रमा पन्थी । काठमाडौँ ।
मानव बेचबिखनको कहालीलाग्दो अध्याय भोगेकी र हजारौँ पीडित महिलाहरूका लागि आशा र प्रेरणाको नाम बनेकी सुनिता दनुवारको स्मृतिमा योगदान र यात्राको सम्मान गर्दै ४८औँ जन्मजयन्तीको अवसरमा ‘स्मरण र प्रतिबद्धता’ कार्यक्रम आयोजना गरिएको छ ।
सुनिता फाउन्डेसनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा उनको संघर्ष, योगदान र मानव बेचबिखनविरुद्धको अभियानलाई सम्झिँदै श्रद्धासुमन अर्पण गरिएको थियो ।बाल्यकालमै बेचिएर बनेकी अभियानकर्ता हुन सुनिता दनुवार ।
१४ वर्षको उमेरमा भारतका बेश्यालयमा बेचिएकी दनुवारको जीवन अत्यन्त पीडादायक थियो । १९९६ मा भारतीय प्रहरीले बेश्यालयमा गरेको एक ठुलो उद्धार अभियानमा उनी ५०० जना किशोरीहरूसँगै मुक्त गरिएकी थिइन् । तीमध्ये २०० जना नेपाली बालिका र महिलाहरू थिए, जसलाई नेपाल फिर्ता ल्याउनसमेत चुनौतीपूर्ण परिस्थिति थियो । नेपाल सरकारले प्रारम्भमा उनीहरूलाई आफ्नो नागरिक भनेर स्वीकार नगर्दा, सातवटा गैरसरकारी संस्थाहरूको सहकार्यमा उनीहरूको उद्धार र पुनःस्थापनाको प्रक्रिया अघि बढाइएको थियो । २०० जना नेपाली बालिकामध्ये १२८ जना मात्र नेपाल फर्कन सफल भए, जसमा सुनिता पनि एक थिइन् ।
‘शक्ति समूह’ हुँदै ‘सुनिता फाउन्डेसन’ सम्मको सुनिताको यात्रा स्मरण गर्दा नेपाल फर्किएपछि सुनिता दनुवारले १५ जना किशोरीहरूसँग मिलेर शक्ति समूहको स्थापना गरिन् । आफ्नो पीडा र आँसुलाई शक्तिमा बदल्दै उनले मानव बेचबिखनविरुद्धको अभियानमा २३ वर्ष बिताइन् । शक्ति समूहमा रहँदा उनले हजारौँ पीडितहरूको उद्धार, संरक्षण र पुनःस्थापनामा महत्वपूर्ण भूमिका निभाइन् । यसपछि उनले शक्ति समूहमा आर्जन गरेको अनुभव र ज्ञानलाई अझ फराकिलो बनाउँदै सन् २०१९ मा ‘सुनिता फाउन्डेसन’ स्थापना गरिन् ।
यो संस्था मानव बेचबिखनबाट पीडित बालबालिका, किशोरी र महिलाहरूलाई उद्धार, संरक्षण, सीप विकास, शिक्षा, न्यायमा पहुँच लगायतका सेवाहरू प्रदान गर्दै आइरहेको छ । फाउन्डेसनले रोकथाम, संरक्षण, क्षमतावृद्धि, मुद्दा दर्ता तथा पैरवी र नीति निर्माणका लागि काम गर्दै आएको छ । उनको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा समेत प्रशंसा गरिएको छ । सन् २०१५ मा ताइवान फाउन्डेसन फर डेमोक्रेसीबाट ‘एसिया डेमोक्रेसी एण्ड ह्युमन राइट्स अवार्ड’ प्राप्त गरेकी थिइन् । त्यसपछि सन् २०१८ मा अमेरिकी सरकारले प्रदान गर्ने प्रतिष्ठित ‘ट्राफिकिङ इन पर्सन हिरो अवार्ड’बाट सम्मानित गरिएकी थिइन् ।
सुनिता दनुवारलाई सी १० अवार्ड (२०१४, स्टकहोम), एसिया ह्युमन राइट्स एण्ड डेमोक्रेसी अवार्ड (२०१५, ताइवान) र वल्र्ड वुमन लिडरसीप एचिभमेन्ट अवार्ड (२०१५) समेत प्रदान गरिएको थियो । उनी पहिलो अन्तर्राष्ट्रिय मानव बेचबिखन पीडितहरूको विश्वव्यापी सञ्जालकी सदस्यसमेत हुन् ।कार्यक्रममा मानव बेचबिखनको विश्लेषण गर्दै डा. रेनु अधिकारीले नेपालमा मानव बेचबिखनको वर्तमान अवस्था र उद्धार अभियानको सुरुवातबारे प्रष्ट पारेकी थिइन् ।
२०४६ सालमा भएको आन्दोलनको सुरुवातसँगै शशी र हिशिलाहरुले मानव बेचबिखनको उद्दारको सुरुवात गरेका थिए । सुरुवाती चरणमा दुर्गा घिमिरे एबिसीमा काम गर्दै गर्दा एचआईभी कम गर्न देह व्यापार बन्द गर्नुपर्ने आवाज उठेको थियो । पछि सुनिता दनुवारको व्यक्तिगत संघर्ष नै नेपालको मानव बेचबिखनविरुद्धको संस्थागत अभियानको थालनी भएको उल्लेख गरिन् । हालका दिनमा एनजिओ÷आइएनजिओहरूको भूमिका र चुनौतीबारे चर्चा गर्दै उनले अझ प्रभावकारी र समन्वयात्मक प्रयासको आवश्यकता रहेको धारणा राखिन्।
मानव बेचबिखनको नयाँ रूप र प्रविधि प्रयोग गरी भइरहेको अपराध नियन्त्रणका लागि नीति निर्माणदेखि सामुदायिक चेतना विस्तारमा जोड दिनुपर्नेमा उनले जोड दिइन् । अहिलेको वर्तमान अवस्थामा घरेलु हिंसा र मानव बेचबिखनको जरो एउटै भएकोे बताउँदै उनले पीडित केन्द्रित दृष्टिकोण र पीडितको सहभागिता आवश्यक रहेकोमा जोड दिइन् । सुनिता फाउन्डेसनको आयोजनामा काठमाडौँमा सम्पन्न कार्यक्रममा मानव अधिकारकर्मी, सरोकारवाला निकायहरू, पत्रकारहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूका प्रतिनिधिहरूको उपस्थिति थियो ।
सहभागीहरूले स्मृतिमा रहेकी सुनिता दनुवारको सपनालाई पूरा गर्दै मानव बेचबिखनविरुद्धको अभियानलाई अझ सशक्त बनाउन प्रतिबद्धता व्यक्त गरेका थिए । सबै सहभागीबाट एउटा राम्रो काम गर्ने लिखित प्रतिबद्धतासमेत जनाइएको थियो । सुनिता फाउन्डेसनका तर्फबाट सुनिताको योगदानलाई स्मरण गर्दै ‘आज हामीसँग नभए पनि, उहाँको सपना हाम्रो हृदयमा, हाम्रो काममा र न्यायको यात्रातर्फ अग्रसर गराउने हरेक कदममा जीवित रहनेछ । हामी उहाँलाई सम्झन्छौँ ! हामी उहाँलाई सम्मान गर्छौँ ! हामी उहाँको यात्रालाई निरन्तरता दिन्छौँ !’ र निरन्तरता दिँदै मानव बेचबिखनको अन्त्यका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्छौँ भन्ने प्रतिबद्धता जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्