तिङ्कर सडक निर्माणका लागि एक करोड बजेट



दार्चुला ।

सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ देखि तिङ्कर सडकका लागि छुट्टै बजेट शीर्षक निर्धारण गरेको भए पनि बजेट न्यून राखेको छ । महाकाली करिडोरबाट छुट्याएर तुसारपानी–तिङ्कर खण्डलाई छुट्टै बजेट शीर्षक दिइए सडक निर्माणका लागि रु एक करोडमात्रै बजेट विनियोजन गरिएको हो । नेपाली सेनाबाट निर्माण भइरहेको महाकाली करिडोरअन्तर्गतको तुसारपानी–तिङ्कर खण्डलाई छुट्टै बजेट दिँदा थोरैमात्रै बजेट दिएको भन्दै आलोचना भएको छ ।

दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुला–तिङ्कर सडकमा न्यून बजेट आएकामा आपत्ति जनाउँदै संसद्मा आलोचना गरेका थिए । करिब ७९ किलोमिटर लामो बाटो नेपाली सेनाले निर्माण गरिरहेको भए पनि बजेट अभावले काम निकै सुस्त भइरहेको छ । चालू आर्थिक वर्षमा सेनाले हेलिकप्टरमार्फत स्काभेटर छाङ्गरु पु¥याएर दुवैतर्फबाट सडकको ट्र्याक खोल्ने काम सुरु गरेको छ।

दुम्लिङ–छाङ्गरु जोड्ने घोरेटो बाटो निर्माण थालियो

गत जेठ २५ गतेदेखि संघीय सरकारको ससर्त बजेटमार्फत व्यास गाउँपालिका–१ छाङ्गरु र २ को दुम्लिङ जोड्ने घोरेटो बाटो निर्माण सुरु भएको छ । मिसन–देवहरी जेभी निर्माण कम्पनीले कूल रु पाँच करोड छ लाख नौ हजार ९९४ लागतमा घोरेटो बाटो निर्माण थालेको हो ।
संघीय सरकारको ससर्त अनुदानअन्तर्गत कूल रु पाँच करोड ५० लाख लागतमा २०८१ फागुन १३ गते बोलपत्र आह्वान भएको थियो ।

बोलपत्रमा सबैभन्दा घटी मूल्यमा मिसन–देवहरी जेभीले ठेक्का पाएपछि यो क्षेत्रमा घोरेटो बाटो निर्माण कार्य थालनी भएको हो । हालसम्म ६० प्रतिशत बढी काम सम्पन्न भएको गाउँपालिकाका सबइञ्जिनियर प्रेम कोट्टारीले जानकारी दिए । निर्माणको काम यही असार २० गतेसम्म लम्ब्याउने गाउँपालिकाको तयारी छ ।

अहिले निर्माण कम्पनीले व्यासको बुदी, दोपाखे, घाँटीबगर र अपि खोला क्षेत्रमा घोरेटोबाटो बनाउने काम गरिरहेको छ । तोकिएको समयावधिभित्र ९० प्रतिशत हाराहारीमा काम सम्पन्न गर्ने लक्ष्य रहेको मिसन देवहरी जेभीका प्रतिनिधि केशवबहादुर पालले बताए । झण्डै तीन दशकदेखि अवरुद्ध रहेको व्यासको घोरेटो बाटो निर्माणको जिम्मेवारी पाएका कारण सकेसम्म तोकिएको काम सक्ने लक्ष्य छ । यो क्षेत्रमा १२० जना बढी मजदुर परिचालन गरिएको छ । निर्माण कार्य चलिरहेको हुँदा लक्ष्य भेट्टाउन सकिन्छ ।

‘अप्ठ्यारो ठाउँमा निर्माण कार्य करिब अन्तिम चरणमा पु¥याएका छौँ,’ निर्माण व्यवसायी पालले भने, ‘छोटो समयमा मौसमले साथ दिँदा काम गर्न सहज भयो ।’ दुई वडा जोड्न झण्डै ३१ किलोमिटर क्षेत्रमा घोरेटो बाटो निर्माण भइरहेको छ । महाकाली नदी किनारमा पर्खाल लगाएर काम गर्नु निकै चुनौती भए पनि अहिले त्यो क्षेत्रमा काम सकिएको छ ।

पञ्चायतकालमा निर्माण भएको घोरेटो बाटो पछिल्लो समय भत्किएको थियो । भारतले सडक निर्माण गर्दा धेरै ठाउँमा सडक भत्किएको थियो । अहिले महाकाली नदी किनार फेरि घोरेटो बाटो निर्माण गरिएको छ । भत्किएको ठाउँमा राम्रोसँग मर्मत नहुँदा व्यास–१ का स्थानीयको आवतजावत ठप्प बनेको थियो । त्यसको कारण व्यासको छाङ्गरु र तिङ्करका स्थानीयले भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १७ गते मंगलबार