रबिन्द्र घिमिरे । जानकी (बाँके) ।
बाँकेको जानकी गाउँपालिकाले दैवीप्रकोप उद्धार सामाग्री हस्तान्तरण गरेको छ । जानकी गाउँपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाले ईलाका प्रहरी कार्यालय खजुराखुर्द बाँकेलाई दैवीप्रकोप उद्धार सामाग्री हस्तान्तरण गरेको हो । जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विक, प्रवक्ता टिकानाथ यादवले संयुक्त रूपमा ईलाका प्रहरी कार्यालय खजुराखुर्दका इन्चार्ज प्रहरी नायब निरीक्षक खगेन्द्र श्रेष्ठलाई दैवीप्रकोप उद्धार सामाग्री हस्तान्तरण गरेका थिए ।
गाउँपालिकाले ईलाका प्रहरी कार्यालय खजुराखुर्दलाई गैँती २ थान, गमबुट ५ जोडी, रेनकोट ७ थान, स्टील बाल्टी ३ थान र वाटर लाइफ ज्याकेट ३ थान लगायतका दैवीप्रकोप उद्धार सामाग्री हस्तान्तरण गरेको थियो । गाउँपालिका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा भएको कार्यक्रम वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख राजेन्द्र वाजपेयीले सञ्चालन गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विक, प्रवक्ता यादव, कार्यपालिका सदस्य रामआचल धोवीलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो भने बिहीबार नै जानकीमा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रको समेत गाउँपालिका अध्यक्ष खाँले उदद्घाटन गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्