नेपालगन्ज ।
बाँके राप्ति सोनारीका गायक शिव जिएमको कौडा गीत ‘मायामा भुल’को म्युजिक भिडिओ सार्वजनिक गरिएको छ । शनिबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी बाँकेका संगीतकर्मी, कलाकर्मीका बीच भिडिओ सार्वजनिक गरिएको हो । करिब ढाई लाख लगानीमा निर्माण गरिएको यो म्युजिक भिडिओ गायक शिव जिएमको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
१२ मिनेटको उक्त म्युजिक भिडिओको सबै छायांकन बाँकेको खजुरा १ सैनिकमा गरिएको छ । नेपाली मौलिक पहिचान बोकेको कौडा गीतको भिडिओ मौलिकता र आधुनिकताको फ्युजन रहेको गायक जिएमले बताए । ‘टिपिकल कौडामा धेरै बाजाको प्रयोग गरिएको हुन्छ । यसमा कम बाजाको प्रयोग भएको छ,’ गायक जिएमले भने । आफूले आधुनिक गीत गाउने भएका कारण पनि गीतमा थोरै फ्युजन गरिएको उनले बताए ।
वरिष्ठ कलाकार सुन्दर गुरुङले नेपाली मौलिक कौडामा थोरै फ्युजन गरिएको भएपनि भिडिओ हेर्दा पट्यारलाग्दो नभएको प्रतिक्रिया दिए । यस्तै कलाकार केबी शाहीले काठमाडौँमा बसेर नेपाली संगीत क्षेत्रमा पहिचान बनाएकी गायिका मेलिना राईकै स्तरमा बाँकेका गायक जिएमले गीत गाउन सकेको भन्दै प्रशंसा गरे ।
म्युजिक भिडिओमा नृत्य, ताल, सिनेमाटोग्राफीमा केही कमीकमजोरीहरू देखिएपनि गीत र भिडिओ राम्रो बनेको चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पौडेलले बाँकेबाट यो गुणस्तरको म्युजिक भिडिओ उत्पादन हुनु गौरवको विषय भएको बताए । यस क्षेत्रका कलाकारहरूले यहाँका ठाउँ, नेपाली मौलिक पहिचान बोकेको गीतहरू उत्पादन गरिरहेकाले उनीहरूलाई प्रोत्साहन गर्नुपर्ने समेत वक्ताहरूले वताए ।
कार्यक्रममा दुई दर्जनबढी कलाकार, संगीतकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । गीतमा गायक जिएमसँगै गायिका मेलिना राईको स्वर रहेको छ । गायक जिएमले यसअघि थारू भाषा र नेपाली भाषामा गीत गाइसकेका छन् ।
यस्तै बाँके जिल्लामा बसेर नृत्य निर्देशनमा सक्रिय नवराज सुवेदीले ‘मायामा भुल’ नेपाली कौडा गीतमार्फत अभिनयमा डेब्यु गरेका छन् । यसअघि दर्जनौँ म्युजिक भिडिओको निर्देशन गरिसकेका सुवेदीले यो गीतको निर्देशनसँगै पहिलोपटक अभिनय गरेका हुन् ।
गीतमा निर्देशक सुवेदी, गायक जिएम, नृत्याङ्गना दुर्गा राना र एलिसा बोहराको नृत्य रहेको छ । एलिसा दाङ निवासी हुन् भने अरु बाँकेका कलाकार रहेका छन् । नृत्याङ्गनाका अभिभावकहरूले अहिले डिजिटल प्लेटफर्मले कलाकारलाई देश विदेशमा चिन्ने मौका दिएकाले छोरीहरूलाई कला क्षेत्रमा लाग्नका लागि परिवारले पूर्णसहयोग गरिरहेको बताए ।









प्रतिक्रिया दिनुहोस्