कैलाली सुदूरपश्चिमको नवौँ पूर्णखोप जिल्ला घोषणा



धनगढी ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता; पूर्ण खोप सुनिश्चितता – हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ कैलाली जिल्लालाई सुदूरपश्चिम प्रदेशको नवौँ पूर्णखोप जिल्ला घोषणा गरिएको छ । सोमबार स्वास्थ्य तालिम केन्द्र, धनगढीमा आयोजित औपचारिक सभामार्फत कैलालीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको हो ।

कार्यक्रममा सामाजिक विकासमन्त्री मेघराज खड्का, मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, कैलाली जिल्लाका जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरोकारवाला निकाय तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो । स्वास्थ्य कार्यालय कैलाली र जिल्ला पूर्णखोप समन्वय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले पूर्णखोप अभियानको सफलतालाई स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायको सक्रियताले सम्भव भएको बताए ।  यो घोषणासँगै अब कैलाली जिल्लाका सबै बालबालिकाले नियमित खोप सेवा सुनिश्चित रूपमा पाउने छन् ।

महिला स्वयंसेविकाको सेवासुविधा कटौती गरेको गुनासो

घोषणा कार्यक्रममा बोल्दै महिला स्वास्थ्य स्वयंसेविका अम्विका भण्डारीले स्थानीय तहहरूबाट आफूहरूले पाउँदै आएको ज्याला कटौती गरेको बताइन् । कैलालीको सन्दर्भमा विशेषगरी प्रदेशकै एक मात्र उपमहानगरपालिका धनगढीले महिला स्वयंसेविकाको योगदानको उपयुक्त कदर नगरेको स्वयंसेविका भण्डारीले बताइन् ।

‘हामी महिला स्वास्थ्य स्वयंसेविका ४ सय रूपैयाँमा काम गरिरहेका छौँ, आफ्नो काम गर्नेहरूलाई १ हजार रूपैयाँ पारिश्रमिक दिन बाध्य छौँ,’ उनले भनिन्, ‘स्थानीय सरकारले तोकेको रकमसमेत नदिई कटौती गरिदिन्छन्, हामीले आवाज उठाउँदा पनि हाम्रो आवाजमा चासो दिइएको छैन ।’ भण्डारीले आफूहरूसँग शिक्षकहरूको जस्तो आन्दोलन गर्न सक्ने क्षमता नभएकाले पनि महिला स्वास्थ्य स्वयंसेविकालाई सरकारले सामान्य रूपमा लिएको भन्दै उनले आक्रोस पोखिन् ।

सम्पूर्ण स्वयंसेविकाको तर्फबाट मञ्चमा पुगेकी भण्डारीले २०४५ सालदेखि योगदान दिँदै आएका महिला स्वयंसेविकालाई बिदाइ गर्दासमेत उचित राहतसहित बिदाइ गरिनुपर्ने मागसमेत राखेकी थिइन् । उक्त कार्यक्रममा कैलाली जिल्लाका १३ वटै स्थानीय तहबाट १–१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसमेत गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ३१ गते मंगलबार