गोदावरी (कैलाली) ।
कैलालीको गोदावरीका १ सय बढी किसान ठगिएका छन् । एक वर्षअघि अनुदानमा पावर टिलर लगायत कृषि उपकरण दिने भन्दै किसानबाट अग्रिम रकम उठाएर ठगी गरिएको हो । किसानहरूलाई ७५ प्रतिशत अनुदानमा कृषि उपकरण दिने भन्दै २५ प्रतिशत रकम अगाडि नै बुझाउनुपर्ने शर्तअनुसार गोदावरी नगरपालिका – ६ मा मात्रै ११० किसानबाट ७० हजार देखि १ लाख ३० हजारसम्म रकम उठाइएको पाइएको छ ।
२०८१ साउनमा किसानहरूबाट उक्त रकम संकलन गरेर २ महिनाभित्र मागअनुसारका कृषि उपकरण दिने भनिएपनि एक वर्षसम्म किसानले न कृषि उपकरण पाएका छन् न तिरेको रकम फिर्ता दिइएको छ । उक्त वडामा वडाध्यक्ष जागुराम चौधरीकी बुहारी प्रियङ्का चौधरीले किसानबाट रकम संकलन गरेकी थिइन् । स्थानीय मिरा चौधरीले पावर टिलरका लागि साउन २० गते ७० हजार जम्मा गरेको भएपनि अहिलेसम्म पावर टिलर नपाएको बताइन् । उनले वडाध्यक्षकी बुहारी भएकाले विश्वासले रकम दिएको भएपनि अहिले भोलि पर्सी भन्दै टार्ने गरिएको बताइन् ।
स्थानीय द्रोपती चौधरीले साउनमा रकम जम्मा गरेर भदौमा पावर टिलर दिने भनेपनि अहिलेसम्म नपाएको बताइन् । उनले रकम बुझाएको रसिद नदिएको र रसिद माग्दा म आफैँ प्रमाण छु भनेर रसिद नदिएको बताइन् । स्थानीय धनीराम चौधरीले ७० हजारमै अनुदानमा पावर टिलर पाइन्छ भनेर खुसी भएर पैसा दिएको बताए । ‘पैसा लिएपछि आज, भोलि भन्दाभन्दै १ वर्ष पुगिसक्यो,’ उनले भने ‘पछि फोन नउठाउने, बैठक बसेपछि बोल्न नदिएर झपार्ने, हामी दलाल हो भनेर हप्काउने गर्थे ।’ उनले एक्कासि आफूलाई पावर टिलर दिने संस्थाको अध्यक्ष जेलमा पुगेको सुनेपछि आफूहरू ठगिएको थाहा पाएको बताए ।
‘हामीले त गाउँकै वडा अध्यक्षकी बुहारी भएकाले विश्वासले धेरै कुरा पनि नसोधेर पैसा दिएका थियौँ,’ उनले भने, ‘हामीले नगद रकम दियौँ । चेक दिँदा मानिनन् । प्रमाण माग्दा मै प्रमाण हुँ भनिन् ।’ उनले चार दिनअघि स्थानीय प्रहरी चौकीमा रिपोर्ट गरेपनि सुनुवाइ नभएको बताए । उनले अब इप्रका मालाखेतीमा उजुरी दिने तयारी गरेको बताए ।
वडाध्यक्ष जागुराम चौधरीको पैसा उठाउने आफ्नै बुहारी भएपनि आफ्नो भने संलग्नता नभएको बताए । ‘मैले बुहारीलाई यो सुरो नेपालको कहानी ठिक छैन । यसमा लफडा छ भन्दापनि मानिनन्,’ उनले भने, ‘पछि किसानहरूले पनि फोन गरेर तपाईँको बुहारीले पैसा उठाउँदै छ के गर्ने भनेर सोध्थे । तर, मैले यस विषयमा मलाई नसोध्नुस्, जानकारी छैन भनेको थिएँ । त्यैपनि किसानहरूको लर्को लाग्यो । धेरै किसानले फारम भरे ।’
अहिले सुरो नेपालकी अध्यक्ष सुशीला खड्का (ओझा) र रकम असुलीमा संलग्न रहेको धनगढीको बंग्रा घर भएकी सुनिता चौधरी पक्राउ परेका छन् । पक्राउ परेकी सुनिता वडाध्यक्षकी बुहारी प्रियङ्काकी आमा हुन् । वडाध्यक्ष चौधरीले बुहारीले आमा र अध्यक्ष छुटेपछि पावर टिलर लगायतका कृषि सामग्री बाँड्ने बताउने गरेको बताए । उनले आफूले वडाबाट कुनै किसिमको पनि अनुमति नदिएको बताए । वडाध्यक्षकी बुहारी प्रियङ्काले भने यस विषयमा आफू नबोल्ने भन्दै फोन काटेकी थिइन् ।
ठगिएका अधिकांश किसानले कुन संस्थाबाट प्रियङ्काले कृषि उपकरण दिन लागेको हो भन्ने बारेमा पनि नसोधेको बताएका छन् । यद्यपि पछि उनी सुरो नेपालमा आबद्ध भएको थाहा पाएको किसानहरूको भनाइ छ । सुरो नेपालका नाममा गोदावरी नगरपालिका मात्रै नभएर कैलालीका विभिन्न पालिकासहित कञ्चनपुर, बाँके बर्दियाका किसान ठगिएका छन् ।
यसै क्रममा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्थानीय किसानको ठगीसम्बन्धी उजुरी हालेपछि प्रहरीले जेठ १७ गते सुरो नेपालकी अध्यक्ष सुशीला खड्का र सुनिता चौधरीलाई काठमाडौँबाट पक्राउ गरेको थियो । अहिले दुवै जनालाई अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्