शिवु खनाल । दाङ ।
दाङको लमही नगरपालिका वडा नम्बर ९ हर्दवा कि आशा नेपालीले पाँच कट्ठा जग्गामा व्यवासायिक रूपमा कागती खेती गर्न लागेको ९ वर्ष भयो । पाँच वर्ष अघिसम्म हिउँदमा गाउँमा कागती खेती गर्न सिँचाइको समस्या थियो । गाउँमा सिँचाइ सुविधा पुगेपछि उनी मात्र होइन, अधिकांश घरधुरीमा विभिन्न खेती गर्न सजिलो भएको छ ।
स्थानीय र गुप्ती सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा गुप्ती कृत्रिम पोखरीमा संकलित पानी सिँचाइको लागि गाउँमा पु¥याएपछि घरघरमा तरकारी खेती र बीउ उत्पादनको लहर चलेको छ । बर्खामा आकाशबाट पोखरीमा जम्मा भएको पोखरीको पानी ३ वटा पाइपको सहयोगमा गाउँमा प्रशस्त मात्रामा पु¥याइएको छ ।
२०७६ सालदेखि हर्दवाका स्थानीयहरूले उक्त पोखरीमा संकलित पानी गाउँमा पु¥याएर सिँचाइ गर्दै आएको गुप्ती सामुदायिक वन उपभोक्ता समूहका सचिव अमर कवर (नविन)ले बताए । उनले भने, ‘आजभोलि जहिले भने पनि बारीमा पानी लगाउन पाइन्छ । सिँचाइ सुविधा भएपछि उत्पादन पनि बढेको छ ।’ सिँचाइ आयोजनाको निर्माण २०६७ सालदेखि सुरु भएको हो ।
बर्खायाममा पानी सञ्चित गरी सुक्खायाममा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले सामुदायिक वनले गुप्ती सिँचाइ पोखरी निर्माण गरेको हो । चुरेको फेदमुनि रहेको चारकुने चरजस्तो देखिने पोखरीलाई स्थानीय बासिन्दाले २०७६ सालमा स्तरोन्नति गरिएको सचिव नविनले बताए । उनका अनुसार पहिलाको कुलोबाट बर्सातको सिजनमा मात्र सिँचाइ गर्न सकिन्थ्यो ।
तर, पानी जम्मागर्ने पोखरी नहुँदा हिउँदमा सिँचाइ गर्न समस्या थियो । हर्दवामा आठ वर्षदेखि बाह्रै महिना सिँचाइ सुविधा पुगेको उनको भनाइ छ । कृषिको आधार सिँचाइ सुविधा भएकाले अहिले यहाँका किसानले व्यावसायिक मकै, धान, गहुँ, कागती, तोरी तथा बीउ उत्पादन गर्न थालेका छन् । अहिले हर्दवा गाउँमा तीन बाली खेती हुने गरेको छ ।
‘बर्खायाममा सिँचाइ पोखरीमा पानी जम्मा गर्नुपर्दैन तर हिउँदमा राति पानी जम्मा गरेर दिउँसो कुलोमा छोड्ने गर्छौँ,’ सचिव नविनले भने, ‘यसले किसानलाई सजिलो भएको छ ।’ हिउँदको समयमा पानी अभावका कारण सुक्खा रहने करिब ४० विघा जमिनमा सिँचाइ हुने गरी हर्दवाका साना किसानका लागि अनुकूलन आयोजनाअन्तर्गत वन क्षेत्रमा रहेको पोखरी थप व्यवस्थित बनाइ दिएपछि स्थानीयवासी दंग छन् । सिँचाइ अभावका कारण हिउँदभर सुक्खा रहने हर्दवा गाउँमा अबभने बाह्रै महिना सिँचाइ हुने भएको छ । पोखरी बनेपछि स्थानीयले राहतको महसुस गरेका छन् ।
बढ्दो औद्योगीकरण, वन विनाश, अव्यवस्थित सहरीकरण तथा प्रविधिको बढ्दो प्रयोगले वातावरणमा प्रभाव परेकाले पानीका मुहान सुक्ने र सिँचाइ अभावमा जमिन बाँझो रहने समस्या अब हर्दवाबासीले भोग्नु नपर्ने भएको हो । ‘पहिला सामान्य रूपमा दुःख अनि धेरै मेहनत गरेर खेती गरिन्थ्यो,’ सचिव नविनले भने, ‘घरमा मुस्किलले खान पुग्ने तरकारी खेती गर्ने गर्दथ्यौँ । अब व्यावसायिक खेती गर्दै आएका छौँ ।’ पोखरीमा आकाशे पानी संकलन गर्ने योजनाका साथ काम अगाडी बढाइएको थियो ।
हर्दवा गाउँका ५६ घरधुरी लाभान्वित भएका छन् । ‘एक किलोमिटर टाढाको पोखरीबाट ल्याइएको पानी खेतमा झरेको छ,’ स्थानीय भुपबहादुर रेउलेले भने, ‘भिरमा कुलो बनाउन जान पनि सक्ने अवस्था थिएन, पाइप बिछ्याएर पानी आयो र गाउँको दैनिकी फेरिएको छ । पोखरीको पानी नै खेतमा आएको छ । सुक्खा बारी हरियाली भएको छ ।’









प्रतिक्रिया दिनुहोस्