टेन्सेण्ट ५ खर्ब डलरको पहिलो एशियाली प्रविधि कम्पनी



टेन्सेण्ट ५ खर्ब डलरको पहिलो एशियाली प्रविधि कम्पनी

पेचिङ (चीन) । चिनियाँ इण्टरनेट कम्पनी टेन्सेण्टको बजार पूँजीकरण ५ खर्ब डलरमाथि पुगेको छ । कम्पनीको शेयर कीर्तिमानी उचाइमा पुगेपछि बजार पूँजीकरण पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । सोमवार हङकङको शेयर बजारमा सूचीकृत कम्पनीको शेयरमूल्य प्रतिकित्ता बढेर ४ सय २० हङकङ डलर पुगेको थियो । यससँगै शेयर बजार बन्द हुँदा यसको बजार पूँजीकरण पनि ३९ खर्ब ९० हङकङ डलर (५ खर्ब १० अर्ब ७० करोड डलर) पुगेको थियो ।

 

टेनसेण्टको बजार पूँजीकरण फेसबूक र एमजनजस्ता अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनीको नजिक पुगेको छ । सोमवार शेयर बजार बन्द हुँदा फेसबूक इङ्कको बजार पूँजीकरण ५ खर्ब २० अर्ब १० करोड डलर थियो । उता, एमजनको पूँजीकरण पनि ५ खर्ब ४४ अर्ब ४६ करोड डलर थियो । त्यसैगरी, यसको बजार पूँजीकरण चीनको अनलाइन खुद्रा कम्पनी अलिपापा र सर्च इञ्जिन पाइतुको भन्दा निकै धेरै हो । अलिपापाको बजार पूँजीकरण ४ खर्ब ७४ अर्ब १५ करोड डलर छ भने पाइतुको ८२ अर्ब ९७ करोड डलर ।

टेन्सेण्ट सन् २००४ मा हङकङमा सूचीकृत भएको थियो । त्यतिबेला यसको शेयरमूल्य प्रतिकित्ता ३ डलर ७० हङकङ सेण्ट थियो । त्यसयता यसको मूल्य ११ हजार २ सय ५१ प्रतिशत बढिसकेको छ । यो वर्ष शुरू भएपछि मात्रै शेयरको भाउ १ सय २१ दशमलव ४ प्रतिशत बढेको छ । टेन्सेण्टको आम्दानीमा भइरहेको निरन्तर वृद्धि, व्यापक प्रयोगकर्ता बेस र नयाँ क्षेत्रमा लगानी गर्ने रणनीतिले पछिल्लो समय यसको शेयर बढाइरहेको छ । तेस्रो त्रैमासमा कम्पनीको खुद मुनाफा वार्षिक ६७ प्रतिशत बढेको गतहप्ता टेन्सेण्टले बताएको थियो । एजेन्सी

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ६ गते बुधबार