सन् १९८६ मा पहिलो अन्तर्राष्ट्रिय डेब्यु खेल खेलेको नेपाली राष्ट्रिय महिला टिमले सन् २०२५ को जुन २९ सम्म आइपुग्दा २६ राष्ट्रसँग प्रतिस्पर्धा गरेको छ । लाओसविरुद्ध १००औँ खेलसम्म आइपुग्दा नेपालले ४७ खेलमा जित १६ खेलमा बराबरी र ३७ खेलमा हार व्यहोरेको छ । अहिलेसम्म नेपालले १ सय ७७ गोल गरेको छ । त्यसको दोब्बर २ सय २५ गोल खाएको छ ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
सन् १९८० मा पहिलोपटक बनेको हो, नेपाली महिला राष्ट्रिय फुटबल टिम । पहिलोपटक टिम निर्माण गरेको ६ वर्षपछि महिला टोलीले अन्तर्राष्ट्रिय डेब्यु खेल खेल्यो, सन् १९८६ को १४ डिसेम्बरमा । नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय डेब्यु खेलेको प्रतियोगिता एएफसी महिला च्याम्पियनसिप हो । पहिलोपटक प्रतिस्पर्धा गरेको टिम हङकङ हो ।
सो खेलमा नेपाल १–० खेल अन्तरले पराजित भएको थियो । आइतबार एएफसी महिला एसियाली कप छनोटअन्तर्गत लाओसविरुद्ध खेल्दै नेपाली टोलीले किर्तिमानी सयौँ खेलको कोशेढुंगा पार गरेको छ । अन्तर्राष्ट्रिय महिला फुटबलमा डेब्यु गरेको ४० वर्षपछि नेपालले किर्तिमानी सयौँ खेल खेलेको हो । नेपाल र हङकङले अहिलेसम्म तीन खेल खेलेका छन् । बाँकी २ खेलमा नेपालले हार व्यहोरेको छ । सन् १९८६ मै नेपालले इन्डोनेसियासँग पनि खेलेको थियो ।
यी दुई देशले अहिलेसम्म ३ पटक खेलेका छन् । जसमा नेपालले १ पटक जित हासिल गरेको छ भने २ पटक हार व्यहोरेको छ । सोही वर्ष पहिलोपटक नेपाली महिला टोलीले थाइल्याण्डसँगसमेत खेलेको थियो । नेपाल र थाइल्याण्डले हालसम्म चारपटक खेलेका छन् । यी चार वटै खेलमा नेपाली टोलीले पराजय भोगेको छ । पहिलो वर्ष नै तीन देशसँग अन्तर्राष्ट्रिय खेल खेलेको नेपालले त्यसपछि सन् २०१० मा सबैभन्दा धेरै देशसँग खेल खेलेको छ ।
उक्त वर्ष नेपालले अफगानिस्तान, बंगलादेश, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकासँग सामना गरेको थियो । अहिलेसम्म नेपालले सबैभन्दा धेरै खेल खेलेको देश भारत हो । अहिलेसम्मकै सबैभन्दा धेरै १८ पटक नेपाल र भारत आमनेसामने भएका छन् । यो नतिजा हेर्दा भारत नेपालमाथि हाबी देखिन्छ । नेपालले अहिलेसम्म भारतविरुद्ध जम्मा २ जित दर्ता गरेको छ । ११ खेल हार्दा २ खेल बराबरीमा सकिएका छन् । नेपाल र भारतले पहिलोपटक सन् २०१० मा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।
भारतपछि नेपाली महिला टिमले सबैभन्दा धेरै बंगलादेशसँग प्रतिस्पर्धा गरेको छ । दुई देशले हालसम्म १३ पटक एकअर्काविरुद्ध मैदान उत्रिएका छन् । बंगलादेशविरुद्ध नेपाली टोलीले ६ पटक जितेको छ । ५ पटक बराबरी खेल्दा २ पटक हार व्यहोरेको छ । भारत र बंगलादेशपछि नेपालीले धेरै खेल खेलेको देश श्रीलंका हो । नेपालले अहिलेसम्म खेलेको ८ वटै खेल जितेको छ । यस्तै, माल्दिभ्स र म्यानमारसँग ६ पटक खेलेको छ । नेपालले माल्दिभ्सविरुद्ध शतप्रतिशत जित हासिल गरेको छ ।
म्यानमारविरुद्ध भने नेपालले सन् २०१८ मा पहिलो खेल खेलेको थियो । नेपालले म्यानमारसँग अहिलेसम्म कुनैपनि खेल जित्न सकेको छैन । चार खेलमा हार व्यहोरेको नेपाली टोलीले दुई खेल बराबरी खेलेको छ । पछिल्लोपटक सन् २०२४ मा सिरिया, लेबनान र प्यालेस्टाइनसँग पहिलोपटक खेलेको छ । सन् २०२३ मा भियतनामसँग, सन् २०१९ मा ताजकिस्तानसँग, सन् २०१६ मा मलेसिया र सन् २०१३ मा कतारसँग खेलेको थियो ।
साम्बाको ह्याट्रिकमा ऐतिहासिक जित
नेपाली महिला राष्ट्रिय टिमले आइतबार उज्बेकिस्तानमा लाओसविरुद्ध सयौँ खेलमा सानदार जित हासिल गरेको छ । सावित्रा भण्डारी ‐साम्बा)को पाँच गोल प्रेरित नेपालले लाओसविरुद्ध सानदार जित हासिल गरेको हो । सयौँ खेलमा नेपालले प्रभावशाली जित हासिल ग¥यो । नेपालसँग लाओसविरुद्ध नेपाल ९–० गोलको फराकिलो जित हासिल गर्न सफल भयो ।
अन्तर्राष्ट्रिय डेब्यु कप्तानीमा नेपालकी प्रभावशाली फरवार्ड सावित्रा भण्डारी ‐साम्बा) एक्लैले पाँच गोल गरिन् । पहिलो हाफको ४५औँ, ५५औँ, ७५औँ, ७६औँ र ८९औँ मिनेटमा साम्बाले गोल गरिन् । साम्बा नेपालकी किर्तिमानी गोलकर्ता हुन् । साम्बाले हालसम्म व्यक्तिगत ६३ गोल गरेकी छन् । यो कोशेढुंगा पार गर्ने साम्बा एक्लो नेपाली खेलाडी हुन् । उनले पहिलोपटक नेपाली टिमको कप्तानीसमेत गरेकी थिइन् ।
उनी नेपालको ११औँ कप्तान हुन् । यसअघि नेपालको कम्पनी गर्दै आएकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको स्थानमा साम्बा कप्तान बनेकी हुन् । नेपाललाई जिताउन खेलको ११औँ मिनेटमा अनिता बस्नेतले पहिलो गोल गरेकी थिइन् । खेलको ४७औँ मिनेटमा सरु लिम्बु, ५६औँ मिनेटमा रश्मीकुमारी घिसिङ र अनिता केसीले पनि महत्वपूर्ण गोल गरे । मिडफिल्डर सरस्वती हमालले यसै खेलमार्फत सिनियर टिममा डेब्यु गरेकी छन् ।









प्रतिक्रिया दिनुहोस्