‘कोहलपुर गोल्डकप कोहलपुरको पहिचान’
सागर गैरे, व्यवसायी (कोहलपुर)
म विगत ३५ वर्षदेखि कोहलपुरमा बस्दै आएको छु । विगतमा पनि कोहलपुरमा विभिन्न प्रतियोगिताहरू सञ्चालन हुने गर्थे । त्यतिखेर ग्रुप र टिम बनाएर खेल्ने गरिन्थ्यो । तर, पछिल्लो समय कोहलपुरमा राष्ट्रियस्तरको प्रतियोगिता कोहलपुर गोल्डकप सञ्चालन हुँदै आएको छ । यो एउटा खेलकुद प्रतियोगिता मात्र नभई कोहलपुरको पहिचानका रूपमा रहेको छ । वितेका केही वर्षदेखि कोहलपुर–२ स्थित तेह्र बिघा खेलमैदानमा सञ्चालन हुँदै आइरहेको छ । विगतमा खेलहरू रूखमा चढेर हेर्नुपर्ने बाध्यता थियो । यस वर्ष मिनि रङ्गशाला निर्माण भइरहेकाले प्याराफिटमा बसेर खेलको मज्जा लिन सकिने अवस्था सिर्जना हुदैँछ । अब रंगशाला निर्माण हुन पनि कोहलपुरका लागि गर्वको कुरा हो । यसलाई निरन्तरता दिन सबैको साथ र सहयोगको आवश्यक छ । गोल्डकपलाई निरन्तरता दिन तीन तहको सरकार र व्यवसायीहरू पनि भौतिक, आर्थिक रूपमा सहयोगको पनि उत्तिकै महत्वपूर्ण रहन्छ ।
‘स्थानीयको अपनत्व नै निरन्तरताको मुख्य आधार हो’
गणेशबहादुर विष्ट, स्थानीय (कोहलपुर)
सर्वप्रथम हाम्रो स्थानीयस्तरमा राष्ट्रियस्तरको कोहलपुर गोल्डकप सञ्चालन हुनु हाम्रा लागि खुसीको कुरा हो । खेलकुदका माध्यमबाट कोहलपुरलाई चिनाउन यसले महत्वपूर्ण भूमिका खेलेको छ । गोल्डकपलाई निरन्तरता दिन सबैभन्दा ठूलो भूमिका स्थानीय तहकै हुन्छ ।स्थानीय युवा, क्लब, व्यवसायी र सर्वसाधारण सबैले यसलाई आफ्नो गौरवको रूपमा लिनुपर्छ । मैदानमा दर्शकको सहभागिता बढाउनु, खेलको प्रचार–प्रसार गर्नु र बाहिरबाट आउने टोली तथा दर्शकलाई स्वागत गर्ने वातावरण बनाउनु आवश्यक हुन्छ । प्रतियोगिता सञ्चालन गर्न मुख्य गरेर आर्थिक पाटो बलियो हुनुपर्ने भएकाले त्यसका लागि स्थानीय उद्योगी र व्यवसायीसँग कम्तीमा पाँच वर्षको सम्झौता गरेर अघि बढ्न सकिन्छ । स्थानीय सरकार, खेलकुद संस्था र समुदायबीच सहकार्य बलियो भए गोल्डकपलाई हरेक वर्ष नियमित रूपमा आयोजना गर्न सहज हुन्छ । स्थानीयको अपनत्व र सक्रियता नै यसको निरन्तरताको मुख्य आधार हो ।
‘आम नागरिकहरूको साथको आवश्यक छ’
मोहन ओली, खेल प्रशिक्षक (कोहलपुर)
कोहलपुर गोल्डकप चौथो संस्करणसम्म आइपुग्दा आफ्नो पहिचान बनाइ सकेको छ । यसले खेलकुदबाट कोहलपुरलाई चिनाउने र खेलाडीहरूलाई अवसर प्रदान गर्ने काम गरिरहेको छ । खेलकुद प्रशिक्षकका रूपमा भन्नुपर्दा गोल्डकपले खेलाडीहरू उत्पादन र नयाँ खेलाडीहरूलाई उत्प्रेरणा जगाउने आशा गरेको छु । यसलाई निरन्तरता दिन कोहलपुरका सबै आम नागरिकहरूको साथ र सहयोगको आवश्यक छ । अर्काेतर्फ गोल्डकपलाई निरन्तरता दिन सबैभन्दा पहिले हामीले खेलाडी उत्पादन र खेलको स्तर सुधारमा ध्यान दिनुपर्छ । स्थानीयस्तरमै नियमित प्रशिक्षण कार्यक्रम चलाउने, विद्यालय र क्लबसँग समन्वय गरेर प्रतिभा पहिचान गर्ने काम गर्नुपर्छ । प्रतियोगितालाई व्यवस्थित र व्यावसायिक बनाउन प्रशिक्षकहरूले खेलाडी अनुशासन, फिटनेस र खेल रणनीतिमा निरन्तर काम गर्नुपर्छ । राम्रो खेलाडी तयार भए दर्शकको आकर्षण बढ्छ र प्रतियोगिताको महत्व पनि बढ्दै जान्छ । कोहलपुर गोल्डकप केवल प्रतियोगिता होइन, एक स्थापित फुटबल परम्परा बन्न सक्छ । यसमा मलगायत आम नागरिकको सहयोगको अपरिहार्य छ ।
‘निजी क्षेत्रसँग पनि सहकार्य हुनुपर्छ’
सुशान्त बुढा, विद्यार्थी (कोहलपुर)
हामी अहिले ग्रासरुटबाट फुटबल सिकिरहेका छौँ । मेरो रुचि पनि फुटबल हो । कोहलपुरमा विगतदेखि सञ्चालन हुँदै आएको कोहलपुर गोल्डकप कोहलपुरको पहिचान र गौरवको रूपमा रहेको छ । हामी फुटबल मन पराउने र खेल्नेहरूका लागि त्यहाँ आएका खेलाडीहरू खेल हेरेर धेरै कुराहरू सिक्न मद्दत पुग्छ । यसलाई निरन्तरता दिन स्थानीय सरकार मात्र नभई निजी क्षेत्रहरूको पनि उत्तिकै महत्वपूर्ण सहयोग र सहकार्य हुन जरुरी छ । राम्रो खेल सिकेर कोहलपुर गोल्डकप खेल्ने मेरो पनि सपना छ । विद्यार्थी अर्थात् र मैले हाम्रो उद्देश्य भनेको राम्रो फुटबल खेलेर कोहलपुर गोल्डकप खेल्ने सपना हो । स्थानीय युवा र विद्यालयस्तरका खेलाडीलाई अवसर दिए गोल्डकपप्रति उनीहरूको सम्बन्ध बलियो हुन्छ र भविष्यमा यही प्रतियोगिताका मुख्य खेलाडी तथा समर्थक बन्छन् । सामाजिक सञ्जाल, स्थानीय मिडिया र समुदायस्तरको प्रचारले दर्शक सङ्ख्या बढ्छ । जसले प्रायोजक र आयोजक दुवैलाई उत्साहित बनाउन सकिन्छ ।
‘आवश्यक परे हामी सहयोग गर्न तयार छौँ’
दिनेश अर्याल, व्यवसायी (कोहलपुर)
कोहलपुर गोल्डकप कोहलपुरको गौरव हो । हामी व्यवसायीहरू पनि खुसी छौँ । यसलाई निरन्तरता दिन व्यवसायीहरूको सहयोग आवश्यक परे हामी सहयोग गर्न तयार छौँ । खेलकुदको माध्यमबाट कोहलपुरलाई चिनाउन व्यवसायीहरूसँग सहकार्य गरेर अघि बढ्न सकिन्छ । जसले प्रतियोगिताको व्यवस्थापन, पुरस्कार, खेल सामग्री र प्रचार–प्रसारलाई सहज बनाउँछ । यससँगै स्थानीय व्यवसायीहरूले यसलाई सामाजिक उत्तरदायित्वको रूपमा लिएर दीर्घकालीन सहकार्य गर्नुपर्छ । हरेक वर्ष नियमित सहयोग गर्ने वातावरण बनेमा गोल्डकप अझ व्यवस्थित र स्तरिय बन्दै जान्छ । त्यसैगरी होटल, रेस्टुरेन्ट, यातायात तथा अन्य सेवा क्षेत्रका व्यवसायीहरूले बाहिरबाट आउने खेलाडी र दर्शकलाई सहुलियत तथा सुविधा उपलब्ध गराउन सक्छन् । यसले प्रतियोगिता मात्र होइन, स्थानीय व्यापार पनि चलायमान हुन्छ । सबै व्यवसायी एकजुट भएर ‘यो कोहलपुरको पहिचान हो’ भन्ने भावना राखेर साथ दिए गोल्डकपलाई वर्षौँसम्म निरन्तरता दिन सकिन्छ ।
‘दीर्घकालीन खेल परियोजनाका रूपमा अघि बढाउनुपर्छ’
अनमोल विश्वकर्मा, विद्यार्थी (कोहलपुर)
हामी जस्तो उठ्दै गरेका खेलाडीहरूका लागि कोहलपुर गोल्डकपले थप ऊर्जा प्रदान गर्दछ । स्वदेशी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरू गोल्डकपमा आउँदा धेरै कुराहरू सिक्न पाइन्छ । तर, यस गोल्डकपलाई निरन्तरता दिन सबैको उत्तिकै भूमिका रहन्छ । स्थानीयदेखि तीन तहको सरकारले अन्य ठाउँमा भन्दा खेलमा लगानी गर्नुपर्छ । क्लबहरू मात्र नभई स्थानीय तहले पनि खेलहरू आयोजना गरे खेलाडीहरूले आफ्नो प्रतिभा देखाउन र प्रस्फुटन गर्न पाउँछन् । प्रतियोगितालाई केवल एक वर्षको कार्यक्रम नभई दीर्घकालीन खेल परियोजनाका रूपमा अघि बढाउनुपर्छ । हरेक वर्ष निश्चित मिति, स्पष्ट कार्यतालिका र व्यवस्थित आयोजक समिति भए गोल्डकपप्रति विश्वास बढ्छ । स्थानीय सरकार, व्यवसायी, विद्यालय, क्लब, खेलप्रेमी समुदायको सहकार्यमा केवल आयोजकको प्रयासले मात्र होइन, सबै पक्षको साझा अपनत्वले प्रतियोगिता टिकाउ बन्छ । ग्रासरुटदेखि खेलाडी उत्पादनमा ध्यान दिनुपर्छ । सबैको साथ, सहयोग र अपनत्व भए कोहलपुर गोल्डकपले हरेक वर्ष निरन्तरता पाउने मात्र होइन, अझ ठूलो पहिचान बन्न सक्छ ।
‘तीन तहकै सरकारको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ’
संगीन शर्मा, पत्रकार (कोहलपुर)
कोहलपुर गोल्डकप आफैँमा कोहलपुरको ब्राण्डका रूपमा स्थापित भइरहेको छ । यसलाई निरन्तरता दिनुपर्छ भन्नेमा कुनै शंका छैन् । खेलकुदलाई चलायमान गराउन स्थानीय सरकारले मात्रै चाहेर सम्भव हुँदैन् । यसलाई निरन्तरता दिन तीन तहको सरकारको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । पछिल्लो समय नेपाली फुटबल क्षेत्र आफैँमा धराशायी बन्दै गइरहेका कोहलपुर गोल्डकपले केही सकारात्मक सन्देश दिइरहेको छ । स्थानीय तहमा हुने गोल्डकपले तल्लो तहबाट खेलाडीहरू उत्पादन गर्ने र अन्तर्राष्ट्रियस्तरसम्म आफ्नो प्रतिभा देखाउने माध्यम बन्नु सकारात्मक कुरा हो । यसलाई निरान्तरता दिन स्थानीय सरकार, व्यवसायी र स्थानीयको सहयोगको महत्वपूर्ण भूमिका रहन्छ । पछिल्लो समय कोहलपुर खेलकुदको हबका रूपमा विकास भइरहेको छ । त्यसको प्रमुख कारण एक कोहलपुर गोल्डकप पनि हो । कोहलपुरलाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ । यसको निरन्तरताका लागि कोहलपुरका स्थानीय, स्थानीय सरकार, व्यवसायी र खेलप्रेमीको महत्वपूर्ण भूमिका रहन्छ । त्यमा हाम्रो साथ र सपोर्ट सधैँ रहँदै आएको छ ।
‘स्थानीयस्तरमै फुटबलको आधार मजबुत बनाउनुपर्छ’
महेश ओली, खेल प्रशिक्षक (कोहलपुर)
खेल प्रशिक्षकको दृष्टिकोणबाट भन्नुपर्दा कोहलपुर गोल्डकपलाई निरन्तरता दिन सबैभन्दा महत्वपूर्ण कुरा भनेको स्थानीयस्तरमै फुटबलको आधार मजबुत बनाउनु हो । प्रतियोगिता मात्रै गरिरहने होइन, त्यसका लागि चाहिने खेलाडी, प्रशिक्षण, संरचना र वातावरण पनि सँगसँगै विकास गरिनुपर्छ । हामी प्रशिक्षकहरूले विद्यालय, क्लब र स्थानीय टिमहरूसँग मिलेर नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुका साथै त्यसका लागि वर्षभरि नै अभ्यास र तयारी हुनुपर्छ । प्रतिभावान खेलाडीहरू पहिचान गरेर उनीहरूलाई उचित प्रशिक्षण दिन सकियो भने प्रतियोगिताको स्तर स्वतः बढ्छ । राम्रो खेलाडी उत्पादन नभएसम्म प्रतियोगिता बलियो हुँदैन । त्यसैले प्रशिक्षकहरूले खेलाडीलाई शारीरिक फिटनेस, मानसिक तयारी र रणनीतिक ज्ञानमा निरन्तर सुधार गर्नुपर्छ । कोहलपुर गोल्डकपलाई निरन्तरता दिन स्थानीय सरकार, खेलकुद समिति, क्लब र व्यवसायीबीच सहकार्य आवश्यक हुन्छ । बजेट, मैदानको स्तर सुधार, खेल सामग्री र व्यवस्थापन सबै मिलेर अघि बढ्नुपर्छ ।
‘गोल्डकपलाई निरन्तरता दिन सबै पक्षको सहयोग आवश्यक’
सिर्जना थारू, स्थानीय (कोहलपुर)
कोहलपुर गोल्डकपलाई निरन्तरता दिन सबै पक्षको सक्रिय सहयोग आवश्यक हुन्छ । प्रतियोगितालाई दीर्घकालसम्म सफल बनाउन स्थानीय सरकार, व्यवसायी, खेलप्रेमी तथा विभिन्न संघसंस्थाले आर्थिक र नैतिक सहयोग गर्नुपर्छ । पर्याप्त बजेट र राम्रो व्यवस्थापन भए कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुन्छ । आयोजकले आम्दानी र खर्च पारदर्शी रूपमा सार्वजनिक गर्दा विश्वास बढ्छ र प्रायोजकहरू पनि आकर्षित हुन्छन् । युवाहरूलाई स्वयंसेवक तथा आयोजकका रूपमा सहभागी गराउँदा उनीहरूमा जिम्मेवारी र अपनत्वको भावना विकास हुन्छ । सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन तथा अनलाइन माध्यमबाट प्रभावकारी प्रचारप्रसार गर्नुपर्छ ता कि दर्शकको सहभागिता बढोस् । स्थानीय खेलाडी र क्लबलाई अवसर दिँदा क्षेत्रीय फुटबलको विकासमा ठूलो टेवा पुग्छ । खेलमैदान, बस्ने व्यवस्था, सुरक्षा तथा अन्य पूर्वाधार सुधार गर्न पनि ध्यान दिनुपर्छ । साथै, प्रत्येक वर्ष निश्चित समयमा प्रतियोगिता आयोजना गर्ने परम्परा बसाल्न सके कोहलपुर गोल्डकप अझ लोकप्रिय, व्यवस्थित र सफल बन्न सक्छ ।
‘सबैको सहकार्य अत्यन्त आवश्यक हुन्छ’
सञ्जय मण्डल, स्थानीय (कोहलपुर)
कोहलपुरको खेल इतिहाससँग जोडिएको एउटा गौरवपूर्ण पहिचान कोहलपुर गोल्डकप हो । यो केवल फुटबल प्रतियोगिता मात्र होइन, यहाँका युवाको सपना, खेलप्रेमीको उत्साह र समग्र नगरको गौरवसँग जोडिएको एउटा ठूलो पर्वजस्तै हो । हरेक पटक गोल्डकप आयोजना हुँदा कोहलपुरमा छुट्टै रौनक देखिन्छ, दर्शकको उत्साह बढ्छ, युवामा ऊर्जा थपिन्छ र खेलकुदप्रतिको आकर्षण अझ बढेको पाइन्छ । विशेषगरी स्थानीयस्तरका प्रतिभाशाली खेलाडीलाई आफ्नो क्षमता देखाउने यो निकै ठूलो मञ्च बनेको छ । धेरै युवाले यस्ता प्रतियोगिताबाट प्रेरणा लिएर खेल क्षेत्रमा अगाडि बढ्ने अवसर पाएका छन् । यसलाई निरन्तरता दिन स्थानीय सरकार, व्यवसायी, खेलप्रेमी र सामाजिक संघसंस्थाको संयुक्त सहकार्य अत्यन्त आवश्यक हुन्छ । केवल आयोजकको प्रयासले मात्र यस्ता ठूला प्रतियोगिता दीर्घकालीन रूपमा सञ्चालन गर्न गाह्रो हुन्छ । आर्थिक स्रोत सुनिश्चित गर्न प्रायोजक, नगरपालिकाको बजेट र निजी क्षेत्रको सहभागिता बढाउन सके निरन्तर सञ्चालन गर्न सकिन्छ ।
‘स्थानीयहरूको साथ र सहयोगको आवश्यक पर्छ’
दुर्गाप्रसाद श्रेष्ठ, व्यवसायी (कोहलपुर)
कोहलपुर गोल्डकपलाई निरुन्तरता दिन सर्वप्रथम हामी सम्पूर्ण कोहलुरमा बसोबास गर्ने स्थानीयहरूको साथ र सहयोगको आवश्यक पर्छ । यो कोहलपुरको गौरव पनि बनिसकेको छ । किनभने कोहलपुर गोल्डकप केवल एउटा फुटबल प्रतियोगिता मात्र होइन, यो हाम्रो सहरको पहिचान, युवाको उत्साह र सामाजिक एकताको प्रतीक बनेको छ । त्यसैले व्यवसायीहरूले सकेको आर्थिक प्रायोजन, प्रचार–प्रसार र व्यवस्थापनमा सहकार्य गर्दै अघि बढ्नु पर्छ । गोल्डकपमा दर्शकको भीड बढ्दा होटल, पसल, रेस्टुरेन्ट, यातायात सबै क्षेत्र चलायमान हुन्छन् । कोहलपुरका खेलाडी र खेलप्रेमीहरूले स्तरीय खेल हेर्न पाउँछन् । प्रतियोगितालाई वर्षैपिच्छे निरन्तरता दिन व्यवसायीहरूले मुख्य प्रायोजक वा सहप्रायोजकको रूपमा साथ दिए प्रतियोगिताले निरन्तरता नपाउनेमा कुनै शंका छैन् । जब निजी क्षेत्र, स्थानीय सरकार र समुदाय एकसाथ उभिन्छन्, तब मात्र कोहलपुर गोल्डकपलाई दीर्घकालीन रूपमा सफल र निरन्तर बनाउन सकिन्छ ।
‘गोल्डकपले दर्शकको मन जितिसकेको छ’
विनायक गिरी, स्थानीय (कोहलपुर)
कोहलपुर गोल्डकप कोहलपुरको पहिचानका रूपमा रहेको छ । खेलकुदको माध्यमबाट नै कोहलपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन यस प्रतियोगिताले ठूलो मद्दत गर्दछ । तसर्थः खेल क्षेत्रको विकाससँगै यसले कोहलपुरलाई आर्थिक रूपमा पनि चलायमान बनाउँछ । चौथो संस्करणसम्म आइपुग्दा कोहलपुर गोल्डकपले आफ्नो पहिचान बनाएर दर्शकको मन जितिसकेको छ । अब यसलाई निरन्तरता दिन कोहलपुर नगरपालिका, स्थानीय र व्यवसायीहरूको साथ र सहयोगको आवश्यक पर्दछ । विदेशी खेलाडी र राष्ट्रिय खेलाडीहरू सहभागी हुँदा गोल्डकपको उचाइ थप बढ्छ । त्यसका लागि आयोजकले दिगो लक्ष्य लिएर लाग्नुपर्छ । स्थानीय व्यवसायी, स्थानीय सरकार र स्थानीयसँग सहकार्य गर्दै अघि बढ्नुपर्छ । एक वर्षका लागि नभई पञ्चवर्षीय योजना बनाएर प्रायोजक र सहयोगी संस्थाहरूसँग सहकार्य गर्न सके निरन्तरता दिन सकिन्छ । विगतका वर्षहरूभन्दा यस वर्ष भव्य र सभ्य हुने अपेक्षा रहेकाले सबैले आफूले सक्ने सहयोग गर्न जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्