शेरबहादुर ऐर । कैलाली ।
‘आफ्नो पेशा वा व्यवसाय सञ्चालन गर्ने व्यक्तिले निजको घर वा कार्यालय परिसरभित्र सार्वजनिक सडक वा जग्गामा बाधा नपर्ने वा सर्वसाधारणको सुरक्षामा असर नपर्ने र कानुनविपरीत नहुने गरी पेशा वा व्यवसायका सम्बन्धमा बढीमा ३० वर्गफिटसम्मको एउटा परिचयपाटी राख्न सक्नेछ’ संघीय सरकारले बनाएको होडिङ बोर्ड तथा बाह्य विज्ञापन आकारसम्बन्धी मापदण्डमा व्यवस्था गरेको छ । तर, धनगढीले स्पष्ट मापदण्ड नबनाई व्यवसायीहरुसँग परिचयपाटी राखेको शूल्क संकलन गरिरहेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित जयलक्ष्मी ड्राइक्लिनरले दुई वटा होडिङ बोर्ड अर्थात् सूचनापाटी राखेकोमा ठेक्का सम्झौता गरेको आकृति एडभरटाइजिङले नौ हजार नौ सय ४४ राजस्व संकलन गरेको छ । सञ्चालक नरेन्द्र भण्डारीले व्यापार व्यवसायी नभएको समयमा धनगढीले करमाथि कर संकलन गर्दा समस्या भएको बताए । उनले भने, ‘घरबहाल कर, फोहोर कर, व्यवसायी कर लगायत सम्पूर्ण कर तिरिरहेका छौँ । हामीले विज्ञापन त गरेको होइन ।
आफ्नो पसलको सूचनापाटी पनि राख्न नपाइने हो ?’ उनले आफ्नै पसलको सूचनापाटी राख्दा पनि कर तिर्नुपर्दा व्यवसायनै नगर भने जस्तै भएको बताए । उनले भने, ‘कर त हामीले सबैचिजको तिरिरहेका छौँ । राजस्व कार्यालय, स्थानीय, प्रदेश सरकारसँगै विभिन्न निकायहरुमा व्यवसायीहरुले कर तिर्नुपरिरहेको छ । अहिले यो पसलमा राखेको बोर्डको पनि कर तिर्नुपर्दा व्यापारनै नगर भनेको जस्तै छ । व्यवसायीहरुले कसरी काम गर्ने हो । पसल अगाडि बोर्ड नलगाई कसरी व्यापार गर्ने ? बोर्ड नलगाई ग्राहकलाई कसरी जानकारी दिने हो ।’
धनगढीको आर्थिक ऐन २०८१ अनुसार होडिङ बोर्ड १० वर्गफिटसम्मका लागि प्रतिवर्गफिट २५ शूल्क, २० वर्गफिटसम्मको ३५ शूल्क, ३० वर्गफिटसम्मको ४० शूल्क र ३१ वर्गफिटदेखि माथिसम्मको ५० रुपैयाँ रकम तोकेको छ । त्यस्तै, भित्ते लेखनमा २०, फ्लेक्स ब्यानर १० वर्गफिटसम्मलाई प्रतिब्यानर आठ सय र सोभन्दा माथिका ब्यानरलाई प्रतिवर्गफिट एक सय २५ रकम, सडक वरपर गरी लगाइएको ब्यानर प्रतिदिन ४० र बजारमा गराइने माइकिङ गरेमा प्रतिघण्टा ५० शूल्क लिने व्यवस्था गरेको छ ।
व्यापारी पुष्पराज भट्टले उपमहानगरपालिकाले विभिन्न कर व्यवसायीबाट असुल गर्ने भए व्यवसायी कर नलिन माग गरे । उनले विभिन्न करको भार थपेर धनगढीले व्यवसाय गर्नमा समस्या दिइरहेको बताए । उनले भने, ‘उपमहानगरपालिकालाई हामीले बोर्ड राखेको कर पनि तिर्ने, व्यवसाय गरेको व्यवसायी कर पनि तिर्नुपर्ने अनि हामीले व्यवसाय बन्द गरेर जाने हो ? व्यवसाय गर्न नदिने हो र बाँच्न नदिने हो भने हामीले कर तिरेको के अर्थ आयो ? हामीसँग धनगढीले लिइरहेको व्यवसाय कर खारेज गर्नुप¥यो । होइन, व्यवसाय कर लिने हो भने यो होडिङ बोर्ड राखेको रकम लिनुभएन ।’
होडिङ बोर्ड तथा बाह्य विज्ञापन आकारसम्बन्धी मापदण्डले परिचयपाटीमा विज्ञापनसमेत राख्ने भएमा निर्धारित कर भुक्तानी गरी स्थानीय तहबाट अनुमति लिनुपर्ने उल्लेख छ । मापदण्डको दफा ७ को उपदाफा ३ मा भनिएको छ – ‘तीस वर्गफिटभन्दा बढी वा थप आकारको परिचयपाटी वा थप विज्ञापन राख्नुपर्नेमा भएमा स्थानीय तहले निर्धारण गरेको कर भुक्तानी गरी अनुमति लिनुपर्दछ ।’ सो मापदण्डअनुसार सडक वा राजमार्गमा बाह्य विज्ञापन राख्न स्थानीय तहले कानुनबमोजिम अनमुतिपत्र दिँदा सडक किनाराबाट शहरी क्षेत्र भए कम्तिमा पाँच फिट र राजमार्ग भए कम्तिमा दश फिट छोडेरमात्र बाह्य विज्ञापन राख्न अनुमति प्रदान गर्नुपर्ने छ ।
तर, धनगढीमा अहिले पनि व्यापारी व्यवसायीहरुले सडकमा र राजमार्गमा होडिङ बोर्ड राख्ने गरेका छन् । कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले धनगढीमा व्यापार व्यवसाय गरिरहेका व्यवसायीमाथि करमाथि करको भार थप्दा व्यवसायनै धराशायी बन्दै गरेको बताए । उनले भने, ‘अहिले धनगढीमा व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरु आर्थिक मन्दीको चपेटामा रहेका छन् । यसैमा धनगढीले विभिन्न करमाथिको कर भार थप्दा व्यवसायी मारमा परेका छन् ।’









प्रतिक्रिया दिनुहोस्