स्थानीयवासीले दुखेसो पोखेका छन् । वडावासीको मतदाता नामावली बैतडीमै छ । हरेक निर्वाचनका बेला बैतडीकै उम्मेदवारलाई भोट दिँदै आए पनि जग्गाको कर र कारोबारका लागि डडेलधुरा धाउनुपर्ने बाध्यता रहेको मेलौलीका स्थानीय युवा महेशदत्त भट्टले गुनासो गरे ।
त्यो गुनासो लिएर स्थानीय पीडितहरू आफ्नो जनप्रतिनिधि बैतडीको प्रदेश सभा ‘ख’ बाट निर्वाचित शिवराज भट्टलाई लिएर काठमाडौँ गएका छन् । मेलौलीका स्थानीय नगरपालिकाको सिफारिससहित प्रदेश सभा सदस्यलाई लिएर उनीहरू सङ्घीय राजधानी काठमाडौँ पुगेका छन् ।
उनले यो पटक गृहमन्त्री रमेश लेखकलाई भेटेर यहाँको बस्तुस्थितिबारेमा जानकारी गराएको बताए । प्रदेश सभा सदस्य भट्टलाई साथमा राखेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएको उनले बताए ।
मालपोतको स्रेस्ता बैतडीमा कायम गरिदिन मुख्य माग रहेको उनले बताए । बैतडीकै भूगोलमा बसेर पनि वडाको लालपुर्जाको स्रेस्ता डडेलधुराको भएका कारण विशालपुरका किसानले कर तिर्न, कृषि फर्म दर्ता गर्न, चार किल्ला प्रमाणित गर्न झन्झट बेहोर्नु परेको उनको गुनासो छ । २०३२ सालमा डडेलधुरा जिल्लाबाट विशालपुर गाविसलगायत तल्लोस्वराड क्षेत्रका १३ गाविस बैतडीमा गाभिदा विशालपुर गाविसका चार वटा वडाको मालपोतको स्रेस्ता डडेलधुरामै छुटेका कारण दशकौँदेखि बैतडीबाट डडेलधुरा मालपोतमा कर बुझाउनु परेको उनले बताए ।
स्थानीय तहको पुनर्संरचनापछि पनि समस्या समाधान नहुँदा मन्त्रालयसम्म गुनासो लिएर पटक पटक काठमाडौँ धाउँदै आएको स्थानीयको गुनासो छ । हरेक निर्वाचनका बेला वडामा भोट माग्न आउने नेताले बैतडीमै मालपोत बुझाउने गरेर समस्याको समाधान गर्ने आस्वासन दिए पनि हालसम्म समस्या समाधान नभएको मेलौली नगरपालिकाका कार्यपालिका सदस्य लोकराज भट्टले बताए ।









प्रतिक्रिया दिनुहोस्