बाजुरा ।
बाजुराको मार्तडी–कोल्टी सडकखण्ड करिब एक सातादेखि अवरुद्ध भएको छ । सदरमुकामबाट जिल्लाको पूर्वीउत्तरी भेग जोड्ने सडकखण्ड बर्सात सुरु भएसँगै अवरुद्ध भएको हो ।
मार्तडी–कोल्टी सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा खोलामा पानीको बहाव बढेसँगै सडक पूर्णरूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरूले कतै गाडीमा त कतै पदैल यात्रा गर्नुपर्ने बाध्यता छ भने सामान ढुवानीमा समेत समस्या भएको स्थानीयहरूले बताएका छन् ।
स्थानीयका अनुसार सडकखण्डको बडीमालिका ७ को जिल्ली, रजातोली र ढम्कने भासुपातलमा पहिरो खसेपछि पूर्णरूपमा अवरुद्ध भएको छ । त्यस्तै बाउली, रजातोली, दानसाँघु लगायतका खोलामा पुल नहुँदा थप समस्या भएको छ । सो सडकखण्ड विगतका वर्षमा पनि बर्सात सुरु हुनेबित्तिकै अवरुद्ध हुँदै आएको छ ।
त्यस्तै मार्तडी नजिकै बाउली खोलामा बर्षौँदेखि पुल निर्माण कार्य अलपत्र छ भने अनाई खोलामा बनेको पुल समेत सञ्चालनमा आएको छैन् । ठाउँठाउँमा पहिरो र खोलाले सडकखण्ड अवरुद्ध भएपछि सवारी साधनहरू थन्किएका छन् भने आवतजावत नै ठप्प भएको छ । अहिले यात्रुहरूले मार्तडीदेखि कोल्टीसम्म पुग्न ४÷५ वटा गाडी फेरेर जानुपर्ने बाध्यता छ ।
त्यस्तै सडक अवरुद्ध भएपछि कतिपय खोलामा काठेपुलसमेत नहुँदा पैदल हिँड्न पनि समस्या हुने गरेको स्थानीय मनोज बोहराले बताए । उनले ठाउँठाउँमा पहिरोले सवारीसाधन पनि बीचबाटोमा थन्किएको भन्दै तत्काल सडकखण्ड सञ्चालन गर्न सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए ।
मार्तडी–कोल्टी सडकखण्ड सिलान्यास भएको झण्डै २७ वर्ष पुग्दा पनि स्तरोन्नति हुन सकेको छैन् । प्रदेश सरकारको बहुवर्षीय योजनामा रहेको उक्त सडकखण्ड स्तरोन्नति तथा कालोपत्रेमा ढिलासुस्ती हुँदा बर्सातमा यात्रुहरूले सास्ती खेप्दै आएका छन् । त्यस्तै बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले अवरुद्ध सडकखण्ड खुलाउन सम्बन्धित निकायसँग पहल भइरहेको बताए ।









प्रतिक्रिया दिनुहोस्