संवैधानिक परिषद् संशोधन विधेयक बहुमतले पारित



काठमाडौँ ।

‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९’ संशोधन भएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकले विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । मंगलबार विधेयकमाथि राष्ट्रिय सभाबाट प्राप्त प्रतिवेदनमाथि भएको छलफलमा सांसदहरूले भाग लिएका थिए ।

बुधबार सांसदहरूले छलफलका क्रममा उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानबहादुर राईले दिएपछि सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेका थिए । निर्णयार्थ प्रस्तुत हुँदा विधेयक बहुमतले पारित भएको हो । अब विधेयकको संशोधन सभामुख घिमिरेले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउनेछन् ।  राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि संशोधन राजपत्रमा प्रकाशित हुन्छ । त्यसपछि कानुन बन्ने कानुनी प्रावधान छ ।

विधेयकमाथिको संशोधन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले ०७९ फागुन १२ गते सङ्घीय संसद् सचिवालयमा दर्ता गरेका थिए । ०८० वैशाख १५ गते दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको विधेयकमाथिको संशोधनमा समितिले सदनमा ०८१ जेठ १७ गते बुझाएको थियो । संशोधनलाई ०८१ चैत १८ गते प्रतिनिधि सभाबाट पारित गरेर राष्ट्रिय सभामा पठाइएको थियो । राष्ट्रिय सभाले पारित गरेर संशोधन ०८२ जेठ ३० गते फिर्ता पठाएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २६ गते बिहीबार