सुर्खेत ।
कर्णाली कोरिडोरअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने नौ वटा पक्की पुल निर्माण कार्य अझै सुरु भएको छैन । यी पुलहरुको २०७९ असार ३० गते ठेक्का सम्झौता भएपनि निर्माणको काम अझै सुरु नभएको हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताए । उनका अनुसार कोरिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि, बाजुरा र हुम्ला खण्डमा पर्ने नौ वटा पक्की पुल अझै बन्न नसकेका हुन् ।
कोरिडोरमा बनाउन लागिएका नौ वटै पुलको ठेक्का भएको तीन वर्ष बितिसकेको छ । तर निर्माण व्यवसायीले पुलको डिजाइनसमेत स्वीकृत गराएका छैनन् । प्रावधानअनुसार नौ वटामध्ये सात वटा पुलको डिजाइन स्वीकृत हुन बाँकी रहेको उनले बताए । उनका अनुसार नौं वटामध्ये कालिकोट खण्डका तीन वटा पुल बन्नेछन् । यस्तै बाजुराको बड्डीगाड जुड्डी, कवाडी खोला, हुम्लाको गल्फा गाड, सल्लीसल्लासहित नौ वटा पुलको ठेक्का भएको छ ।
कर्णाली कोरिडोरअन्तर्गत कालिकोटको फुगाड खोलाको फलामे बेलिब्रिज २०७६ को असारमा आएको बाढीले बगाएपछि पानी परेको बेला सडक बन्द हुने स्थिति छ । कालिकोटकै पचालझरना र रास्कोटको सिमानामा पर्ने फुगाड खोला, सान्नी त्रिवेणी र रास्कोटको बिचमापर्ने सान्निगाड खोला तथा नरहरिनाथ गाउँपालिकामा पर्ने रहगाड खुलालु खोलाको पक्की पुल बनाउने ठेक्का विकोइ कन्स्ट्रक्सनले पाएको छ । तर उसले हालसम्म पनि सडक विभागबाट पुलको डिजाइन नै स्वीकृत नगराएको सडक आयोजना प्रमुख बेलबहादुरले जानकारी दिए । तीन वटा पुलको १८ करोडमा विकोइ कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरेको छ ।
हुम्ला खण्डमा १० कल्भर्ट निर्माण
कर्णाली करिडोरको हुम्ला खण्डमा एक वर्षमा १० वटा कल्भर्ट निर्माण भएका छन् । निर्माण कार्य सम्पन्नपछि हाल कल्भर्ट सञ्चालनमा आएका छन् । बहुवर्षीय योजना भित्रपर्ने भएपनि आर्थिक वर्ष २०८१–०८२ मा यी कल्भर्ट निर्माण भएका हुन् । कर्णाली करिडोरको हुम्ला खण्डको कवाडीदेखि हिल्सासम्ममा विगत दुई वर्षदेखि निर्माण कार्य हुँदै आएका कल्भर्टहरु गत असार महिनाभित्र सम्पन्न भएको हिल्सा सिमकोट सडक आयोजना प्रमुख बेलबहादुर बताए ।
यसअघि सडक सञ्जाल नजोडिएकाले निर्माण सामग्री ढुवानीमा समस्या हुदाँ कल्भर्ट निर्माणमा ढिलाइ भएको उनको भनाइ छ । एक वर्षयता सलीसल्लाको कर्णाली नदीमा बेलिब्रिज सञ्चालनमा आएसँगै सडक यातायात खार्पुनाथ गाउँपालिकाको खार्पुसम्म जोडिँदा कल्भर्टको निर्माण कार्यले गति लिएको थियो । जसले गर्दा १० वटा कल्भर्ट एकै वर्षमा निर्माण गर्न सफल भएको उनले बताए । कल्भर्टको बनेपछि यात्रामा सहज भएको छ । कर्णाली कोरिडोरको कवाडीदेखि हिल्सासम्म विभिन्न स्थानमा १० वटा कल्भर्ट बनेका हुन् ।
सञ्चालनमा आएका कल्भर्टहरुमा सिमकोट हिल्सा सडक खण्डमा याल्वाङ खोला र ढाँडकेर्मीमा रहेका छन् । त्यसैगरी सिमकोटदेखि कवाडीसम्ममा निर्माण गरिएका कल्भर्टहरुमा खार्पुनाथ गाउँपालिकाको लाली खोला, देउखुरी खोला र सुनाखाडाको खोलामा रहेका छन् । भने सर्केगार्ड गाउँपालिकाको थाहा खोला र न्यासी खोलामा छन् । यता अदानचुली गाउँपालिकाको तुम्च, मकै र दोमुखको खहरे खोलामा कल्भर्ट बनेका हुन् ।
बेलिब्रिजले जोड्यो दुई जिल्ला
मुगु र हुम्ला जिल्ला औपचारिक रूपमा सडक सञ्जालसँग जोडिएका छन् । हुम्लाको चंखेली गाउँपालिका–२ र ४ को सिमानामा पर्ने लोती कर्णाली नदीमा बेलिब्रिज निर्माणपछि मुगु र हुम्ला सडक सञ्जालसँग जोडिएका हुन् । लोती कर्णालीमा बेलिब्रिज निर्माणसँगै अब मुगु र हुम्ला जिल्ला औपचारिक रूपमा सडक सञ्जालसँग जोडिएको चंखेली गाउँपालिका–४ का स्थानीय मनलाल ऐडीले बताए । बेलिब्रिज निर्माणले अब सिधै मुगु जिल्ला भएर अन्यत्र जान सकिने बाटो खुलेको उनको भनाइ छ ।
यसअघि मुगुको गमगडीदेखि हुम्लाको सलीसल्लासम्म ग्रामीण पहुँच कार्यव्रmम (¥याप थ्री)ले सडक निर्माण गरेको थियो । तर चंखेलीको लोती कर्णालीमा पुल निर्माण नहुँदा नदी वारिपारि गर्न सकस थियो । नदीको वारिपारि झरेका यात्रु दुवैतिर जान तुइनको सहारा लिनुपर्ने अवस्था थियो । अब बेलिब्रिज सञ्चालनमा आउँदा तुइन विस्थापित हुनुका साथै यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।
पूर्वाधार विकास कार्यालय हुम्काका प्रमुख नरेशराज जैसीका अनुसार सात महिनामा बेलिब्रिज निर्माण सम्पन्न भएर प्रयोगमा आएकोे हो । गत मङ्सिर २३ गते कार्यालयले कङ्ग्री निर्माण सेवासँग बेलिब्रिज निर्माणका लागि सम्झौता गरेको थियो । निर्धारित मितिमा काम सम्पन्न गरेको भन्दै बेलिब्रिज ४२ मिटर लम्बाइको रहेको जैसीले जानकारी दिए ।
१० मिटर अग्लो बेलिब्रिजको ३.१५ मिटर चौडाइ छ । बेलिब्रिज निर्माणका लागि चार करोड ९८ लाख रुपैयाँ खर्च भएको छ । बेलिब्रिजको निर्माणले चंखेलीसँगै सिङ्गो हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न अर्को विकल्प बनेको छ । बेलिब्रिज निर्माण भएर सञ्चालनमा आएपछि हुम्लावासी अब मुगु हुँदै जुम्ला र सुर्खेतको सहज यात्रा गर्ने बाटो खुलेको छ ।









प्रतिक्रिया दिनुहोस्