पञ्चदेवल विनायक नगरपालिका सम्मानित



अछाम ।

अछामको पञ्चदेवल विनायक नगरपालिका महालेखा परीक्षकको कार्यालयबाट सम्मानित भएको छ । आर्थिक सुशासन र पारदर्शिता कायम गर्दै प्रभावकारी सेवा प्रवाहमा योगदान पु¥याएको भन्दै महालेखा परीक्षक कार्यालय काठमाडौँले पञ्चदेवल विनायक नगरपालिकालाई प्रशंसापत्र प्रदान गरेको हो ।

महालेखा परीक्षकको कार्यालयको ६७औँ वार्षिकोत्सवका अवसरमा पञ्चदेवल विनायकलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा महालेखा परीक्षक कार्यालयले आन्तरिक लेखापरीक्षण, सार्वजनिक लेखा प्रणालीको प्रभावकारिता, पारदर्शिता र जवाफदेहिताका आधारमा उत्कृष्ट अभ्यास गर्ने निकायहरूलाई सम्मानित गरेको थियो ।

गत आर्थिक वर्षमा सुदूरपश्चिममै सबैभन्दा कम बेरुजु हुने पालिकाका रूपमा पञ्चदेवल विनायक नगरपालिका छनोट भएको थियो । सम्मानित निकायहरूमा संघ, प्रदेश तथा स्थानीय तहका विभिन्न सरकारी निकायहरूसँगै पञ्चदेवल विनायक नगरपालिकालाई पनि छानिएको हो । नगरपालिकाले आर्थिक अनुशासन, लेखा परीक्षणको पारदर्शिता, सेवा प्रवाहमा दक्षता, सूचना व्यवस्थापन लगायतका क्षेत्रमा उत्कृष्टता देखाएको बताइएको छ ।

नगरको प्रशासकीय अधिकृत तथा लेखा शाखाको समन्वय र जनप्रतिनिधिको जिम्मेवारीपूर्वक कामको परिणामस्वरूप यो उपलब्धि हात परेको नगर प्रमुख अम्बिका चलाउनेले बताइन् । यसले आगामी दिनमा अझ राम्रो कार्यसम्पादन गर्न थप प्रेरणा मिलेको नगरपालिकाका लेखा प्रमुख लोकबहादुर चलाउनेले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १७ गते मंगलबार