वीरेन्द्रनगर ।
सुर्खेतमा ठगी धन्दा गर्ने सुदूरपश्चिम प्रदेश घर भएका आठ जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–३ स्थित स्काई ड्रिम इन्टरपेनर्स प्रालि र यससँग आबद्ध ग्लोवल ओरियन्स नेपाल प्रालिमार्फत करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा आठ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरुले बेरोजगार युवायुवतीलाई विदेश रोजगारीमा पठाउने, सीपमूलक तालिम दिने, राम्रो तलब सुविधा र आवासको प्रलोभन देखाउँदै करोडौँ रुपैयाँ ठगी गरेका छन् ।
पीडितहरूको जाहेरीको आधारमा ठगी धन्दा गर्ने स्काई ड्रिम इन्टरपेनर्स प्रालि र ग्लोवल ओरियन्स नेपाल प्रालिमा आबद्ध ८ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । देशका विभिन्न जिल्लाबाट आएका बेरोजगार युवायुवतीलाई वार्षिक २० हजार तिरेर खाना, बस्न र कोठा दिने भन्दै कम्पनीमा राखी नेटवर्किङ मार्केटिङमार्फत काम लगाइएको थियो । कामको नाममा नयाँ सदस्य भित्र्याउन दबाब दिइने र हरेक व्यक्तिबाट ५० हजारदेखि दुई लाख ६० हजारसम्म असुली गर्ने गरिएको पीडितहरुले बताएका छन् ।
यसरी झुक्याएर स्काई ड्रिम इन्टरपेनर्स प्रालि र ग्लोवल ओरियन्स नेपाल प्रालिले करोडौँ रुपैयाँ असुल गरेको पाइएको छ । केही सञ्चालक तथा कर्मचारीहरुलाई प्रहरीले खोजतलास तथा अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा सुदुरपश्चिम प्रदेश सायल गाउँपालिका–२ डोटीका नरेश बोहरा, महाकाली गाउँपालिका–४ दार्चुलाका कृष्ण धामी र कमल बजार नगरपालिका–६ अछामका कमल शाही र रविन्द्र शाही रहेका छन् ।
यस्तै महाकाली नगरपालिका–२ कञ्चनपुरकी मनिषा सिंह, बेल्डाँडी गाउँपालिका–१ कञ्चनपुरकी निर्मला धामी, सिगास गाउँपालिका–६ बैतडीकी सुनिता साउद र बडिकेदार गाउँपालिका–४ डोटीकी कमला चिमाला रहेका छन् । पीडितहरूका अनुसार ठगीमा संलग्न भनिएका व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कडा कारबाहीको माग गरिएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।









प्रतिक्रिया दिनुहोस्