कोहलपुर (बाँके) ।
बाँकेको बैजनाथ गाउँपालिकाले ‘ई–पालिका सेवा’ सुरु गरेको छ । बाँके जिल्लामै पहिलोपटक आधुनिक प्रविधिमा आधारित सेवा सुरु गरेको हो । सेवाग्राहीको सुविधा र प्रशासनिक कार्य प्रणालीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्दै नवीनतम सेवा सुरु गरेको गाउँपालिकाले जनाएको छ ।
बिहीबार गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाही र उपाध्यक्ष निर्मला रोकायाले संयुक्त रूपमा सेवाग्राहीको प्रतिक्षालय उद्घाटन गरे । उद्घाटनपछि बोल्दै अध्यक्ष शाहीले बाँकेका आठ स्थानीय तहमध्ये बैजनाथमा पहिलोपटक ई–पालिका सेवा सुरु भएको बताए । उनका अनुसार ई–पालिका सेवा सञ्चालनका लागि ३७ लाखको लागतमा सेवा पूर्वाधार निर्माण गरिएको छ ।
ई–पालिका सञ्चालनका लागि पालिकाले करिब २० लाख रूपैयाँको लागतमा प्रतीक्षालय भवन र शौचालय निर्माण गरेको अध्यक्ष शाहीको भनाइ छ । यस्तै १७ लाख रूपमा बराबरका आधुनिक उपकरण र मेसिन जडान गरेर सेवा सुरु गरिएको उनले बताए । ‘जिल्लामै प्रविधिमैत्री सेवा सुरु भएको छ । यसले सेवा प्रवाहमा सहजता हुने अपेक्षा गरेका छौँ । उक्त सेवा सर्वसाधारणका लागि खुला गरिएको छ,’ अध्यक्ष शाहीले भने । ‘ई–पालिका सेवा’ टोकन प्रणालीमा आधारित हुनेछ ।
अनलाइन सिफारिस सेवासमेत रहेको छ । नयाँ व्यवस्थाअनुसार अब सेवाग्राहीले लामो लाइन बस्नुपर्ने छैन । टोकन प्रणालीमार्फत सेवा प्राप्त गर्न सकिनेछ । प्रतीक्षालयमा एसीसहितको सुविधा र सेवा सञ्चालनका लागि दुई जना कर्मचारी परिचालन गरिएको प्रशासन शाखा प्रमुख तप्तराज आचार्यले जानकारी दिए । यसबाहेक वडा कार्यालयहरूबाट प्राप्त हुने सबै सिफारिस अनलाइनमार्फतै उपलब्ध हुने व्यवस्था गरिएको गाउँपालिकाका सूचना अधिकारीसमेत रहेका आचार्यले बताए । ‘यसले पालिकाको सेवा छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने विश्वास गरिएको छ,’ उनले भने ।
‘हेलो अध्यक्ष’ मार्फत निःशुल्क गुनासो सेवा
गाउँपालिकाले ई–पालिकासँगै पालिकाले ‘हेलो अध्यक्ष’ नामक गुनासो सेवा पनि सुरु गरेको छ । यो सेवा प्रयोगकर्ताले निःशुल्क टोल फ्री नम्बरमार्फत प्रयोग गर्न सक्नेछन् । नागरिकका गुनासा तत्काल व्यवस्थापन गरी समाधान गरिने अध्यक्ष शाहीले बताए । बैजनाथ गाउँपालिकाको यो सेवा अन्य पालिकाहरूका लागि समेत नमुना बन्ने विश्वास गरिएको छ । अध्यक्ष शाहीका अनुसार आगामी दिनमा थप प्रविधिमैत्री सेवाहरू थप्ने योजनासमेत रहेको छ ।









प्रतिक्रिया दिनुहोस्