सडक स्तरोन्नतिको काम अन्तिम चरणमा



हुम्ला ।

कर्णाली कोरीडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका–१ को बोक्चे र भिगौडाको सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। कडा चट्टानी र अग्लो भीरलाई विस्फोट गरेर नेपाली सेनाले सडक स्तरोन्नति गरिरहेको छ । स्तरोन्नतिको निर्माण कार्य अन्तिम चरणमा रहेकाले अब यसै हप्ताभित्र यी दुई वटै सडक सञ्चालनमा आउने नेपाली सेनाको सडक निर्माण कार्य दलका प्रमुख अम्रित पराजुलीले बताए ।

उनका अनुसार असजिलो र सडकको ग्रेड नमिलेको बोक्चे र भिगौडाको सडक स्तरोन्नति गर्ने कार्य सेनाले गरिरहेको छ । यी दुवै सडकखण्डमा चट्टान विस्फोट गरेर सडक निर्माण गरिएको उनको भनाइ छ । उनले भने, ‘केही स्थानमा २० मिटर अग्लो चट्टान विस्फोट गरेर सडकलाई तल झारिएको छ । सेनाले रातदिन विस्फोट गर्ने र सडक मिलाउने कार्य गरेको होे । चट्टानी भीरमा ६ देखि ८ मिटर सडक चौडा बनाइएको छ ।’

चट्टानी सडकमा ग्रेड मिलाउने कार्य भएकाले अब सवारीसाधान सञ्चालनमा सहज हुनेछ । यी दुई वटा गौडाबीचको २०० मिटर सडकको चट्टान विस्फोट गर्ने र ग्रेड मिलाउने कार्य अन्तिम चरणमा पुगेको हो । यसअघि निर्माण कम्पनीले सो खण्डमा सडकको ग्रेड नमिलाएर कच्ची सडकको रुपमा ट्रयाक खोल्ने कार्य गरेको थियो । सडकको अवस्था हेरेर हुम्लावासीले स्तरोन्नतिको काम नेपाली सेनालाई नै दिन आग्रह गरेका थिए ।

सरकारले यो मागलाई सम्बोधन गर्दै गत पुस १७ गतेको मन्त्रिपरिषद् वैठकबाट निर्णय गरेर सडक स्तरोन्नतिको काम सेनालाई दिएको थियो । सोहीअनुसार सेनाले गत चैत २५ गतेबाट काम सुरु गरेको थियो । यसअघि भिगौडाबाट याङ्चु कुनासम्मको ६०० मिटर सडक स्तरोन्नति गरिएको छ ।

असजिला गौडाको सडकको स्तरोन्नति भएपछि अब सधैँका लागि सडक सहज भएको खार्पुनाथ गाउँपालिका– १ का वडा अध्यक्ष जयबहादुर शाहीले बताए । यी दुवै गौडाको सडक स्तरोन्नति भएसँगै बन्द सडक खुल्नेछ । हाल निर्माण कार्य जारी रहेपछि सेनाले यातायात सेवा बन्द गरेको थियो । योसँगै सेनाले खार्पुको दोजाम कर्णाली नदीमाथि निर्माण गरेको बेलिब्रिजको गत असार २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । सोही दिनदेखि हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १ गते बिहीबार